प्रचण्ड व्यवहारबाट दुःखी प्रधानमन्त्रीको प्रश्न- ‘के राजीनामा नै दिनुपर्ने हो ?’

प्रचण्ड व्यवहारबाट दुःखी प्रधानमन्त्रीको प्रश्न- ‘के राजीनामा नै दिनुपर्ने हो ?’


नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको चित्त नराम्रोसँग दुःखाइदिएपछि ओलीले ‘मैले राजीनामा नै दिनुपर्ने अवस्था आएको हो त’ भनी निकटवर्तीहरूसँग प्रश्न राख्न थालेको जानकारी प्राप्त भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन केपी ओली नयाँदिल्ली प्रस्थान गरेलगत्तै प्रचण्डले ओलीसँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको व्यहोरा सार्वजनिक गरेका थिए । सरकारको कार्यशैली र कार्यपरिणामप्रति असन्तुष्टि जाहेर गर्दै प्रचण्डले ओलीको कार्यकाल छोटिएको र आफू प्रधानमन्त्री बन्ने समय नजिकिएको सङ्केत गरेका थिए ।

प्रचण्डका यस्ता अभिव्यक्तिबारे नयाँदिल्लीमा रहँदै थाहा पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किएलगत्तै बालुवाटारस्थित आफ्नो निवासमा निकटस्थलहरूसमक्ष यस विषयलाई लिएर दुःखेसो प्रकट गरेका थिए । आन्तरिक बैठक र द्विपक्षीय कुराकानीका क्रममा समेत ओलीले प्रचण्डको अभिव्यक्ति र व्यवहारबारे गुनासो गर्ने गरेको बताइन्छ । प्रधानमन्त्री ओलीले प्रचण्डसँग समेत असन्तुष्टि जाहेर गर्दै ‘के अब मैले पदबाट राजीनामा नै दिनुपर्ने भएको हो त’ भनी प्रश्न गरेको बुझिएको छ ।

बालुवाटारसम्बद्ध सूत्रले जनाएअनुसार केपीको जिज्ञाशा छ, ‘प्रचण्ड मलाई धम्क्याउन खोज्दै छन् कि चेतावनी दिँदै छन् ? जे भए पनि यो ठीक भएन ।’ उक्त सूत्रका अनुसार प्रचण्डकै अभिव्यक्तिका कारण केपी ओलीलाई भारतमा पनि राम्रो ‘रेस्पन्स’ भएन । उनले भारतमा आफू उपेक्षित भएको महसुस यसपटक गरेका छन् । यसपटकको नयाँदिल्ली भ्रमणका क्रममा त्यहाँ गरिएको समग्र व्यवहारलाई लिएर प्रधानमन्त्री चिन्तित बनेको महसुस बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमा रहनेहरूले गरेका छन् ।

वास्तवमा प्रचण्डले केपीलाई अप्ठ्यारो पार्ने कुनै अभिव्यक्ति नदिएका भए पनि नयाँदिल्लीमा ओलीले न्यानोपन महसुस गर्ने स्थिति थिएन । बिमस्टेक सम्मेलनको आसपासमा बनेको सहमतिअनुरूप भारतमा आयोजना गरिएको बिमस्टेक मुलुकहरूको संयुक्त सैन्य अभ्यासमा नजाने भनी अन्तिम क्षणमा आएर नेपाल सरकारले निर्णय गर्नुलाई नयाँदिल्लीले धोखाको रूपमा बुझेको छ । त्यस्तै पुलवामा आतङ्की हमला र पाकिस्तानसँग तनाव बढेका बेला नेपाल सरकारको व्यवहारबाट पनि नयाँदिल्ली दुःखी बनेको बताइन्छ ।

त्यसैले केपी ओलीले दिल्लीमा न्यानोपन महसुस नगर्ने निश्चितप्रायः थियो । प्रचण्डको अभिव्यक्ति र व्यवहारले दिल्लीलाई थप चिसो बनाउन सहयोग गरेको मात्र ठान्न सकिन्छ । तर, प्रधानमन्त्री ओलीलाई भने प्रचण्डकै कारण दिल्लीले आफूलाई दिने ‘रेस्पन्स’मा कञ्जुस्याइँ गरेको ठानेका छन् । केपीले प्रचण्डलाई ‘के राजीनामा नै दिनुपर्ने हो त ?’ भन्दै दुःखेसो पोखेपछि प्रचण्डले केपीको सरकार पूरा अवधिका निम्ति भएको भन्ने सन्देश सार्वजनिक गरिदिएका छन् ।

सत्तारुढ नेकपाभित्र पछिल्लो समय सरकारविरुद्ध एकप्रकारको मोर्चाबन्दी भएको छ । प्रधानमन्त्रीको कार्यशैली ठीक नरहेको अधिकांश नेताहरूले महसुस गरेका छन् र, उनीहरूमा केपीलाई जतिसक्दो चाँडो पदमुक्त गराउने इच्छा जागृत भएको महसुस गर्न थालिएको छ ।