सिक्किमको राज, गोलेलाई ताज !

भण्डारी भन्थे– 'स्याल बहुलाए फ्याउरो बन्छ, मान्छे बहुलाए कम्युनिस्ट'





सिक्किम : हिजो र आज

■ भरत कोइराला

सिक्किम, स्वतन्त्र राष्ट्रबाट भारतको २२औँ राज्य हुन पुगेपछि अहिले त्यहाँको मुख्यमन्त्री पदमा प्रेमसिंह तामाङ (पीएस गोले) छैटौँ मुख्यमन्त्री हुन पुगेका छन् । त्यहाँ लगातार २५ वर्ष पवन चाम्लिङ र त्यसअघि १५ वर्ष नरबहादुर भण्डारीले एकछत्र शासन चलाएका थिए । भण्डारीको शासनकालमा चाम्लिङलाई ‘सेकेन्ड भण्डारी’का हिसाबले हेरिन्थ्यो । राजनीतिक प्रतिद्वन्द्वीभन्दा पनि बौद्धिकताको दृष्टिकोणले त्यसो भनिएको थियो । दुवै नेपाली भाषा साहित्यका लागि निपुण र अग्रणी मानिन्थे । भण्डारी सरकारमा सञ्चारमन्त्रीमा बहाल रहेकै बेला निष्कासनमा परेका (अलग भएका) चाम्लिङले जसरी भण्डारीविरुद्ध सङ्घर्ष गर्दै लगातारको १५ वर्षे शासन ढालेर सिक्किमको सत्ता कब्जामा लिन सफल भएका थिए, त्यसरी नै चाम्लिङका कार्यकर्ता बनी विधायक÷मन्त्रीसमेत हुन पुगेका नवनियुक्त मुख्यमन्त्री पीएस गोलेले पनि सङ्घर्ष गरेर अहिले शासनसत्ता आफ्नो हातमा लिन सफल भएका हुन् ।

सन् १९९३ मा भण्डारी सरकारबाट अलग भई चाम्लिङले सिक्किम डेमोक्रेटिक फ्रन्ट नामक पार्टी खोल्दा शिक्षण पेसामा रहँदै उक्त पार्टीमा संलग्न भएको कारण भण्डारी सरकारबाट निष्कासनमा परेका गोले १९९४ को निर्वाचनमा विधान सभा सदस्य हुन पुगे । त्यही अवधिमा उनी पशुपालन, धर्म र उद्योगमन्त्री भएका थिए । चाम्लिङ सरकारमा तीनपटक मन्त्री हुन पुगेका गोले उनीसँगै विद्रोह गरी अलग्गिएका थिए ।

सन् २०१३ मा आफ्नै सिक्किम क्रान्तिकारी मोर्चा नामक पार्टी खोलेर २०१४ को विधा नसभा चुनावमा भाग लिएका गोलेले ३२ मध्ये १० सिट जितेका थिए । तर, रातारात पाँचजनालाई चाम्लिङले प्रलोभनमा पारेर आफूतर्फ तानेपछि कमजोर प्रतिपक्ष बनेका गोले यसपटक भने आफूबाहेक ३२ मध्ये १७ सिटमा कब्जा जमाउन सफल भए । त्यसअघि गोलेलाई छोडेर सत्ताको पछाडि मिसिन पुगेका पाँचजना विधायकलाई यसपटक चाम्लिङले उम्मेदवार बनाए पनि जनताले सबैलाई नराम्ररी हराइदिए ।

यता गोलेको राजनीतिले दह्रो पकड जमाउँदै गरेको आभास पाएर चाम्लिङले गोले मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लगाई २०१६ मा जेल पठाएका थिए । सम्भवतः कानुनी प्रक्रिया पूरा नभएकोले नै होला, गोले यसपटकको चुनावमा उम्मेदवार भएनन् । तर, उनले आफ्ना छोरा आदित्य गोलेलाई उठाएर विजयी बनाए । भारतीय संविधानमा पनि ६ महिनाभित्रमा चुनाव जितेर आएमा मन्त्री पद सुरक्षित रहने प्रावधानअन्तर्गत उनी मुख्यमन्त्री हुन पुगेका हुन् । तर, भ्रष्टाचारको आरोपको पूर्ण सफाइ नपाएको व्यक्तिलाई मुख्यमन्त्री बनाएको भनी चाम्लिङ पक्षधरले मुख्यमन्त्री शपथग्रहण कार्यक्रम बहिष्कार गरे । तथापि, गान्तोकको एक मात्र खेलकुद पाल्जर स्टेडियममा उपस्थित हजारौँ जनताका बीच गोलेले गर्वका साथ नेपाली भाषामा शपथ लिएका थिए ।

राज्यपालको कार्यालयको सट्टा सबै जनताका सामु शपथ लिएका गोलेले आफ्नो पार्टीबाट विजय भएका १७ मध्ये ११ जनालाई मन्त्री बनाएका छन् । त्यसरी मन्त्री हुनेहरूमा कुंगा लेप्चा, सोनम लामा, डा. मणिकुमार शर्मा, कर्मा भुटिया, सञ्जित खरेल, लोकनाथ नेपाल, अरुण उप्रेती, भीमहाङ लिम्बू, एमएन शेर्पा र साम्दुप लेप्चा रहेका छन् । गोलेको सरकार बन्नेबित्तिकै गरिएका तीन महत्वपूर्ण निर्णयलाई चारैतिरबाट समर्थन मिलेको थियो । ती निर्णय थिए–मुख्यमन्त्रीसहित सबै मन्त्रीले अब महँगो गाडीको सट्टा स्वदेशमै निर्मित स्कार्पियो मात्र प्रयोग गर्नेे, भिआईपीलाई सडकमा रातो बत्ती बालेर स्कर्टिङ नदिने र अब सधैँका लागि शनिबार सरकारी बिदा दिने ।

मुख्यमन्त्री बनेपछि गोलेले भने, ‘जनताको चाहनाबमोजिम काम गर्दै जानु मेरो पहिलो प्राथमिकता हो, म यसअघिका सरकारले जस्तो लामो समय शासन गर्न जनतासँग अपिल गर्दिनँ । मात्र पाँच वर्ष काम गर्न पाए मलाई पुग्छ । जनहितका काम गरेर अघि बढ्ने मेरो सपना हो ।’

सन् १९६८ मा साधारण परिवारमा जन्मिएका गोलेको प्राथमिक शिक्षा सिक्किममा भएको थियो भने उच्च शिक्षाका लागि उनी दार्जिलिङ गएका थिए । तत्पश्चात् आफ्नै राज्य फर्केर साधारण शिक्षण पेसा गरी बसेका गोलेलाई उकासेर राजनीतिमा लैजाने उनै गोलेले छैटौँ अवधिका लागि फेरि एकपटक मुख्यमन्त्रीको चाहना राख्ने चाम्लिङलाई नराम्ररी पराजित गर्न सके । विगत २५ वर्षदेखि लगातार मुख्यमन्त्रीको सरकारी निवासमा बसिरहेका चाम्लिङ पराजयपछि आफ्नै पुरानो घर पाक्योङ गएका थिए । तर, सदरमुकाम गान्तोकमा चाम्लिङको निजी घर नभएकोले पार्टीले खोजिदिएको घरमा बसेर प्रतिपक्षीको राजनीति शुरु गर्ने भनी उनको पार्टीले जनाएको छ ।

सिक्किममा यसअघि भण्डारीले शासन गर्दा आफ्नै श्रीमती दिलकुमारी भण्डारीलाई लोकसभामा पठाउँथे भने चाम्लिङले पनि आफ्नै कार्यकर्तालाई पठाउने गरेका थिए । तर, यसपटक सत्तापक्षबाट चाम्लिङले उठाएका लोकसभाका उम्मेदवार टेकबहादुर कटुवाललाई १२ हजारभन्दा बढी मतले गोलेका उम्मेदवार ३१ वर्षीय इन्द्रहाङ लिम्बूले पराजित बनाए । सिक्किमबाट यसरी लोकसभामा जाने सांसदमध्ये पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीकी पत्नी दिलकुमारी भण्डारीले लोकसभामा रुँदै, चिच्याउँदै अनुनय विनय गरेर तत्कालीन भारतीय प्रधानमन्त्री नरसिंह रावबाट नेपाली भाषाको संवैधानिक मान्यता फुत्काउन सफल भएकी थिइन् । उनी दार्जिलिङकी अनि भाषामा राम्रो दखल भएकी महिला मानिन्छिन् । यसरी दिलकुमारीले नेपाली भाषाको पक्षमा महत्वपूर्ण योगदान दिएकी छिन् भने अरू सांसदले चाहिँ अन्य राज्यका सांसदझैँ काम गरेका थिए ।

भोटे, लेप्चा र नेपाली जाति राम्ररी मिलेर बसेको सिक्किम पूर्वमुख्यमन्त्री काजी लेण्डुप दोर्जेको अगुवाइमा भारतलाई सुम्पिएको थियो । सो दुर्दान्त घटनापछि लेण्डुपले कालिम्पोङमा निर्वासित जीवन बिताइरहेका बखत वरिष्ठ पत्रकार हरिहर विरहीका साथ पङ्क्तिकारलाई उनीसँग भेटघाट गर्ने मौका जुरेको थियो । कालिम्पोङको उक्त भेटमा लेण्डुप दोर्जेले भनेका थिए, ‘सिक्किम भारतमा विलय गराउने मामलामा सम्पूर्ण दोष मलाई दिन्छन्, तर त्यो कदापि होइन ।’ उक्त मामलामा तपाईंकै अहम् भूमिका थियो भन्ने सर्वत्र बुझाइ छ, तपाईंको होइन भने कसको हात थियो त भन्ने जिज्ञासाको जवाफमा उनले भनेका थिए, ‘सिक्किम भारतमा विलय गराउन तीनवटी महिलाको अहम् भूमिका रहेको छ । ती महिला हुन्– श्रीमती इन्दिरा गान्धी, राजा छ्योग्यालकी रानी (अमेरिकन) होपकुक र मेरी श्रीमती ।’

आजको सिक्किममा विकास–निर्माणले तीव्रता लिएको छ । मुख्यमन्त्री भण्डारीकै पालामा शिक्षा, स्वास्थ्य, पानी, बिजुली, घर निर्माणमा सहयोग गर्ने जग बसिसकेको थियो भने चाम्लिङका पालामा त्यो जगलाई बलियो बनाउँदै थप सुविधा उपलब्ध गराउने व्यवस्था गरियो । सिक्किममा रासायनिक मल आयातमै प्रतिबन्ध लगाएर सम्पूर्ण राज्यलाई नै अर्गानिक खाद्यान्न उत्पादन गर्ने राज्य घोषणा गर्न चाम्लिङ सफल भएका थिए भने सिक्किमे नागरिकले घर निर्माण गर्नुपर्दा आवश्यक पर्ने जस्तापाता र पचास हजार नगद अनुदानका साथै सिक्किमे विद्यार्थीका लागि उच्च शिक्षाको कोटा देशका विभिन्न ठाउँमा चाम्लिङकै पालामा व्यवस्था हुन गएको थियो । अबका मुख्यमन्त्री गोले पनि पढेलेखेका अनुभवी र जनआकाङ्क्षा के हो भन्ने मात्र बुझेका नभई चाम्लिङले जनआकाङ्क्षाबमोजिम चल्न नसक्दा उनलाई जनताले कसरी लखेटे भन्ने सन्दर्भको समेत राम्ररी मनन गरेका छन् । यस्ता चातुर्यले भरिएको शिक्षित व्यक्ति हुनाले सिक्किम र सिक्किमेको भविष्य गोलेको कार्यकालमा अझ मजबुत बन्दै जाने देखिन्छ ।

सिक्किम भारतमा विलय भएपछि यातायातको दृष्टिकोणले जहिले पनि बंगालको भर पर्नुपर्दथ्यो । अहिले आएर बल्ल चाम्लिङको जोडबलमा सिक्किम एयरपोर्ट तयार भयो । त्यसअघि त बंगाल बन्द हुँदा (आमहडताल आदिका कारण) त सिक्किमेहरू पनि आफ्नो राज्यमा खुम्चिएर बस्नुपर्दथ्यो । तत्कालीन मुख्यमन्त्री भण्डारीले बंगालका वामशासक ज्योति बसुसँग धेरै अनुनय–विनय गर्दा पनि उनको केही लागेन । राजधानी दिल्ली जानुपर्दा सडक मात्र नभई हवाईमार्ग पनि बंगालकै हुँदै जानुपथ्र्यो । त्यसरी दिल्ली जाने क्रममा कलकत्ता पुग्दा ज्योति बसु (तत्कालीन मुख्यमन्त्री)ले ‘ज्वाइँ राजा’ आए भन्दै खान–बस्नचाहिँ राम्रै खातिरदारी गर्न खोज्ने, तर सिक्किमलाई सुविधा र सहयोगको कुराबाट चाहिँ तर्कन खोज्ने व्यवहार प्रदर्शन गर्ने गरेको भण्डारीको भनाइ थियो । बसुले भण्डारीलाई ‘ज्वाइँ’ भनी सम्बोधन गर्नुको कारणचाहिँ बंगालअन्तर्गत शासित दार्जिलिङकी चेली उनले बिहे गरेकाले रहेछ ।

सिक्किम भारतको २२औँ राज्य भएपछि राजनीतिमा दह्रो पकड र अभिभावकत्व भण्डारीकै रह्यो । पछि उनकै कार्यकर्ता चाम्लिङको वर्चश्व हुन पुग्यो भने अहिले गोलेको हातमा पुगेको छ । जब बंगालमा वामवर्चश्व थियो– त्यसको नकारात्मक असर वा मार सिक्किमेले पनि झेल्नुपथ्र्यो । उक्त पीडाबाट दुःखी हुँदै मुख्यमन्त्रीको कुर्सीमै रहेका बेला भण्डारी भन्ने गर्थे, ‘सिक्किमको सीमानदी रम्फु वामपन्थीहरूलाई तर्नै दिन्नँ ।’ अहिलेसम्म सिक्किममा वामपन्थीले झण्डा गाड्ने हिम्मत गरेका छैनन् । भण्डारी प्रायः भन्ने गर्थे, ‘स्याल बहुलाए फ्याउरो बन्छ, मान्छे बहुलाए कम्युनिस्ट हुन्छ ।’

प्रतिक्रिया