कम्युनिजमभित्र फेमिनिजम सम्भव छ ?





■ बबिता बस्नेत

घाँसीले कुवा बनाएको भानुभक्त आचार्यको कविता सानै छँदा पढियो । कविता अहिले पनि कण्ठै छ, ‘भर जन्म घाँसतिर मन दिई धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो ।’

त्यतिबेला सामान्य लागेको यो कविता हिजोआज जति सोच्यो त्यति बढी महत्वपूर्ण लाग्छ । कविताको महत्व आफ्नै गाउँका बरपीपल र कुवाहरूले बुझाएका हुन् । लामो समय काठमाडौंको बसाइपछि केही वर्षअघि खोटाङको सालम्बुस्थित घर गएका बेला जब बोक्चिखुमका बरपीपलको छहारीमा रहेका ठूला चौतारामा पुगेँ, एक्कासि मनमा प्रश्न उठ्यो– यी चौतारा कसले बनाए होला ? यी बरपीपल कसले रोपे होला ? यो कुवा कसले खन्यो या खनायो होला ? आफूले प्राथमिक तह पूरा गरेको विद्यालयवरिपरिको वातावरण त्यसैत्यसै राम्रो लागेर आयो ।

ती बरका जरामा झुन्डिएर कतिपल्ट पिङ खेलियो, फलैँचामा बसेर कतिपटक गट्टी खेलियो, त्यसप्रकारका प्रश्नहरू मनमा आएका थिएनन् । आफैँभित्र प्रश्न आउनका लागि पनि शायद ‘मेच्युरिटी’ चाहिने रहेछ । घाँसीले कुवा खनेको कुरा भानुभक्तले लिपिबद्ध गरे, कविता बन्यो । मेरो जिजुबुबाको पालामा रोपिएका ती बरपीपलको इतिहास मेरो जिजबुबा, जिजुआमा र उहाँका समकालीनहरूले रचेका हुँदा हुन् । तर, समाजसेवाको अमर इतिहासको त्यो गाथा लेखिदिनका लागि त्यहाँ भानुभक्त थिएनन्, लेखिएन । अनकन्टार गाउँमा निस्वार्थ भावनाले गरेका योगदानका इतिहास कति छन् कति जो अभिलेखबद्ध नहुँदा छायामा मात्र परेनन्, निमिट्यान्नै भए ।

यही ०७६ साल जेठ १७ गते शुक्रबार, राजधानीमा राष्ट्रिय सभा सांसद डा. विमला राई पौडेलले बिन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘महिला र राजनीति’माथि बोल्ने क्रममा ‘यो इतिहासको डकुमेन्टेसन हो’ भन्दै गर्दा म फेरि एकपटक गाउँको त्यही चौतारामा पुगेकी थिएँ । नेपालको महिला र श्रमिक आन्दोलनमा सक्रिय बिन्दा पाण्डेको ‘महिला र राजनीति’ पुस्तक पढ्दै जाँदा ‘डकुमेन्टेसन’ नभएकै कारणले हाम्रा जिजुआमा र हजुरआमाको पुस्ता मात्र होइन, आमा पुस्ताकै पनि कति योगदान छायामा परे होलान्, त्यसको हिसाबकिताब कसले राख्यो र ? जस्तो लाग्यो ।

आफ्ना कमान्डरलाई वीर बनाउन यो देशमा धेरै महिलाले युद्ध लडे । कहिले घरपरिवारसँग, कहिले समाजसँग, कहिले राज्यसँग त कहिले आफैँसँग । नालापानीदेखि माओवादीसम्मको इतिहास हेर्दा यस्तै देखिन्छ ।

बिन्दा पाण्डेले आफूले विद्यावारिधि गर्ने क्रममा नेपालको राजनीतिमा महिलाको इतिहासलाई लिपिबद्ध गर्नुभएको छ, जुन आवश्यक थियो । नेपालको राजनीतिमा महिलाको इतिहास मात्र होइन राजनीतिमा लैङ्गिकता र लैङ्गिकीकरणलाई पनि पुस्तकमा समेटिएको छ । यद्यपि अध्ययनका आफ्नै सीमितताहरू छन्, पुस्तक तत्कालीन नेकपा एमालेमा केन्द्रित छ । डा. बिन्दा पाण्डे नेकपाकी प्रतिनिधिसभा सांसदसमेत हुनुहुन्छ । पार्टीको मूल प्रवाहमा रहेर पार्टीभित्रकै विभेद, मतभेद र असहमतिका प्रसङ्ग लेख्नु त्यति सहज कुरा पनि होइन ।

नालापानी युद्धमै महिलाको सहभागिता रहेको थियो भन्ने उहाँको अध्ययनले देखाएको छ । सार्वभौमिकता, अखण्डता र मुलुकको राष्ट्रिय सुरक्षासँग जोडिएको नालापानी युद्ध नेपालले ब्रिटिससँग लडेको पहिलो ऐतिहासिक युद्ध थियो । अमरसिंह थापाको पालामा (सन् १८१४, अक्टुबर २२) भएको यो युद्धमा बलभद्रसिंह कुँवर कमान्डर थिए । अङ्ग्रेजले त्यतिबेला शत्रुलाई पनि वीर भनेर सम्बोधन गरिएको युद्धका रूपमा पनि नालापानीलाई लिइन्छ । अङ्ग्रेजले ‘हाम्रा वीर शत्रु बलभद्र कुँवर’ भनी लेखेको दस्तावेज अहिले पनि भारतीय लाइब्रेरीहरूमा भेटिएलान् ।

आफ्ना कमान्डरलाई वीर बनाउन यो देशमा धेरै महिलाले युद्ध लडे । कहिले घरपरिवारसँग, कहिले समाजसँग, कहिले राज्यसँग त कहिले आफैँसँग । नालापानीदेखि माओवादीसम्मको इतिहास हेर्दा यस्तै देखिन्छ । वीरहरूले महान् बन्दै इतिहास रचे, रच्ने क्रममा छन् । महिलाको योगदानलाई छायामा पार्ने गरिएको छ । नेपालको राजनीतिक इतिहासमा महिलाको योगदान हिजो पनि छायामा थियो आज पनि छ ।

अहिले सत्तामा बस्नेहरूले भन्न सक्छन्– महिलालाई यत्तिका अधिकार दिइएको छ, फेमिनिजमको उद्देश्य हामीले पूरा नगरे कसले गऱ्यो त ? फेमिनिजमको अर्थ ‘टोकनिजम’ नभएर बराबरी हो ।

फेमिनिजम (नारीवाद)लाई डा. पाण्डेले अध्ययनको सैद्धान्तिक आधार भन्नुभएको छ । फेमिनिजमलाई लिएर पुस्तकमा अन्तर्राष्ट्रिय, राष्ट्रिय पक्ष र प्रसङ्गहरू छन् । जुन कुराको बहस नेपालमा अब गर्नैपर्ने भएको छ । के कम्युनिजममा फेनिनिजम आवश्यक छ ? या सम्भव छ ? त्यसो त, नेपाल कम्युनिस्ट शासन भएको नभई कम्युनिस्ट सरकार मात्र भएको मुलुक हो । यस अर्थमा यसप्रकारको बहसको थालनीलाई हतारको संज्ञा दिन पनि सकिन्छ ।

सिद्धान्ततः कम्युनिस्टहरू मानिसको बीचमा वर्गीयबाहेक अन्य अन्तर देख्दैनन् । महिला र पुरुषबीच पनि उनीहरूको सैद्धान्तिक दृष्टि कतिपय वैचारिक समूहको भन्दा भिन्न रहन्छ । चीनमा कम्युनिस्ट पार्टीको शासन शुरु भएको ७० वर्षभन्दा बढी भयो । अहिलेसम्म महिला सरकार या पार्टी प्रमुख भएका छैनन् । भियतनाममा पनि राजनीतिको उच्च तहमा महिलाको सहभागिता देखिँदैन । ७२ वर्षसम्म कम्युनिस्ट शासन चलेको सोभियत सङ्घमा महत्वपूर्ण पद महिलालाई दिइएन । उत्तर कोरिया करिब ७ दशकदेखि एउटै परिवारको शासनमा छ । कम्युनिस्ट राजतन्त्रसमेत भनिने उत्तर कोरियामा अहिलेसम्म छोरीले होइन छोराले नै सत्ता पाएका छन् । क्युवामा झन्डै सात दशकदेखि कम्युनिस्ट शासन छ, त्यहाँ महिलाको स्थिति राम्रो छैन ।

कम्युनिजम भएका मुलुकमा महिलाको यस्तो अवस्थाभित्र फेमिनिजमको अर्थ खोज्दा कम्युनिजम र फेमिनिजमबीच ठूलो अन्तर देखिन्छ । फेमिनिजमले विभिन्न क्षेत्रमा महिलाको वर्चश्व व्यवहारमै खोज्छ, कम्युनिजममा भने सैद्धान्तिक कुरामा मात्रै सीमित देखिन्छ । यद्यपि समानताका बारेमा कार्लमाक्र्सको अवधारणा सिद्धान्तमा मात्रै सीमित राख्नका लागि थिएन ।

हामीकहाँ व्यवस्था नै परिवर्तन गरेर ल्याइएको गणतन्त्रपछिको ३३ प्रतिशत महिलाको सहभागितालाई सम्मानितभन्दा बढी आत्मसम्मान खस्काउने गरी प्रस्तुत गरिँदै छ । फेमिनिजम महिलाको समानता र स्वतन्त्रतासँग सम्बन्धित छ, कम्युनिजमले व्यवहारमा यसलाई लागू गर्न सकेको छैन ।

मानव समाजको विकासक्रममा महिलाको स्वतन्त्रता खुम्चिँदै गएपछि मुक्तिको आन्दोलनस्वरूप नारीवादको विकास भएको हो । पितृसत्तालाई चिर्न आएको नारीवाद एउटा अवधारणा हो, यस्तो अवधारणा जसले समानतासम्म पुग्ने लक्ष्य लिएको छ । अहिले सत्तामा बस्नेहरूले भन्न सक्छन्– महिलालाई यत्तिका अधिकार दिइएको छ, फेमिनिजमको उद्देश्य हामीले पूरा नगरे कसले गऱ्यो त ? फेमिनिजमको अर्थ ‘टोकनिजम’ नभएर बराबरी हो । नारीवादका प्रारम्भिक आन्दोलनकर्ता महिला मात्र थिएनन्, पुरुष पनि थिए । कार्लमाक्र्स, फेडरिक एंगल्स, जवाहरलाल नेहरू, चन्द्रशमशेरलगायतका पुरुषलाई फेमिनिस्ट पुरुष भन्न मिल्छ ।

नेपालमा नारीवादी आन्दोलन कहाँ छ ? भनेर हेर्दा विभिन्न राजनीतिक दलमा महिलाको सहभागिता र भूमिका मात्र नभएर घरपरिवारदेखि समग्र रूपमा महिलाको वर्चश्वलाई हेर्नुपर्ने हुन्छ । कम्युनिस्ट पार्टीभित्रै यो आन्दोलनको आवश्यकतालाई नेतृहरूले औँल्याउने गरेका छन् । रुसी क्रान्तिले आफ्नो राजनीतिक सिद्धान्तमा समानताको सिद्धान्तको वर्णन गरेर प्रारम्भिक अभ्यास गरेको थियो । तर, व्यवहारमा समानता देखिएन । हामीकहाँ व्यवस्था नै परिवर्तन गरेर ल्याइएको गणतन्त्रपछिको ३३ प्रतिशत महिलाको सहभागितालाई सम्मानितभन्दा बढी आत्मसम्मान खस्काउने गरी प्रस्तुत गरिँदै छ । फेमिनिजम महिलाको समानता र स्वतन्त्रतासँग सम्बन्धित छ, कम्युनिजमले व्यवहारमा यसलाई लागू गर्न सकेको छैन ।

विगतमा त्यस्ता धेरै महिला जो कम्युनिस्ट थिए र फेमिनिस्ट पनि थिए, तर ती पुरुषको छायामा परे । पुस्तकमा बिन्दा पाण्डे स्वयम्ले लेख्नुभएको छ, ‘नेताहरूको पितृसत्तात्मक माइण्ड सेटलाई नजिकबाट अनुभव गरेकी छु ।’ महिलाको अस्तित्व रक्षासहितको नीतिगत स्पष्टता एवम् व्यवहार र सिद्धान्तमा सीमित बोक्रे समानता फरक कुरा हुन् । त्यसैले पनि कम्युनिस्ट पार्टीभित्र फेमिनिस्ट मुद्दा जटिल कार्य हो । कम्युनिस्ट र फेमिनिस्टबीचको संयोजन असम्भव नै त होइन, तर त्यति सहज पनि देखिँदैन । यस्तो असहज परिस्थितिका बीच जतिले आवाज उठाइरहनुभएको छ, त्यो अभिलेखबद्ध हुनु आवश्यक छ ।

प्रतिक्रिया