विशेष प्रशिक्षणमा सात खेल मात्र थपिए

विशेष प्रशिक्षणमा सात खेल मात्र थपिए


राष्ट्रिय खेलकुद परिषद्ले दोश्रो चरणको बन्द प्रशिक्षण जेठ २० गतेदेखि शुरु गरेको छ । उक्त बन्द प्रशिक्षणमा ७ खेलका १०९ खेलाडीलाई समावेश गरेको छ । दोश्रो चरणको बन्द प्रशिक्षणमा तेक्वान्दोका २३, कराँतेका २१, बक्सिङका १६, उसुका २२, पौडीका १६, फेन्सिङका ६ र गल्फका ५ जना खेलाडीलाई समावेस गरिएको छ । १३औँ सागका समावेस २७ खेलमध्ये हालसम्म १४ खेललाई मात्र विशेष प्रशिक्षणमा समावेश गरिएको छ । योभन्दा अघि राखेपले २७ खेललाई जेठ २० गतेदेखि बन्द प्रशिक्षणमा राख्ने बताएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले समावेश खेलाडीलाई निर्देशन दिँदै भने–‘राष्ट्रिय अभिभारा पूरा गर्नका लागि नयाँ संकल्पका साथ अगाडि बढेका छौँ । अहिले हामी १३औँ सागको विशेष प्रशिक्षणमा समावेश भएका छौँ, यो विगतको भन्दा विशेष हुन्छ । म तपाईंहरूलाई अनुरोध गर्छु, यसलाई सामान्य नलिनु होला । हाम्रो एउटै साझा उद्देश्य छ, १३औँ सागलाई भब्य सभ्य र परिणामुखी बनाउने हो । हामी सबैले आ–आफ्नो जिम्मेवारी अनुशासित, इमान्दारीका साथ निर्वाह गरौँ ।’

सदस्यसचिव बिष्टले खेलाडीप्रति इशारा गर्दै भने– ‘हामीले खेलाडी सुविधामा पनि ध्यान पुऱ्याएका छौँ । असारदेखि तपाईंहरूको भत्ता २ हजार हुने छ । हामीले राज्यसँग अनुरोध गरेका छौँ । राज्यले आफ्नो क्षमताअनुसार खेलाडीको सुविधामा कन्जुस्याइँ गरेको छैन । देश गरिब छ, त्यहीअनुसारको सुविधा पनि प्राप्त हुने हो ।’

सदस्यसचिव बिष्टले चर्चित धावक बैकुण्ठ मानन्धरको उदारहण दिँदै भने– ‘सुविधा नै सबै हो म भन्दिनँ, खालि खुट्टा दौडिएर सागमा मानन्धरले बनाएका कीर्तिमान सुविधासम्पन्न देशका ५० हजारका जुत्ता लगाएर दौडने खेलाडीले अहिलेसम्म तोड्न सकेका छैनन् । त्यसैले खेलाडीको अनुसाशन र स्कील नै पहिलो कुरा हो ।’

१३औँ सागमा खेलाडीको मात्र नभई प्रशिक्षकको पनि परीक्षा हुनेछ । जसरी खेलाडी राम्रो प्रदर्शन गर्न नसक्दा राष्ट्रिय टीमबाट बहिरिन्छन्, त्यस्तै राम्रो नतिजा दिलाउन नसक्ने प्रशिक्षक पनि बाहिरिने छन् । २७ खेल समावेस गरिएको बन्द प्रशिक्षणमा बाँकी खेल असार १ गतेभित्र समावेस हुने छन् ।