‘भन्नुस्, अब म कहाँ जाउँ ?… अध्यक्ष लड्छु’ : कुमार पन्त

‘भन्नुस्, अब म कहाँ जाउँ ?… अध्यक्ष लड्छु’ : कुमार पन्त


  • डिल्ली अम्माई, बेल्जियम

‘सङ्घको आगामी कार्यदिशा नै भिजन २०–२० हो । ब्यक्तिको काम गर्ने क्षमता वा कार्यशैलीअनुसार यो कार्यदिशा कसरी लागु गर्ने भन्ने सवाल पैदा हुन सक्ला । क्याफेमा मार्ने गफले संस्था हाँकिदैन, काम गर्ने इच्छाशक्ति, क्षमता र नियत सबैमा एकैखालको हुँदैनत्, यसैले असल नेतृत्वको छनौटको आवश्यकता खट्किने हो । ब्यक्ति कस्तो पठाउने, त्यो निर्णय नेतृत्वमा हैन एनआरएनका सदस्यहरूको जिम्मामा आउँदैछ, त्यहीँनेर सबैको विवेक जाँचिन्छ । राम्रो नियत भएको असल मान्छे छान्ने र नेतृत्वमा पठाउने तपाईंहरूले हो ।’

यही जुन २ तारिक आन्त्वेर्पेन (बेल्जियमम)मा भएको अन्तरक्रियामा एनआरएनएका उपाध्यक्ष कुमार पन्तले दर्शकदीर्घाबाट उठेको एक प्रश्नको जवाफमा दिएका अभिव्यक्ति हो यो ।

नयाँ सदस्यताको ब्यवस्थीकरण, विदेशको नागरिकता लिइसकेकाहरूबीच नेपालमा आउन सक्ने कानुनी झन्झट, नेपालको समृद्धि अभियानमा लगानीका मोडल तथा कार्यालयको घडेरी प्रकरण र उक्त कार्यालयको स्वामित्वबारे उब्जिएका कानुनी प्रश्नबारे समेत उपाध्यक्ष पन्तले समुहलाई आश्वस्त पार्न खोजेका थिए । उनले घडेरी खरिदमा नियतवश नभएर प्राविधिक रूपमा अघिल्लो टिम झुक्किएको बताए । त्यो बेलाको पदीय हैसियतअनुसार यो कमजोरीको नैतिक जिम्मेवारी आफूले समेत लिने जनाए ।

यदि घडेरीमा कानुनी सङ्कट आयो भने वकिललाई साक्षी राखेर परल मुल्यको साउँ ब्याज फिर्ता दिने जग्गादाता भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसँग कानुनी प्रमाण बनाएका छौँ भनेर प्रश्नकर्तालाई आश्वस्त पार्ने प्रयत्न गरे । ‘भवनको पर्खाल बनाउन नपाउँदै ढलेको छ’ भन्दै उनले पर्खाल निर्माण ब्यवसायीप्रति दुःखसमेत ब्यक्त गरे ।

‘८० देशमा विस्तारित एनआरएनएबाट नेपालको कृषि क्षेत्रमा टेक्नोलोजीसहित लगानी भित्र्याउन युवराज गुरुङको नेतृत्वमा कृषि समिति सक्रिय भैरहेको छ, डायस्पोरामा नेपाली भाषाको विकास गर्ने उद्देश्यले गोविन्द गौतमको नेतृत्वमा उपसमिति बनाइएको छ’, भाषा र कृषिबारे एनआरएनएको धारणा जान्ने मेसोमा सोधिएको प्रश्नको उत्तर दिँदै पन्तले बताए ।

‘के तपाईं नेतृत्वको लागि तयारि गर्दै हो ?’ भन्ने दर्शकहरूको सोधाइलाई उनले ‘मेरो स्वाभाविक स्थान अन्यत्र कतै देख्नुभएको छ त ?’ भन्ने प्रतिप्रश्न गर्दै जवाफ पर्काए । हुन पनि हो, पन्त इलाका, क्षेत्रदेखि राष्ट्रिय नेतृत्व, अन्तर्राष्ट्रिय सदस्य, महासचिव अनि दुईपटक उपाध्यक्ष भइसकेका छन् । निििर्ववाद उनी एनआरएनएको अध्यक्ष पदका स्वाभाविक उम्मेदवार हुन् । कि विश्राम कि अध्यक्ष, यसबाहेक अन्य विकल्प नै छैन उनीसँग ।

बोल्ने क्रममा ‘विभिन्न कार्यकालमा बनेका लाप्राक नमुना बस्ती, शंखमुल पार्क, कम्पनीमार्फत एनआरएन लगानीमा निर्माणाधीन लम्जुङलगायतका हाइड्रो पावर, अस्पताल, होटल, कृषि तथा पशुपालन, वित्तीय संस्थाहरू र असंख्य परोपकारी कार्यतर्फ फर्केर हेर्न एनआरएनहरुलाई आग्रह गरे । संस्थागत रुपमा एनआरएनद्वारा शुरु गरिएको सामुहिक लगानीमा हातेमालो गर्न उनले सबै एनआरएनहरूलाई आग्रह समेत गरेका थिए ।

अघिल्लो पटक पन्तले अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिनुको कारणबारे समेत एनआरएनहरूद्वारा जिज्ञासा राखिएको थियो । त्यसको स्पष्टीकारणको क्रममा उनले अहिल्यै बोल्ने समय नभैसकेको भन्दै आघिल्लो पटक भट्टजी अध्यक्ष हुँदा होस् वा आफूले उहाँलाई समर्थन गर्दा होस्, केही आधारभूत सहमति भएका र त्यसप्रति हामी सबै कति इमान्दार रहन्छौँ भन्ने कुरा हो, समय आएपछि सबै स्पष्ट हुने पन्तले बताए ।

अन्तरक्रियामा उपस्थितजन भन्दै थिए– ‘उपाध्यक्ष पन्तको अध्यक्ष भट्टसंग समर्थनको सवालमा कागजी सहमति भएको हो भने त्यसले भट्टउपर स्वतः नैतिक सङ्कट निम्त्याउने छ ।’

गैरआवासीय नेपाली सङ्घ बेल्जियमको आयोजनामा भएको उक्त अन्तरक्रियामा सो सङ्घका सचिव जानकी गुरुङ, अनररी गोविन्द सुवेदी, युरोप संयोजक शिव बरुवाल लगायत केही वक्ताले आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अन्त्यमा एनआरएनए बेल्जियम विधान मस्यौदा समितिका संयोजक गंगाधर गौतमले संसोधित विधान औपचारिक रुपमा समितिका अध्यक्ष, युरोप संयोजक, सचिव र उपाध्यक्षलाई हस्तान्तरण गरेका थिए । एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रवक्ता दीपेन्द्र केसीले गरेका थिए ।

कार्यक्रमपछिको अनौपचारिक डिनर मिटिङमा अनौपचारिक अभिव्यक्ति दिँदै सचिव जानकी गुरूङले महासचिवमा आफ्नो उम्मेदवारी स्वाभाविक रहने बताइन् भने शिव बरुवालले सचिव, सरु चापागाईंले महिला–संयोजक तथा गंगाधर गौतमले युरोप–संयोजकमा आफ्नो रुचि भएको बताए । त्यस्तै, बेल्जियमका अध्यक्ष लोक दाहालले समेत ‘कथाले माग्यो भने’ केन्द्रिय समितिमा जाने सोचिरहेको अभिव्यक्ति दिएका थिए ।