नेपाली राजदूतावास (मस्कट)द्वारा श्रमिक सचेतना तथा अन्तरक्रिया

नेपाली राजदूतावास (मस्कट)द्वारा श्रमिक सचेतना तथा अन्तरक्रिया


  • आरके श्रीवास्तव, ओमान

ओमानको दक्षिणी भेग दोफार प्रदेशस्थित सल्लाहमा नेपाली राजदूतावास ओमानको आयोजनामा श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २८ मे २०१९ मंगलबार सल्लाहमा रहेको मस्कट इन्टरनेशनल होटलमा आयोजन गरिएको उत्त कार्यक्रममा उपस्थित श्रमिक तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई राजदूतावासद्वारा प्रदान गरिने श्रमसम्बन्धी विषयमा सचेतनामूलक जानकारी गराइएको थियो ।

कार्यक्रममा दूतावासको तर्फबाट श्रम सहचारी कृष्णाकुमारी गौली सहभागी थिइन्। कार्यक्रममा बोल्दै उनले गन्तव्य मुलुकमा अपनाउनु पर्ने सामान्य विधि, समस्यामा परेका श्रमिकहरूको उद्धार प्रक्रिया, श्रमिकका हकहित संरक्षण एवम् प्रवर्द्धनका लागि गर्दै आएका प्रयास, अंगभंग तथा मृत्यु भएका श्रमिकहरूको लागि दूतावासबाट गरिने कानुनी प्रक्रियाहरू, जेल तथा डिटेन्सनमा रहेका नेपालीहरूको अवस्था तथा श्रमिकका सुरक्षा का समग्र पक्षहरूलाई केलाएर प्रस्तुतीकरण दिएकी थिइन् ।

भिसाको अवधि सकिएर वा अन्य कारणले अवैधानिक भएका नेपालीलाई वैधानिक बाटोबाट नेपाल फर्कन, अवैध ढंगले बसोबास नगर्न, आफुले काम गरेको कम्पनी वा स्पोन्सर आफूखुशी छाडेर नभाग्न र रोजगारदाताप्रति कुनै गुनासो सिकायत भएमा दूतावासको सम्पर्कमा आउन नेपाली राजदूतावासको तर्फबाट आग्रह गरिएको ओमानका लागि नेपाल राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिइन् ।

नेपाली राजदूतावास ओमान मस्कटमा सम्पर्कका लागि दूतावासको हटलाईन नम्बर ७१५९२४९०, फेसबुक पेज Embessy of Neapl Muscat र ईमेल एड्रेस [email protected] मा सम्पर्क गर्न अनुरोध पनि गरिएको छ ।

सो अवसरमा नेपाली श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारीका विविध विषयमा राखेका जिज्ञासा तथा गुनासोहरूलाई दूतावासको तर्फबाट सम्बोधन गरिएको थियो । सहभागीहरूले दूतावासबाट यस्ता सचेतनामूल्क कार्यक्रम समय समयमा गरिदिएमा जनचेतना मात्र बढ्ने मात्र नभई कामदारको आत्मविश्वास बढ्ने हुँदा भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गरेका नेपाली राजदूतावास मस्कटले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।