सिड्नी, वर्षा र उनको भाइरल तस्बिर

सिड्नी, वर्षा र उनको भाइरल तस्बिर


  • राजन घिमिरे

सिड्नीमा खिचिएको अभिनेत्री वर्षा राउतको तस्बिर भाइरल हुँदै नेपालीजनको उपस्थिति रहेको देश, विदेश, शहर र गाउँ जताततै पुगिसकेको छ ।

अष्ट्रेलियामा प्रदर्शन भइरहेको चलचित्र जात्रै जात्राको प्रदर्शनीमा सहभागी हुन उनी गत शुक्रबार साँझ सिड्नीको टाउन हलनजिक रहेको इभेन्ट सिनेमा हलमा आइपुगेकी थिइन् । त्यो समारोहको एक सहभागी या प्रत्यक्ष्यदर्शी म पनि थिएँ । जब वर्षा यो माहोलमा देखापरिन्, उनलाई दर्शकहरूले घेरिहाले र, फटाफट तस्बिर खिच्न थाले ।

त्यतिबेला वर्षा निकै सहज रूपमा दर्शकमाझ खुलेकी थिइन् र दर्शकबीच उनले अप्ठ्यारो मान्नुपर्ने कारण पनि थिएन र मानिनन् पनि । तस्बिर र आफूले लगाएको पहिरनको यसरी नकारात्मक चर्चा होला भन्ने थाहा पाएको भए उनी न खुलेर प्रस्तुत हुन्थिन् न त यो पहिरनमै सजिने थिइन् । बजारमा भाइरल हुन वर्षाले आफै यस्तो पहिरन लगाएको आरोप र आलोचना पनि सहनु पऱ्यो उनले तर, म आफै पनि त्यो समारोहको साक्षी भएका कारण यति कुरा ठोकुवाका साथ भन्छु कि वर्षाले यस्तो अशोभनीय कार्य जानेर गरेकी पनि होइनन् र उनलाई यसको आवश्यकता पनि छैन । वास्तवमै तस्बिर भाइरल बनाएर वर्षालाई आज सस्तो चर्चाको भोक छैन । उनी आज पनि चर्चा र दर्शकहरूको मनमा बसिरहेकी छिन् । समय, परिस्थिति, देश र भेषअनुसार उनले त्यो पहिरन लगाएकी थिइन् । यो पहिरनको तस्बिर सिड्नीबाट बाहिरिएको थियो तर भाइरल भने नेपालबाट भयो । अष्ट्रेलियाको रहनसहन र जीवनशैलीलाई हेर्ने हो भने भाइरल भएको यो तस्बिर खासै केही होइन तर, नेपाली परिवेशमा यसले केही तरङ्ग भने ल्यायो नै ।

कार्यक्रम अवधिभर उनको पहिरनको खासै चर्चा भएन र चासो पनि दिइएन । जब वर्षासँग दर्शकहरूले खिचेको यो तस्बिर सामाजिक सन्जालबाट बाहिरियो तब एकपछि अर्कोले कपी गरेपछि भाइरल भएको थियो । कार्यक्रममा आधिकारिक रूपमा वर्षाले सेसन गरेको यस पहिरनको तस्बिर बजारमा राम्रोसँग आउनै पाएन । त्यसदिन वर्षाको फोटो सेसन सिड्नीनिवासी फोटोग्राफर रामशरणले गरेका थिए तर बजारमा भने मोबाइलबाट खिचिएको तस्बिर भाइरल भइदियो ।

यो तस्बिर र पहिरनको बारेमा सकारात्मक वा नकारात्मक दुवै प्रतिक्रिया आएका छन् । तर, एउटा कलाकारको क्रियाकलाप र उपस्थितिप्रति उनीहरूका प्रशंसकहरूको चासो र सक्रियता साँच्चै वाह गर्न लायककै हुँदोरहेछ भन्ने कुरा वर्षाको यो भाइरल भएको तस्बिरले पनि स्पष्ट पारेको छ ।

नयाँ शहर, नयाँ परिवेश अनि नयाँ दर्शकहरूका साथ सिड्नीमा चलचित्र जात्रै जात्राको कार्यक्रममा सहभागी हुन आएको समयमा आफूले लगाएको पहिरनले यस्तो हल्लीखल्ली मच्चाउला भन्ने कुरा वर्षा आफैले पनि सोचेकी थिइनन् । यो कुरालाई अब नकारात्मक रूपले हेरिनु भन्दा पनि परिस्थिति र समयअनुसार उनको उपस्थिति सकारात्मक थियो भन्ने नै ठिक होला । उनले पर्दा बाहिर लगाएको पहिरनको बारेमा नकारात्मक टिप्पणी गर्नु भन्दा वर्षाले पर्दामा गरेको जीवन्त अभिनयको चर्चा र प्रशंसा गर्ने कि…???

तस्बिर : रामशरण, सिड्नी