देवीलाल : जापानमा रहेका नेपालीका आशा

देवीलाल : जापानमा रहेका नेपालीका आशा


  • राजन घिमिरे

जापानमा नेपाली समुदायबीच मात्र नभई विदेशीहरू माझ पनि देवीलाल भण्डारीको उठबस र पहिचान गजवकै छ । यो स्थानमा आइपुग्न उनले कम पापड पेलेका छैनन् । प्रवासी जीवनका थुप्रै उकाली–ओरालीहरूको अनुभव सँगालेका छन् उनले । कुसल समाजसेवी र सामाजिक अभियन्ता देवीलालको नजरले सामाजिक कार्य वा कसैलाई सहयोग गर्दा नेपाली वा विदेशी भनेर छुट्याएन् । सामाजिक कार्य गर्नुपर्ने समय आउँदा वा कसैलाई आफ्नो तर्फबाट केही गर्न सकियो भने मन सन्तुष्ट हुने उनी बताउँछन् । सामाजिक कार्यलाई उनी नितान्त मानवताको नजरले हेर्छन् ।

स्याङ्जामा जन्मिएका देवीलाल जापान बसेको १५ वर्ष भयो । यो दौरानमा उनले सङ्घर्ष र दुःखका पहाडहरू पनि थुप्रै चढे तर, कहिले आत्तिएनन् । ‘दुःख–सुख भन्नु नै त जीवन हो । यसमा आत्तिनु हुन्न’, उनको मान्यता छ । गैरआवासीय नेपाली सङ्घ जापानका भरपर्दा, विश्वासिला र लागिपर्ने अभियन्ता हुन् उनी ।

‘उहाँ निकै मिहेनती हुनुहुन्छ । सहयोग गर्नुपर्ने समयमा यो–उ–यस्तो समय भन्नुहुन्न । जापानमा रहेका नेपालीहरूको आधार पनि हुनुहुन्छ उहाँ’, जापानमा देवीलाललाई नजिकबाट चिन्नेहरूले उनको बारेमा यसो भने ।

उनी गैरआवासीय नेपाली सङ्घ जापानमा सन् २००८ देखि आवद्ध छन् । कार्यसमिति सदस्य हुँदै उपाध्यक्ष भइसकेका उनी अहिले भने वरिष्ठ उपाध्यक्ष छन् ।

‘अब उहाँलाई सन् १९–२१ को लागि अध्यक्ष बनाउनुपर्छ र, यो कुरामा सबैले सहमति पनि जनाइसकेका छन्’– देवीलालका सहकर्मीहरूले बताए ।

त्यसो त उनको कार्यशैली, सामाजिक सोच र जापानमा रहेको नेपाली समाजका लागि पु¥याएको योगदानको कुरा गर्दा जापानमा रहेका नेपालीहरू अब भण्डारीलाई नै गैरआवासीय नेपाली सङ्घ जापानको नयाँ अध्यक्ष पदमा हेर्न आतुर देखिएका छन् । विभिन्न कारणले निधन हुन पुगेका नेपालीका निम्ति इन्स्योरेन्सलगायतका कानुनी पक्षमा खुलेर सहयोग गर्ने र न्याय दिन लागिपर्ने समाजसेवी हुन् उनी ।

देवीलालले कोमामा रहेका नेपालीहरूलाई नेपाल पुग्ने व्यवस्था गरेर निकै ठूलो पुण्य कमाएका छन् । यसकारण पनि जापानमा रहेका नेपाली समाजको मन र मुटुमा बसेका छन उनी । प्रवासिएका मन र अँगालोलाई जुटाउन र परिवार जोड्न उनले गरेको योगदानको चर्चा गर्ने हो भने लामै हुन्छ ।

त्यसो त जापानको मुटु टोकियोमा सम्पन्न नेपाल फेस्टिबलमा दुई पटक सह–संयोजक र एकपटक संयोजक भएर उनको समूहले सफलताका साथ सम्पन्न गरेको भव्य कार्यक्रमको आज पनि नेपाली समुदायबीच वाहवाही चलिरहेकै छ । यी र यस्ता थुप्रै सामाजिक कार्यलाई आत्मसात गर्दै अगाडि बढेका देवीलालको मन छुने र गर्व गर्ने काम–कर्तब्य देखेर नै यसपटक गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा उम्मोदवारी दिन र संस्थालाई अगाडि बढाउन भण्डारीलाई बुझ्नेहरूले प्रोत्साहित गरिरहेका छन् ।

आफ्ना बारेमा यस्ता कुरा, विचार र सोचहरू आउँदा देवीलालको विचार भने चाहिँ कस्तो छ त ?

‘सबैको साथ र सहयोग मिल्छ भने म पछाडि हट्दिनँ । भित्र वा बाहिर जहाँ बसे पनि सामाजिक कार्य गर्ने हो । म प्रवासमा नेपाल र नेपालीको शिर उचो पार्ने काम सदैव गर्नेछु । अहिलेसम्म मेरो नियतमा कसैले खोट लगाएको छैन र लगाउन पनि सक्दैन’– उनले गौरवका साथ बताए ।