हाबी हुँदैछ व्यक्तिवादी प्रवृत्ति

हाबी हुँदैछ व्यक्तिवादी प्रवृत्ति


अभिभावक, बालबालिका र दायित्व

■ गोपाल पराजुली

संयोगका पानाहरूभित्र आफ्ना अभिव्यक्तिहरू राखिरहँदा आफू स्वयम् कुनै समयमा बालक रहेको स्मृतिसँगै आजको अवस्थामा आइपुग्दा भोगेका बालक, किशोर र प्रौढावस्थाका आ–आफ्नै चरणका अनुभवहरू एकैसाथ स्मरण भइरहेको छ । आफू बालक छँदा गरिएका कतिपय बाल–बिठ्याइँहरूलाई बाल्यकालको छुट्टै प्रसङ्गमा उल्लेख गरेको छु । आजको लेखाइमा वर्तमान परिवेशमा अभिभावक र बालबालिकाहरूका विषयमा मनमा उठेका केहि जिज्ञासा र अनुभवहरूलाई पस्कने कोशिस गरेको छु ।

समाजमा विगत लामो समयदेखि स्थापित भएका कतिपय पारिवारिक अनुशासनहरूमा क्रमशः परिवर्तन देखिन थालेको छ । संयुक्त परिवारको पुरातन परिवेश त करिव–करिव बिस्थापनकै संघारमा पुगिसक्यो । बढ्दो एकल परिवारको संरचनाले मानिसहरूमा व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएको छ । आफू मात्र रमाउने नितान्त वैयक्तिक सोचलाई जन्म दिएको छ । आफू रमाउनु नै सबैथोक हो भन्ने संस्कारले विगतको वृहत्तर सामाजिक परिवेशलाई व्यक्तिले भुल्दै गएको छ । सामाजिक उत्तरदायित्व र परिवेशलाई यसरी भुल्दै गएपछि परिवारभित्र पनि विखण्डनको अवस्था चुलिन थालेको छ । यसका पछाडि व्यक्ति मात्र होइन, उसलाई हुर्काउने समाज र राज्यको नीति–नियम अनि आयातित कानूनसमेत उत्तिकै जिम्मेवार छन् ।

पछिल्लो समयमा पारिवारिक कानूनभित्र अभिभावकहरूको दायित्व मात्रै तथा बालबालिकाको अधिकार मात्रै थुपारिएको छ । एउटा बालकलाई असल नागरिक बनाउने अभिभावकको सोचलाई सम्बोधन गर्न नसकेको वर्तमान परिवेशले उल्टो द्वन्द्वको अवस्था सृजना गरिदिएको छ । अठार वर्ष नपुग्दासम्म बालक भइरहन पाउने कानूनी व्यवस्थाले एउटा बालकलाई दायित्व बहन गर्ने, व्यवहारिक कुशलता सिक्ने र सिर्जनशील हुने अवसर दिनुको साटो केवल अधिकारको खोजीमै रुमल्लिन प्रेरित गरेको छ ।

समाज परिवर्तनका नियमहरूभित्र आफूलाई बाँध्न नसक्दा र आफूबाहेक अरू केही होइन भन्ने आत्मकेन्द्रित प्रवृत्तिका कारण विदेशिने विद्यार्थीको लर्कोले समाज र राष्ट्रमा अर्को समस्या थपिदिएको छ । स्वदेशी उद्योग, कल कारखाना एवम् पर्यटन क्षेत्रले नेपालीहरूलाई आकर्षित गर्न नसक्दा ती क्षेत्रमा विदेशीहरूको घुसपैठ बढेको छ । जसका कारण भित्रभित्रै हाम्रो राष्ट्र र राष्ट्रियतालाई नै कमजोर बनाउने धमिरा प्रवृत्ति विकसित हुँदै जान थालेको छ ।

अर्कोतर्फ सूचना र प्रविधिको द्रुत विकाससँगै यसको प्रयोगविधि र सीमाको उचित नियमन नहुँदा अभिभावकसँगै सिङ्गो समाजले अनेकन नकारात्मक असरहरू सामना गर्नुपरेको छ । घर–घरमा टेलिभिजन र मोवाइलको सहज उपलब्धताले अभिभावक र बालबालिकाहरूको दैनिकी फेरिएको छ । खुला स्थानमा रमाउनुपर्ने बालबालिका कोठाभित्र रमाउने भएका छन् । मोवाइल र कम्यूटरमा खेलिने विभिन्न ‘गेम’हरूकै प्रभावले कैयन आश्चर्यजनक घटनाहरू घटेका समेत देख्न–सुन्न सकिन्छ । अमेरिका लगायत कतिपय विकशित मुलुकमा विद्यालयमा नै पेस्तोल चलाउने, गोलावारी गर्नेजस्ता घटनाले सयौँ होनहार प्रतिभाहरूको देहावसान हुन पुगेको छ । प्रविधिको विकासलाई नियमन गर्न चुक्दा निम्त्याइएको विनास हो यो ।

बालसुलभ मनोविज्ञान र उसको जिज्ञासाभित्र कुन र कति विषय समेट्न सकिन्छ भन्ने पक्षलाई व्यवस्थापन गर्नुपर्ने वर्तमान समाजको चुनौती देखिन्छ । एउटा मोबाइल फोन वा कम्यूटरबाट बालकले सिकिरहेको शिक्षा वा ज्ञान के हो ? इन्टरनेट प्रयोगको सीमा कति हो ? त्यसको उचित प्रयोग तथा त्यसबाट हुनसक्ने हानीको बारेमा विश्लेषण र पूरा अध्ययन अझै पनि हुन सकेको छैन । इन्टरनेट एकतर्फ ज्ञानको भण्डार हो भने अर्कोतर्फ यसको गलत प्रयोगबाट उत्पन्न परिस्थितिले परिवार समाज र राष्ट्रलाई नै विकराल समस्यामा पुऱ्याउँछ । यसको नियमन र वितरण प्रणालीमा राज्य गम्भीर रूपमा लाग्नुपर्ने देखिन्छ ।

बालकको माग र अभिभावकको आपूर्ति–क्षमताका बीच निकै ठूलो खाडल देखिएको छ । बालमनोविज्ञान अध्ययन–अध्यापनतर्फ पर्याप्त ध्यान पुऱ्याउन सकिएको छैन । अभिभावकहरूले आफूले खाई–नखाई ऋणमा डुबेर पनि शिक्षामा लगानी गरेका छन् । त्यसबाट शिक्षितहरूको सङ्ख्यामा त वृद्धि भएको छ तर समाजले यथोचित प्रतिफल प्राप्त गर्न सकेको छैन । समाजमा स्थापित कतिपय सकारात्मक पक्षहरूलाई शिक्षितहरूले पनि अनुकरण गर्न सकेका देखिँदैन । समाज परिवर्तनका नियमहरूभित्र आफूलाई बाँध्न नसक्दा र आफूबाहेक अरू केही होइन भन्ने आत्मकेन्द्रित प्रवृत्तिका कारण विदेशिने विद्यार्थीको लर्कोले समाज र राष्ट्रमा अर्को समस्या थपिदिएको छ । स्वदेशी उद्योग, कल कारखाना एवम् पर्यटन क्षेत्रले नेपालीहरूलाई आकर्षित गर्न नसक्दा ती क्षेत्रमा विदेशीहरूको घुसपैठ बढेको छ । जसका कारण भित्रभित्रै हाम्रो राष्ट्र र राष्ट्रियतालाई नै कमजोर बनाउने धमिरा प्रवृत्ति विकसित हुँदै जान थालेको छ ।

हुन त कतिपय शिक्षाको प्रभाव सोझो दिशाबाट सञ्चालन हुँदैन पनि भनिन्छ । उदाहरणका रूपमा बेलायती साम्राज्यवादका विरूद्ध भारतमा चलेको आन्दोलनलाई लिन सकिन्छ । भारतमा एक अङ्ग्रेज शासक मेकालेले सबैलाई अङ्ग्रेजी पढाएमा ब्रिटिसहरूको शासन चीरस्थायी हुन्छ भनेर भारतमा अङ्ग्रेजी शिक्षा सुरू गरेका थिए । तर, त्यही अङ्ग्रेजी पढेकाहरूले नै बेलायती उपनिवेश र शासनको विरोध गरेर भारतलाई स्वतन्त्र बनाए । नेपालमै पनि जसलाई पञ्चायती शिक्षा र पञ्चायती व्यवस्थाको गुणगान पढाइएको थियो उनीहरू नै पछि गएर एकतन्त्रीय व्यवस्थाका विरुद्ध उत्रिएका थिए र पञ्चायती व्यवस्था नै विस्थापन हुन पुगेको थियो ।

बालबालिकाहरूको सामाजिकीकरण र समाजसँग तादात्म्य कमजोर हुँदै विस्तारै एक्लै रमाउने स्वाभाव बलियो बन्दै जान थालेको छ । कतिपय अवस्थामा अभिभावकहरूसँग भन्दा एक्लै हिँड्न–घुम्न रुचाउने, वयस्कहरूसँगको घुलमिलबाट टाढिने स्वाभावमा अझ बढोत्तरी हुँदै गएको छ । यहाँनेर सोच्नैपर्छ कि कतै यसले परिवर्तनका नियमहरूलाई झनझन् टेढो बनाउँदै त छैन ?

बालबालिकाहरूको मनोविज्ञानमा इन्टरनेट सुविधाले के प्रभाव पारेको छ ? त्यसबाट सृजित समस्या के हो त ? अबका दिन यसतर्फ अझ गम्भीर बहस हुन जरूरी छ । भारतमा केही समयअघि मद्रास हाईकोर्टले मोवाइल वा कम्यूटरमा खेलीने ‘पब्जी’ खेलमा प्रतिबन्ध लगाउने आदेश जारी गऱ्यो । यसप्रकारको ‘भर्चुअल गेम’ले बालबालिका र किशोर–किशोरीहरूको मस्तिष्कमा, उपद्रवी, आवेशयुक्त र लडाकु स्वभावलाई विकशित गराउने जोखिम हुन्छ । तसर्थ बालबालिकामा देखापर्ने यस्ता स्वभावलाई समयमै परिवर्तन गर्नु वाञ्छनीय हुन्छ । मद्रास हाईकोर्टको आदेशमा पनि यहि कुरालाई जोड दिइएको थियो । उसो त कुन र कति बर्षका बालबालिकाहरूले इन्टरनेट प्रयोग गर्न पाउने वा नपाउने भनि निश्चित गर्ने कुनै नीति–नियम छैन । तसर्थ, यसतर्फ पनि उचित निर्देशनको खाँचो टड्कारो देखिएको छ ।

प्रविधिको प्रयोगमा अभिभावकहरूको अनिभिज्ञताका कारण बालवालिकाहरूले अभिभावकलाई सजिलै झुक्याइरहेका छन् । बालबालिकाहरूमा मनोरञ्जनात्मक खेलको बहानामा कुलतमा फस्ने र सिर्जनशील मगजलाई विस्थापित गराउने डरलाग्दो अवस्था देखिन थालेको छ । बालबालिकाहरूको सामाजिकीकरण र समाजसँग तादात्म्य कमजोर हुँदै विस्तारै एक्लै रमाउने स्वाभाव बलियो बन्दै जान थालेको छ । कतिपय अवस्थामा अभिभावकहरूसँग भन्दा एक्लै हिँड्न–घुम्न रुचाउने, वयस्कहरूसँगको घुलमिलबाट टाढिने स्वाभावमा अझ बढोत्तरी हुँदै गएको छ । यहाँनेर सोच्नैपर्छ कि कतै यसले परिवर्तनका नियमहरूलाई झनझन् टेढो बनाउँदै त छैन ?

समाजसँग टाढिएर एक्लै रमाउने प्रवृत्तिले निम्याउने लागुऔषध दुर्व्यसन र कुलतबाट बालबालिकाहरूलाई जोगाउने कार्य अभिभावकहरूका लागि अझ चुनौतीपूर्ण बन्दै गएको छ । पछिल्ला तथ्याङ्हरू हेर्ने हो भने नेपालमा लागुऔषध दुर्व्यसनी किशोर–किशोरीहरूको संख्या दिनानुदिन बढ्दै छ । नेपालमा कूल एक लाख पचास हजार लागुऔषध दुर्व्यसनीमध्ये ६४ प्रतिशत युवायुवतीहरू रहेका र तीमध्ये ९ सय देखि १२ सयको हाराहारीमा सडक बालकालिका रहेको नार्कोनन नेपालको तथ्याङ्कले देखाउँछ । यी तथ्याङ्कहरू हेर्दा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न जनचेतनासँगै सोसम्बन्धी शिक्षालाई अझै ब्यवस्थित बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

तसर्थ, अबका दिनमा बालबालिका तथा किशोर–किशोरीहरूलाई कुलतबाट जोगाउन तथा उनीहरूको संवेगात्मक विकास र सामाजिकीकरणका लागि अभिभावकहरूलेमात्र होइन विद्यालयहरूमा पनि इन्टरनेट प्रयोगको निश्चित विधि र अनुशासन तय गरिनुपर्ने देखिन्छ ।

यो पनि हेरौँ–

मानवअधिकार, न्यायालय र अभिव्यक्ति स्वतन्त्रता
https://ghatanarabichar.com/148972