जात्रै जात्रा प्रदर्शनको नयाँ-नयाँ कीर्तिमान, वर्षाको वस्त्रको बेग्लै चर्चा !

जात्रै जात्रा प्रदर्शनको नयाँ-नयाँ कीर्तिमान, वर्षाको वस्त्रको बेग्लै चर्चा !


  • राजन घिमिरे, अष्ट्रेलिया

चलचित्र जात्रै जात्राले अष्ट्रेलियामा पाएको सफलता अभूतपूर्व देखिएको छ । साँच्चै लोभलाग्दो यो चलचित्रको सफलताले अष्ट्रेलियामा नेपाली चलचित्रको बजार झनै फराकिलो र फरासिलो बनाएको अनुभूति सबै सिनेप्रेमीले गरेका छन् ।

जात्रै जात्राको प्रदर्शनीमा सहभागी हुन सो चलचित्रका कलाकार र निर्देशक अष्ट यतिबेला अष्ट्रेलिया आइपुगेका छन्। अष्ट्रेलियाका विभिन्न शहरहमा गएर दर्शकहरूसँगै खुशी साट्ने क्रममा शुक्रबार चलचित्रको युनिटले सिड्नीमा रहनुभएका दर्शकमाझ बसेर चलचित्र हेरे । यो क्रम जारी रहने बताइएको छ ।

नेपालमा मात्र नभई यतिबेला चलचित्र जात्रै जात्राले प्रवासमा पनि भब्य प्रर्दशनको यात्रालाई सफलताका साथ अगाडि बढाइरहेको छ । नेपालको प्रर्दशनको क्रममा खुशी बाँड्न काठमाडौं र काठमाडौंबाहिर रहनुभएका दर्शकमाझ पुगेजस्तै यो चलचित्रको यूनिट सात समुन्द्रपारि रहनुभएका नेपाली चलचित्रप्रेमी दर्शकहरू माझ आइपुगेका छन् । यो चलचित्रको यूनिटले सात समुन्द्रपारिको यात्रा भने पछिल्लो समय नेपाली सिनेमाको राम्रो बजार मानिएको मूलुक अष्ट्रेलियाबाट शुरू गरेको छ ।

अष्ट्रेलियाका विभिन्न शहरहरूमा प्रदर्शन भइरहेको र अब हुने शोहरूमा दर्शकहरूसँगै बसेर यो चलचित्र हेर्नका लागि नेपालबाट जात्रै जात्राका निर्देशक प्रदीप भट्टराई, नायिका वर्षा राउत र कलाकारहरू विपिन कार्की र रविन्द्रसिंह बानियाँ अष्ट्रेलिया आइसकेका छन् । यो चलचित्रलाई हो र होइन होला इभेन्टस् र पप अप इन्टरटेनमेन्टले अष्ट्रेलिया भित्र्याएको हो ।

यो चलचित्रको थप शो सिड्नीमा जुन १, २, ३, ८ र ९, तास्मानियामा जुन ३ र ब्रिसबेनमा जुन ५ अनि क्यानभरामा जुन ७ का दिन हुनेछ भने ती प्रदर्शनहरूमा सम्बन्धित चलचित्रका कलाकारहरुको सहभागिता समेत रहने बताइएको छ ।

जात्रा जात्राको शुक्रबारसम्म अष्ट्रेलियामा २० शो भैसकेको छ भने अब १४ शो हुने पक्का भैसकेको बताइन्छ । यस हिसाबले हेर्ने हो भने अष्ट्रेलियामा नेपाली सिनेमाको प्रदर्शनमा यो चलचित्रले इतिहास लेख्ने पक्का देखिएको छ ।

त्यसो त यो बाहेक अन्य शो पनि थपिने सम्भावना बढेको छ । किनकि, यस चलचित्रको सिड्नीमा मात्र १० शो भैसकेको छ । नेपालजस्तै अष्ट्रेलियामा पनि चलचित्रले सफलता हात पारेपछि फिल्म युनिट निकै दंग देखिएको छ । ‘हामी अष्ट्रेलियामा रहनुभएका प्यारा दर्शकलाई भेट्न अष्ट्रेलिया आइपुगेका छौँ । अब उहाँहरूसँग बसेर चलचित्र हेर्न हामी विभिन्न शहरहरूमा आउँदै छौँ’, चलचित्रका कलाकार र निर्देशकले भने ।

चलचित्र प्रदर्शनीमा सहभागी हुन अष्ट्रेलिया आइपुगेकी अभिनेत्री वर्षा राउतको पहिरनको पनि निकै चर्चा भयो । दर्शकहरुले भनेको पनि सुनियो- ‘वाह ! मान्छे जस्तै अत्यन्त सुन्दर र सुहाएको पहिरन ।’

शुक्रबार (३१ मई) यो चलचित्रको सिड्नीको मुटु मानिने टाउन हलनजिक रहेको इभेन्ट सिनेमामा विशेष शो भएको छ । त्यही शोमा कलाकारहरूको उपस्थिति रहेको र दर्शकहरुले फिल्मकै कलाकारसँग बसेर चलचित्र हेर्न पाएकोमा खुशी ब्यक्त गरेको जानकारी हो र होइन होला इभेन्टसका रोशन भट्टराईले दिए ।

उता सिड्नी बाहेकका शहरहरुमा पनि यो चलचित्रको प्रदर्शन एकपछि अर्को गरी बढ्न थालेको छ । एडिलेट, मेलबर्न, तास्मनिया, ब्रिसबेन लगायतका शहरमा शो थपिने क्रम रहेको छ । सिड्नीमा मात्र दुई हप्तामा २२ सय दर्शकले हेरेको यो नै पहिलो चलचित्र हो । अझै ८ सय दर्शकले टिकट बुक गरिसकेका छन् भने एडिलेटमा पहिलोपटक आठौँ शो हुने भएको छ । सिड्नीको टाउन हलमा रहेको इभेन्ट सिनेमालाई ठूलो हलको रूपमा लिइन्छ, त्यही हलमा तेस्रो हप्तामा पनि यो चलचित्र हाउस फूल हुन पुगेको छ । यसभन्दा अगाडि कुनै पनि नेपाली सिनेमाले यस्तो सफलता हात पारेको जानकारी नभएको जानिफकारहरु बताउँछन् ।

यसैबिच सिड्नीवरपर रहेका र नेपालीहरूको बस्ती बाक्लिँदै जान थालेका शहरहरूबाट पनि यस चलचित्रको माग बढ्न थालेको बताइएको छ ।