देश बचाउने बहसको शुरुवात

  • डिल्लीराम अम्माई

केही साथीहरुबीच एक संवेदनशील विषयमा लगातार बहस चलिरहेको छ। त्यो बहस नेपालमा पनि चलेको छ भने डायस्पोरामा पनि । ‘मातृभूमिका लागि नेपाली’ नामक अभियानले एकखालको जागरण आन्दोलन शुरु गरेको छ। ‘के हो त यो अभियानको उद्देश्य ?’

साथीहरुको जिज्ञासा हो यो। ‘नाम हेर्दा अभियानको नाम जस्तो पनि छ, नारा जस्तो पनि छ । वास्तबमा यो ‘जयतु संस्कृतम्’ जस्तै एक अभियान हो। राष्ट्रिय स्वाधीनताको रक्षार्थ शुरु गरिएको एक नारा पनि हो।

पंक्तिकारले बुझेअनुसार अभियानको नाम र नारा दुवै हो। यो अभियानले नामलाई र नामले अभियानलाई आफैंमा समाहित गरेको छ, यथार्थ यही हो ।

अनौपचारिक बहसको क्रममा साथीहरुले यसका केही उद्देश्यमाथि प्रश्न उठाए। यो अभियानमा धर्म नजोडिदिएको भए हामी समाहित हुन्थ्यौँ भन्ने कुरा केहीबाट आयो। उनीहरुको कुरा र तर्क सुनियो। कारणमा उनीहरुले धर्म मानिसको आस्थाको निरन्तर आधार बन्न नसक्ने कुरा राखे। युरोपमा अघिल्लो चालिस दशक अगाडी चर्चहरु भरिभराउ हुने र ती चर्चहरु सुन्यप्रायः भएकोले धार्मिक मान्यता समेत परिवर्तनशील रहेको बताए। धार्मिक जडताप्रतिको विश्वासबाहेकका कुरामा मात्र सहमति हुन सक्ने कुरा राखे ।

‘साथीहरु, तपाईंहरुको कुरा अर्द्धसत्य हो। अहिले चर्चको अवस्था तपाईंहरुले भनेजस्तै सुन्यप्रायः छ। तर समाजभित्र, उनीहरुको राजनीतिक धारणाभित्र अझ गहनातामा जाँदा उनीहरुको मनोविज्ञानमा क्रिश्चियानिटीको गहिरो प्रभाव छ। उनीहरुको राष्ट्रियताको मूल नसो अझै पनि क्रिश्चियानिटी कल्चर हो, जसले उनीहरुको परिवार, समाज, राष्ट्र मात्र नभएर सिंगो संसारप्रतिको हेराइमा समेत बलियो प्रभाव पारेको छ। त्यसले उनीहरुको समाज, देश युनियन र क्रिश्चियानिटी कल्चरप्रतिको मनोवैज्ञानिक झुकावलाई मस्काएर कसेको छ। हामीले जति देखेका छौँ त्यो मात्र सत्य हैन।’

साथीहरुले फेरि अर्को प्रश्न थपे, ‘नेपाल र भारतको धार्मिक आस्थाको बाहुल्यता एउटै देखिन्छ तर किन भारतले नेपाललाई हेर्ने आँखा फरक छ ?’ उत्तर सरल तरिकाले दिन सकिने खालको होइन। ‘दुवै देशमा आस्थाको मुलधार हिन्दु वा ओमकार भएपनि हेर्ने दृष्टिकोणमा त्यसलाई प्रमुख आधार बनाइएको छैन । कारण, नेताहरुको स्वार्थले त्यो हुन पुगेको हो। नेपालमाथि भैरहेको सांस्कृतिक हस्तक्षेपमा नेपालका नेतृत्ववर्गको सोच गलत छ। त्यो रोक्न सकेका छैनन् । नेताहरुले आन्तरिक राष्ट्रियतालाई बलियो बनाउने आधारमध्ये एउटा धार्मिक मनोसुत्र हो भन्ने कुरामा विश्वास गर्न थाले भने बाह्य सांस्कृतिक अतिक्रमण रोकिने मात्र हैन भारतसँग जनता जनताबीच र सरकारसँगको सम्बन्ध पनि बलियो हुन्छ। त्यस प्रकारको सम्बन्धले हाम्रो राष्ट्रियता कदापि कमजोर हुँदैन।’ केही मित्रहरुले अभियानमा धार्मिक स्थिरताले सांस्कृतिक पक्ष र राष्ट्रिय एकतालाई मजबुत बनाउने कुरालाई पत्याएनन्।

साथीहरुलाई म के मात्र आग्रह गर्छु भने ‘पश्चिमाहरुको पवित्र स्थान भ्याटिकनमा बेरोजगार भैरहेका पादरीहरुलाई अल्पविकसित देशहरु, अझ भन्दा सामरिक महत्वका देशहरुमा पठाउनुको मूल उद्देश्य हाम्रो धर्म विस्थापनको लागि मात्र हैन, सांस्कृतिक विरासत र राष्ट्रियताको हत्याको लागि समेत हो । संसारका अत्याधिक मौलिक परम्परा सभ्यताको विकासक्रमसँगै उत्पत्ति भएका धार्मिक आस्था तथा रहनसहनका उपज हुन्। त्यो सत्य हो। जबसम्म जनतामा आफ्नो पुर्वाजहरुको आस्था,आफ्ना मौलिक सांस्कृतिक विरासतप्रतिको मोह सकिँदैन तबसम्म त्यो देशका मानिसको स्वाभिमान, माटोप्रतिको मोह र समुदायमा बोलिने भाषाबाट च्युत गराउन मुस्किल पर्दछ। त्यसैले परचक्रिहरुको पहिलो प्रहार भाषा मात्र नभएर धर्मसमेत हुने गर्दछ। मौलिक आस्थाबाट हाम्रो भाषा, हाम्रा रहनसहन, चाड पर्व र व्यक्तिगत तथा सामाजिक जीवनपद्धति निःसृत हुन्छ। धर्मले ती सबै कुराको मनोवैज्ञानिक नेतृत्व गरिरहेको कुरा फिरंगीहरुले राम्रोसँग बुझेका छन्। उनीहरुले धेरै कालको अथक प्रयोगबाट यो कुरा बुझेका छन्। त्यसैले कुनै पनि राष्ट्रको मौलिकतासँग उनीहरुको पहिलो दुश्मनी हुन्छ। जुन स्वतः भाषा, धर्म र संस्कृतिसँग जोडिएर आउँछ।’

अत: यो अभियानमा धर्म रहरले राखिएको हैन । तराई र पहाडलाई जहिल्यै अलग हुनबाट रोक्ने आधार भनेको धर्म हो। धर्मबाहेक त्यस्तो अर्को कुनै सुत्र छैन। जुन कुरा हामीले धर्मलाई निरपेक्ष रुपमा हेरे पनि स्विकार्न बाध्य हुनुपर्छ। यो विषयमा प्रतिप्रश्न नआएकोले आज साथीहरुले यो उत्तरको पक्कै समर्थन गरेहोलान् भन्ने लागेको छ। राष्ट्रियताको बहसलाई सार्थक रुपमा लैजान सकियो भने ‘नेपालको राज्यसत्तामा भएका नेताहरुले परचक्री धार्मिक स्कुलबाट विद्यावारिधि थाप्न छोड्ने छन् । उनीहरुका अभियान भन्दा आफ्नै मौलिक परम्परा उन्नत र राम्रो लाग्दै जानेछ। र, हाम्रो देश सनातनकालदेखि अनन्तकालसम्म पराधीन हुन पाउने छैन भन्ने लागेको छ।

यो अभियान दबाब अभियानमा मात्र सिमित रहन्छ कि राजनीतिक शक्तिमा रुपान्तरित हुन्छ ? यो बहसको अर्को प्रश्न हो । राष्ट्रियता, न्यायिक समाज, भ्रष्टाचारको छानबिन र कारवाही, परिपक्व कुटनीति, वातावरणमैत्री धर्मसापेक्ष राज्य सबै अन्तरसम्बन्धी विषय हुन्। ती सबैको सन्तुलनबिना राज्य राज्यजस्तो, राष्ट्रियता स्वाधीन र आत्मसम्मानपूर्ण, जनहितकारी र न्यायिक रहन सक्दैन। जनताभन्दा परचक्रीको भावना बोक्ने नेतृत्वबाट समृद्धि सम्भव छैन। त्यसैले यो अभियानले आफ्ना योजनाहरु पूरा गर्न गराउन राजनैतिक अभियान चलाउन पनि सक्छ। तर अहिलेसम्म यो नागरिक जागरण अभियान हो। भोलिको कुरा त्यो बेलाको अवस्था, जनाताको माग र आवश्यकताले निर्धारण गर्दछ। जयन्तु मातृभूमि ! (क्रमशः)

प्रतिक्रिया