तातोपानी नाका चाँडै खुल्छ : गृहमन्त्री थापा

तातोपानी नाका चाँडै खुल्छ : गृहमन्त्री थापा


गृहमन्त्री रामबहादुर थापाले नेपाल–चीन सिमानामा पर्ने सिन्धुपाल्चोकको तातोपानी नाका चाँडै नै संचालनमा आउने बताएका छन् । उनले तयारी अन्तिम चरणमा पुगेकोले दुबै देशबीच नाका खोल्ने सहमति भएको उनको भनाई थियो ।

गृहमन्त्री थापाले तातोपानीस्थित लार्चामा नवनिर्मित सुक्खा बन्दरगाह र सीमा पुलको समेत निरिक्षण गरेका छन् । ‘बन्द नाका चाँडै खुल्छ ।’ उनले भने, ‘यहाँबाट हुने तस्करी तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन समेत दिइसकेको छु । अब नाका खोल्ने विषयमा कुनै अन्योल छैन् ।’


यसै क्षेत्रका सांसद अग्नि सापकोटाले पनि बन्द नाका खोल्न प्रयास भइरहेको बताए । उनले पूर्बाधार निर्माणको काम तिब्र भइरहेकोले अब नाका चल्न कुनै समस्या नभएको तर्क गरे ।

भूकम्पका कारण विगत चार वर्षदेखि बन्द तातोपानी नाका खुलाउन पूर्वाधारको काम तीव्रगतिमा भइरहेको छ । अत्याधुनिक सुक्खा बन्दरगाहको काम सम्पन्न भइसकेकोे छ भने सीमापुलको काम पनि छिटफुटबाहेक प्रायः सम्पन्न भइसकेको छ । अरनिको राजमार्गको बसेरीदेखि सीमापुलसम्म चीन सरकार र त्यहाँदेखि यता बाह्रबिसेसम्मको सडक डिभिजन कार्यालय दोलखाले निर्माण गरिरहेको छ । इञ्जिनीयर प्रदीप निरौलाका अनुसार बाह्रबिसेको खुर्सानीबारीस्थित साधिखोलामा गत भदौको बाढीले बगाएको पक्कीपुलको ठाउँमा बेलिब्रिज राख्ने काम सम्पन्न भइसकेको छ ।


यता, व्यसायीहरु पनि नाका संचालनमा आउने भएपछि निकै खुसी छन् । तातोपानी नाका लामो समयसम्म बन्द हुँदा सास्ती खेपेका व्यवसायीहरुले अब नाका संचालनमा आउने भएपछि राहत मिलेको बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले तातोपानी नाकामा निर्माण गरिएको सुख्खा बन्दरगाहले व्यवसायीलाई सजिलो बनाउने बताए । शनिबार महासंघले तातोपानी नाकाको अवलोकन गरेका थिए ।