ऊर्जामन्त्री पुन र राष्ट्रसङ्घका उपमहासचिवबीच भेटवार्ता, सहकार्य र दिगो विकासबारे छलफल

ऊर्जामन्त्री पुन र राष्ट्रसङ्घका उपमहासचिवबीच भेटवार्ता, सहकार्य र दिगो विकासबारे छलफल


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव लिउ झिन मिनबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा उनिहरुबीच भएको भेटवार्तामा ऊर्जा क्षेत्रमा सयुक्त राष्ट्रसङ्घ र नेपाल सरकारबीच गर्न सक्ने सहकार्य र दिगो विकासको बारेमा छलफल भएको मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

भेटमा मन्त्री पुनले नेपालले ऊर्जाको पहुँचलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सरकारले राखेको भन्दै त्यसका लागि काम अघि बढिरहेको समेत भेटमा बताए ।

अमेरिकाको न्यूयोर्कमा शुक्रबार राष्ट्रसङ्घीय फोरमलाई सम्बोधन गरेपछि मन्त्री पुनले उपमहासचिवसँग भेटवार्ता गरेका थिए । भेटमा मन्त्री पुनले नयाँ संविधान जारी भएसँगै देशमा स्थिर सरकार बनेको र अहिले दिगो विकासको लक्ष्यसहित सामाजिक–आर्थिक विकासको बाटोमा अगाडि बढेको धारणा राखे ।

मन्त्री पुनले सफा ऊर्जाबाट आयातित पेट्रोलियम घटाउँदै जाने नेपालको लक्ष्य रहेको उल्लेख गर्दै अहिले निर्माण भइरहेका जलविद्युत् परियोजनाबाट यस क्षेत्रमा महत्वपूर्ण प्रगति भइरहेको जानकारी गराए । उनले दिगो विकास लक्ष्यमा समेटिएको ऊर्जासम्बन्धी लक्ष्यलाई पूरा गर्न सरकारले कार्यक्रममै राखेर उच्च प्राथमिकताका साथ अघि बढाएको बताए ।

भेटमा राष्ट्रसङ्घका उपमहासचिव झिन मिनले नेपालको ऊर्जा र जलविद्युत्को क्षेत्रको ठूलो सम्भावना रहेको भन्दै संयुक्त राष्ट्रसङ्घको आर्थिक, सामाजिक तथा विकास परिषद् सहकार्य गर्न इच्छुक रहेको धारणा राखे । उनले ऊर्जा क्षेत्रमा पनि नेपालले गरिरहेको प्रगतिको प्रशंसा गर्दै राष्ट्रसङ्घ नेपाल सरकारसँग नजिक रहेर काम गर्न इच्छुक रहेको समेत बताए ।