अष्ट्रिया जाँदै उपराष्ट्रपति पुन

अष्ट्रिया जाँदै उपराष्ट्रपति पुन


उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार बिहान त्यसतर्फ जाँदै छन् ।

उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन जान लागेका उनका प्रेस संयोजक मनोज घर्तीमगरलाई उद्धृत गर्दै राससले जनाएको छ ।

उनी कतार एयरवेजको विमानमार्फत आइतबार बिहान ९ः२० बजे दोहा हुँदै अष्ट्रिया प्रस्थान जानेछन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी हुनेछन् ।

अष्ट्रिया भ्रमणका क्रममा उपराष्ट्रपति पुनले जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्ने जनाइएको छ । भ्रमणका क्रममा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनसँग शिष्टाचार भेट गर्ने प्रेस संयोजक मगरले बताएका छन् ।

उपराष्ट्रपति पुन भियना अन्तर्राष्ट्रिय केन्द्रको ४०औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । अष्ट्रियामा रहँदा उपराष्ट्रपतिले अष्ट्रियास्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा समेत सहभागी हुनेछन् ।

भ्रमणका क्रममा उनले अष्ट्रियामा रहनुभएका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । उनी भ्रमण सकाएर जेठ १८ गते स्वदेश फर्कने छन् ।

संयुक्त राष्ट्रसङ्घको दीगो विकासको लक्ष्य र पेरिस सम्झौताका जनादेश हासिल गर्न सहयोग हुने गरी अष्ट्रियामा हरेक वर्ष यो सम्मेलन हुँदै आएको छ । सम्मेलनमा विभिन्न मुलुकका राष्ट्रपति, उपप्रमुख तथा प्रधानमन्त्री सहभागी हुने छन् ।