जुम्लीलाई कालीमार्सी धान लगाउने चटारो

जुम्लीलाई कालीमार्सी धान लगाउने चटारो


कालीमार्सी चामलको भातभन्दा धेरैको मुख रसाउने गर्दछ । कारण सबैको मुखमा जुम्लामा पाइने मार्सी चामलको स्वाद झुण्डिएको छ ।

कालीमार्सी चामलको माग बजारमा धेरै हुन थालेपछि हिमाली जिल्ला जुम्लाका किसान यसको खेतीमा तल्लिन छन् । नेपालको उच्च स्थान अर्थात समुन्द्र सतहबाट २८ सय ५० मिटरको उचाईमा फल्ने कालीमार्सी धान उत्पादन गर्न यहाँका किसानलाई यतिबेला भ्याईनभ्याँई भएको छ ।

जुम्लाको चन्द्रनाथ नगरपालिका, कनका सुन्दरी गाँउपालिका, सिन्जा गाँउपालिका, हिमा गाँउपालिका, तिला गाँउपालिका, गुठीचौर गाउँपालिका, तातोपानी गाँउपालिका, पतारासी गाँउपालिकामा रहेका कृषकहरु हिजोआज कालीमार्सी धान रोप्नको लागि बिहानैदेखि खेतबारीमा व्यस्त देखिएका छन् ।

जुम्लामा बिशेषगरी स्थानिय रैथाने कालीमार्सी धान, चन्द्रथान १, चन्द्रनाथ ३, छुमरुम जातको धान रोप्ने चलन छ । जिल्लाको २ लाख ५३ हजार १ सय हेक्टरमध्ये ३ हजार १ सय ५४ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ ।

हिजोआज बस्ती बिस्तारका कारण खेतीयोग्य जमिन माँसिदै आएको जुम्ला कृषि ज्ञान केन्द्रका प्रमुख अधिकृत बालराम देवकोटाले बताए ।

जुम्लाको पहिचान बोकेको कालीमार्सी स्थानिय रातो जातको धान लोप हुदै गहिरहेको छ । कुनै बेला शाहबंशी राजाहरुले जुम्लाको स्थानिय कालीमार्सी रातो धानको चामल हुलाकमार्फत झिकाएर नारायणहिटी दरवारमा पुग्ने गरेको जानकारहरु बताउँछन् ।

पछिल्लो समय विकासे जातको धान फस्टाउँदै गएको र यूरीया मलका कारण विगतको तुलनामा उत्पादन खस्कँदै गएको किसानको गुनासो छ । कालीमार्सीको माग उच्च भएपनि उत्पादन कम भएको कनकासुन्दरी– ४ की शान्ति खत्रीले बताइन् ।