गत चुनावी हारको बदला आगामी निर्वाचनमा लिइने !

गत चुनावी हारको बदला आगामी निर्वाचनमा लिइने !


  • हेमशंकर सिंह, राजविराज

नेपाली कांग्रेसको जागरण अभियानअन्तर्गत सप्तरीको रुपनी गाउँपालिकास्थित कटैयामा शुक्रबार आमसभा सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले पार्टीले थालेको जागरण अभियानलाई मजबुती हिसाबले बढाउन आफूहरु लागिपरेका बताए । सबै परिवर्तन र जनताको आकांक्षा अहिलेसम्म कांग्रेसकै नेतृत्वमा भएको भन्दै निधिले पछिल्लो चुनावमा कांग्रेसले ब्यहोर्नुपरेको पराजयको बदला अब आउने चुनावबाट लिनुपर्नेमा जोड दिए ।

केपी ओली प्रधानमन्त्री भएदेखि संविधानविरोधी मात्रै काम गरेको आरोप लगाउदै निधिले मधेस र पहाडकालागी पनि केही नगरेकोले पहाडका जनता पनि कम्यूनिष्टलाई बुझिसकेको दाबी गरे ।

स्थापनाकालमा पार्टीको नाम मधेसी राखेर मधेसी समुदायलाई रिझाउने कथित मधेसवादी दलहरुलाई अहिले मधेसी नाम किन फ्याँक्नुपऱ्यो भनी प्रशन गदै निधिले मधेस–तराई, पहाड र हिमालका जनताहरुको सुखदुख बुझ्नै पार्टी नेपाली कांग्रेस मात्रै भएको ठोकुवा गरे ।

कार्यक्रममा कांग्रेस नेतृ एवं प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले काण्डै काण्डमा फसेको ओली सरकारले निर्मला काण्ड र सुनकाण्ड जस्ता काण्डहरुको समाधान ओली सरकारले गर्न सकेको आरोप लगाइन् । मधेसवादी भनेका दलहरु अब मधेसवादी नरहेका भन्दै उहाले कांग्रेसले नै मधेसका माग अनुसार संविधान संशोधन गराउने दाबी गरिन् ।

केन्द्रीय सदस्य एवं अभियानका लागि सप्तरीका केन्द्रीय प्रतिनिधि महेन्द्र यादवले मधेसवादी भनेका दलहरु जनताको लाशमाथि राजनीति गरेर सत्तामा पुगेको आरोप लगाए ।

मधेसमा पहाडीलाई गाली गर्ने उपेन्द्रहरु काठमाडौंमा उही पहाडीसँग बसेर सत्तामा डुब्छन् भन्दै उनले अगाडि भने, यिनीहरुसँग कुनै राजनीति सिद्धान्त छैन । केन्द्र र प्रदेश २ सरकारका मन्त्रीहरु भ्रष्टाचारमा चुर्लुम डुबेकोआरोप लगाउदै यादवले भने प्रदेश २ को अझ नाम र राजधानी तोक्न नसक्ने सरकार एनजिओ चलाएर मात्र बसेको छ ।

नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति ४ को क्षेत्रिय सभापति रामप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न सो सभालाई प्रदेश सभा सदस्य मोहम्मद समिम, प्रतिनिधि सभा सदस्यका प्रत्यासी उम्मेदवार रामदेव साह, काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादव सहितका बक्ताहरुले सक्बोधन गरे । सभाको सञ्चालन कांग्रेसका यूवा नेता भुपेन्द्र यादवले गरेका थिए ।