बेलायती प्रधानमन्त्री टेरेसा मेईको राजनीतिक अवसान

बेलायती प्रधानमन्त्री टेरेसा मेईको राजनीतिक अवसान


  • प्रकाश केसी (लण्डनबाट)

बेलायती प्रधानमन्त्री टेरेसा मेईले आउँदो जुन महिनाको ०७ तारिखदेखि प्रधानमन्त्रीको पदबाट राजीनामा दिने भएकी छिन् । सन् २०१६ को जुलाई १३ तारिखबाट तत्कालीन प्रधानमन्त्री डेबिड क्यामरुनको राजीनामापछि बेलायतको प्रधानमन्त्रीको पदपूर्ति गरेकी मेई सन् २०१० मे १२ देखि तबसम्म उनै प्रधानमन्त्री क्यामरुनको सरकारमा होम सेक्रेटरीको भूमिका सफलताका साथ निभाएकी थिइन् ।

सन् २०१६ को २३ जुनमा भएको जनमत संगहको नतिजापछि बेलायत पूर्ण रुपले दुई भागमा विभाजित भएको थियो । बेलायती नागरिकमा युनियनभित्र रहने वा नरहने भन्नेमा लगभग आधा–आधाको रुपमा विभाजित भए तापनि ती नागरिकलाई नेतृत्व दिने सांसदहरुको संख्या भने युनियनभित्र रहनेमा बहुमतको रहेको थियो । जनताको चाहनालाई पूरा गर्नुपर्ने कार्यमा छानिएकी प्रधानमन्त्री मेईलाई सो अवस्थामा उक्त पद अत्याधिक मुस्किलको मानिएको थियो ।

२०१९ को मे २९ तारिखमा विधिवत रुपमा युरोपियन युनियनबाट बेलायतलाई सहमतिसहित अलग गराउन लागीपरेकी प्रधानमन्त्री मेईले अगभग आधा दर्जनपटक आफूले ल्याएकी सहमतिको प्रारुपलाई सच्याएर ल्याउँदा पनि सदनबाट पारित भएको थिएन । बेलायतको इतिहासमा अति नै विषम परिस्थितिमा पनि युनियनसँग बेलायत छुट्टिनको लागि बहुमतले सहमति ल्याउँछु भने लागेकी मेईको सो दृढतालाई जति नै प्रशंसा गरे पनि कमी नै हुन्छ । हुन त केहीले उनको त्यही दृढतालाई जिद्दीपना पनि भनेका छन् तर देशको लागि अलिकति झुकेर, केही त्यागेर युनियनसँग सहमत हुने सक्ने बाटो खोज्न लागीपरेकी मेई प्रशंसालायक नै रहिन् ।

आफ्नै सरकारमा हंग पार्लियामेन्टअन्तर्गत रहेको नर्दन आयरल्याण्डको डीयूपीले अन्त्यमा साथ नदिनु र आफ्नै पार्टीबाट पनि पर्याप्त सहयोग नमिल्नु नै मेईको राजनीतिक अवसानको जड मानिएको छ । एकताका आफ्नो भाषणमा उनले भनेकी थिइन्–‘… बेलायती राजनीतिमा वर्तमान समस्याको मूल कारकको रुपमा साँसदहरु नै भएका छन्….’, जसको सर्वत्र आलोचना भएको थियो । तथापि प्रधानमन्त्री मेईले अत्यन्तै सही भनेकी थिइन्, बेलायती नागरिकको बहुमतले बाहिरिनेमा भोट दिएका भए तापनि तिनीहरुलाई अगुवाइ गर्ने नेताहरुचाहिँ व्यक्तिगत रुपमा युनियनमा रहनेमा भोट हालेका थिए ।

बेलायतको इतिहासमा दोस्रो महिला प्रधानमन्त्रीको रुपमा २०१६ को जुलाईदेखि २०१९ को जुनको ०७ सम्म बेलायतको असमन्जस अनि धुमिल राजनैतिक समयमा सरकार चलाउने टेरेसा मेईको योगदानलाई नजरअन्दाज गर्न सकिँदैन । जुन शैलीले उनको योजनाहरुको विरोधमा विपक्ष तथा आफ्नै पार्टीसहित आफ्नै सरकारको एक अङ्ग पनि विरोधमा रहेको अवस्थामा पनि यति लामो समयसम्म पदमा नै टिकिरहनुमा उनको विकल्पमा आउन सक्ने अनि आउन चाहने नेताहरुको कमी मानिनु नै प्रधानमन्त्री मेईको कामको प्रकृति, जिम्मेदारी अनि विषम समयको ज्ञात हुन्छ र त्यसर्थ मेईको दृढताको, लगनशीलताको अनि तत्परताको सकारात्मक रुपले चर्चा चल्दछ ।

१९९७ देखि बेलायती राजनीतिमा प्रवेश गरेकी मेईले आफ्नो सम्पूर्ण राजनीतिक जीवन निकै गम्भीर, दुढ अनि स्वच्छ नेत्रीको रुपमा आफूलाई स्थापित गराएकी छिन् । जुलाई २०१६मा तत्कालीन प्रधानमन्त्री क्यामरुनको उत्तराधिकारीको रुपमा उनी सर्व सम्मतीबाट छानिएकी घटनालाई आधार मानेर सो भन्न सकिन्छ । बेलायतलाई अत्यन्तै माया गर्ने नेताहरुमा एक नेताको रुपमा आफूलाई मान्ने प्रधानमन्त्री मेई आजको आफ्नो घोषणाको अन्त्यमा आफ्नो रोदन लुकाउन सकेकिथिईनन् । मश्किल परिस्थितिमा मुश्किल किसिमले सरकार चलाउन वाध्य रहेकी टेरेसा मेईको यसैसाथ सक्रिय राजनैतिक जीवनको अवसान भएको पक्का भएको छ ।

आगामी जुलाईभित्र बेलायतले नयाँ नेतृत्व पाउने भएको छ र सम्भवत, देश आम निर्वाचनको गएन भने आगामी प्रधानमन्त्री बोरिस जोन्सन हुने लगभग पक्का छ । बेलायतलाई जनमत संग्रहमा मुख्य रुपले युनियनबाट अलग्याउनको लागि नेतृत्व गरेका जोन्सन पछिल्लोपटक युनियनबाट कुनै सहमतिबिना नै बेलायतलाई अलग्याई डब्लू टी ओअन्र्तगत् लानेमा पक्का मानिएका छन्, जो भावलाई सदनबाट बहुमतले वहिष्कार गरिसकेको छ तर टेरेसा मेई (जो युनियनको पक्षधर थिइन्)ले ल्याएकी तर बाराम्बार सदनमा बहिष्कृत भइसकेको सहमतिको खाकालाई बोरिसले नयाँ ढँगले सच्याएर ल्याउनेछन् भन्नेमा विश्वास गर्न सकिँदैन र सहमतिबिना बेलायतलाई अलग्याउन उनी नयाँ प्रधानमन्त्री सक्षम हुनेछन् भन्नेमा पनि शँका गर्न सकिन्छ, तब विपक्ष नेता जेरेमी कोर्विनले चाहेअनुसार मुलुक आम निर्वाचनमा जान सक्नेमा अचम्म मान्न सकिँदैन ।