सरकारसँग बदला लिने विप्लवको चेतावनी

सरकारसँग बदला लिने विप्लवको चेतावनी


नेपाल कम्युनिस्ट पार्टीले ‘विप्लव’ समूहले दोहोरो भिडन्तको नाममा आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको हत्या गरेको आरोप लगाएको छ । उसले विज्ञप्ति जारी गर्दै घिमिरेको हत्याको बदला लिने चेतावनी पनि दिएको छ ।

महासचिव विप्लवद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भिडन्तको नाममा हत्या गरेको छ । उसले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन् ।’

विज्ञप्तिमार्फत उसले सरकार आफ्नो पार्टीमाथि चरम यातनासम्मका हर्कतमा उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेष्टा गरेको आरोप लगाएको छ ।

विज्ञप्तिमा जेठ १० देखि १३ गतेसम्म विरोधका विभिन्न कार्यक्रम गरिने उल्लेख छ जसमा सरकारको भण्डाफोरदेखि नेपाल बन्दसम्मका कार्यक्रम समेटिएको छ । विज्ञप्तिमा उल्लेख गरेअनुसार जेठ १० र ११ गते सरकारविरुद्धको भण्डाफोर र कोणसभाका कार्यक्रम राखिएका छन् भने १२ गते देशव्यापी रूपमा मसाल जुलुस र १३ गते नेपाल बन्दको घोषणा गरेको छ । कार्यक्रम सफल पार्न उसले सबैसँग अपिल पनि गरेको छ ।