हतियारसहित आठ भारतीय डाँका पक्राउ

हतियारसहित आठ भारतीय डाँका पक्राउ


हतियारसहित आठजना डाँकालाई जनकपुरधाम उपमहानगरपालिका–८ बिहारकुण्डस्थित जानकी बिहारबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा पक्राउ गरिएका डाँकालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

जानकी विहारका महन्त नारायण शरणको बासस्थानमा नगद र मन्दिरमा रहेको सुनचाँदीलगायतका गरगहना डकैती गरी लुटी लैजाने उद्देश्यले भारतको बिहारबाट भारतीय नम्बर प्लेटको २ मोटरसाइकल तथा एक स्कुटरमा आठजनाको आपराधिक समूह हातहतियारसहित स्थानीय लभ्ली होटेलमा बसी रातिको समयमा डाँका गर्दै छन् भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि गएराति ९ः१५ बजेको समयमा प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले डाँकालाई घेरा हाली नियन्त्रणमा लिइएको जनाइएको छ ।

नियन्त्रणमा लिन खोज्दा डाँकाहरूले हतियार फायर गरी भाग्ने क्रममा प्रहरीका तर्फबाट समेत पेस्तोलद्वारा फायर हुँदा भारत बिहार प्रदेशको समस्तीपुर जिल्ला बस्ने २४ वर्षीय रवि मलिक डोम गोली लागी घाइते भएपछि उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलबाट घाइतेसहित सातजनालाई नियन्त्रणमा लिइएको र लभ्ली होटेलमै बसेर वारदातपछि स्कुटर चढी फरार भएका भारत विहार मधुवनी साहरघाटका ३८ वर्षीय पप्पु भन्ने सञ्जयकुमार साह सुमनलाई महोत्तरी जिल्लाको मटिहानीबाट पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

पक्राउ हुने अन्य डाँकामा भारतको समस्तीपुर जिल्ला सिमरी–८ का विद्यापति नगरका २० वर्षीय साहिल रजक, सोही ठाउँका २८ वर्षीय सुजितकुमार राय, ३० वर्षीय अमितकुमार सिंह, २० वर्षीय अमितकुमार यादव र मधुवनी जिल्ला साहरघाटका ३२ वर्षीय रञ्जितकुमार भगत रहेका छन् ।

घटनास्थलबाट दुई राउन्ड गोली लोड गरिएको पेस्तोल एक नाल, दुई राउन्ड एसएलआरको गोली, कटुवा पेस्तोल एक नाल, खुकुरी एक थान, भारतीय नम्बर प्लेटको स्कुटर थान एक र मोटरसाइकल थान दुईसमेत बरामद गरिएको जनाइएको छ ।