ओमानमा आयोजित फैमिली कार्निभलमा झल्कियो नेपाली राष्ट्रियता

ओमानमा आयोजित फैमिली कार्निभलमा झल्कियो नेपाली राष्ट्रियता


  • आरके श्रीवास्तव, ओमान

ओमानको एक स्थानीय संस्था द्वारा आयोजित फैमिली कार्निभलमा नेपाली राष्ट्रियता झल्किने सामग्रीहरू प्रदर्शनी गरिएको छ । राजधानी मस्कटस्थित अल बहज सेन्टरमा भएको कार्यक्रममा नेपाली समुदायको तर्फबाट राष्ट्रिय झण्डासहित उपस्थिति जनाइएको थियो ।

हिजो राति (२२ मे २०१९ बुधबार) यहाँको सामाजिक संस्था सोसल डेभलपमेन्ट कमिटी शिवद्वारा आयोजन गरिएको कार्यक्रममा, गैरआवासीय सोसल क्लब ओमानको मातहतमा स्टल राखिएको थियो । बेलुकी ७ बजेदेखि ११ बजेसम्म भएको फैमीली कार्निभलमा राखिएको स्टलमा विभिन्न नेपाली सांस्कृतिक, पर्यटन, खानाको परिकार, बाजागाजा लगायत राष्ट्रियता झल्किने खुकुरी, भगवान गौतम बुद्ध र सगरमाथाको तस्बिरसहित महत्त्वपूर्ण सामग्री राखि प्रदर्शनी गरिएको थियो ।

पर्यटन वर्ष नजिकै गर्दा यस्ता प्रदर्शनीले ओमानी पर्यटकलाई नेपाल भित्र्याउन सहयोग मिल्ने अपेक्षा रहेको क्लबले जनाएको हो । कार्यक्रममा इजिप्ट, जोर्डन, इराकसहित अन्य देशको पनि स्टलहरू राखिएको थियो । यस अवसरमा दर्जनौँ नेपालीहरूको सहभागिता रहेको एनआरएन सोसल क्लब, ओमानका अध्यक्ष दिपक श्रेष्ठले जानकारी गराए ।