रक्सी, चुरोट र सुर्ती सेवन नगर्ने दार्चुलाका जनप्रतिनिधि र कर्मचारीको प्रतिबद्धता

रक्सी, चुरोट र सुर्ती सेवन नगर्ने दार्चुलाका जनप्रतिनिधि र कर्मचारीको प्रतिबद्धता


दार्चुलामा कार्यरत जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूले रक्सी, चुरोट र सुर्तीजन्य वस्तुबाट टाढै रहने प्रतिबद्धता जनाएका छन् । आफ्नो स्वास्थ्यप्रति पूर्ण जिम्मेवारी रहने भन्दै दशबुँदे प्रतिबद्धताअन्तर्गत यस्तो प्रतिबद्धता जनाएका हुन् ।

स्वास्थ्य कार्यालय दार्चुलाले आयोजना गरेको राष्ट्रिय रक्तचाप जाँच अभियान कार्यक्रममा उनीहरूले आफ्नो स्वास्थ्यप्रति जिम्मेवार रहेको भन्दै स्वास्थ्यको जिम्मेवारी आफँै लिन दशबँुँदे प्रतिबद्धता जनाएका हुन् । दशवटा प्रतिबद्धताअन्तर्गत म स्वस्थ र पोषिलो खाना खान्छु, म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थबाट टाढै रहन्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु र म नियमित व्यायाम गर्छु जस्ता प्रतिबद्धता गरिएको छ ।

यस्तै म तनावरहित जीवनशैलीलाई आत्मसात् गर्छु, म प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु, म ट्राफिक नियमको पालना गर्छु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु तथा म स्वास्थ्यलाई प्रतिकूल हुने खालका बालविवाह छाउपडीजस्ता सामाजिक कुरीति, कुसंस्कारहरू अनुशरण गर्दिनँजस्ता प्रतिबद्धता गरिएको छ ।

यसैगरी म हिंसा तथा भेदभाव गर्ने छैन, कसैले हिंसा तथा भेदभाव गरेको थाहा पाएमा त्यसको प्रतिकार गर्नेछु भन्दै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

स्वास्थ्य कार्यालयले प्रतिबद्धता कार्यक्रमका लागि सदरमुकाम खुलामञ्चबाट करिब डेढ किलोमिटर दौड कार्यक्रम गरी प्रतिबद्धता गराएको छ ।

यस्तै कार्यक्रममा सहभागी जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारीहरूको रक्तचाप परीक्षण गरिएको छ । मर्निङवाक गराएपछि उनीहरूको रक्तचापको अवस्था बुझ्नका लागि कार्यक्रमका सहभागीको रक्तचाप परीक्षणको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख शिवराज सुनारले बताए । पछिल्लो समय मानिसको दैनिकी, खानपिन रहनसहन फेरिएको छ । जीवनशैलीमा आएको परिवर्तनका कारण स्वास्थ्यमा ठूलो लगानी खर्च भइरहेको छ । बिरामी भइसकेपछि हुने खर्च कम गर्नको निमित्त पनि यस्ता सन्देश प्रवाह हुने कार्यक्रम गरिएको उनको भनाइ छ ।