रविलाई किन गरियो पर्खालको घेराबन्दी ?

रविलाई किन गरियो पर्खालको घेराबन्दी ?


  • राजन घिमिरे, अष्ट्रेलिया

चर्चित सञ्चारकर्मी रवि लामिछानेसँग पङ्क्तिकारको संगत तीन दशक नाघ्यो । प्रकारान्तरले भन्नुपर्दा हामी बालसखा हौँ । घर–गाउँ वा आँगन एउटै, कर्मक्षेत्र पनि उस्तै । मित्रवर्ग मध्ये कैयनलाई यो कुरा नौलो या गफजस्तो लाग्न सक्छ, तर यो वास्तविकता हो । रेडियो नेपाल र नेपाल टेलिभिजनका बाल कार्यक्रमदेखि ‘टवाक्क–टुक्क’मा गरिएका अभिनयसम्मका साक्षी र प्रमाण छन् । रवि यतिबेला ‘हिट’ छन् र, पङ्क्तिकारले उनसँगको सामिप्यता दर्शाएर कुनै विशेष लाभ लिनु छैन, त्यस्तै सन्दर्भ सृजना भएका कारण मात्र यो उल्लेख गर्नु आवश्यक ठानिएको हो ।

यो प्रसङ्गलाई यहीँ थाती राख्दै खास सन्दर्भतिर लागौँ । यस लेखोटमा कुनै ब्यक्तिगत इगो वा छलकपट नभई प्रवासमा पत्रकारिताको नाममा हुर्कंदै गरेको ‘निषेध’को सोच, गलत शैली र नमिठो संस्कारबारेमा यो लक्षित छ । अग्रजहरूप्रति जसले यस्तो शैली अपनाइरहेको छ, आगामी दिनमा यस्तो ब्यवहार नगरून्, गर्नै हुन्न भन्ने आसयबाट यो टिप्पणी गरिएको हो ।

सन्दर्भ– रवि लामिछानेलाई नेपालबाट सिड्नी ल्याई शुक्रबार (२४ मे, २०१९) सिड्नीकै एक मिडियाले आयोजना गर्न लागेको कार्यक्रमको हो । मित्र रवि आफ्नो कार्यक्रम–टोली र धर्मपत्नीका साथ सिड्नी आउने कुराले पङ्क्तिकारको मन पनि फुरुङ्ग थियो । आफू पनि सिड्नीमै रहेको बेला पुराना मित्रसँगको भेटघाट साँच्चै रमणीय हुने सोचेको थिएँ । रविलाई सिड्नीबाट फोन गर्दा विवाहको चाँजोपाँजो मिलाउन ब्यस्त रहेको जानकारी पाएको थिएँ ।

‘म पनि आउँदैछु है सिड्नी, भेटेर रमाइलो गर्नु पर्छ’ भनेका थिए उनले । रविले यति भनेपछि नेपालमा निकै ब्यस्त रहने रविसँग प्रवासको क्षण साँच्चै अविष्मरणीय हुने कुराले झनै उत्साहित भएँ म । २४ तारेखको कार्यक्रमका लागि रवि २३ तारेख सिड्नीको एअरपोर्टमा ओलर्ने कार्यक्रम थियो । उनलाई सिड्नीमा गरिने स्वागत र उनका केही ‘अभिव्यक्ति’ क्यामेरामा कैद गर्ने उद्देश्यसहित एअरपोर्ट जाने तयारीमा थिएँ म ।

रविलाई सिड्नीमा आमन्त्रणा गर्ने एक ‘मिडिया’ भएका कारण मैले रविको बारेमा केही कुरा सोध्नुपर्ने र उनको अन्तरवार्ताको समय मिलाउनुपर्ने थियो । सोध्नु मेरो कर्तब्य पनि थियो, त्यो मैले गरेँ । तर ती मित्रले यस्तो रूखो जवाफ दिए कि सुन्दै म तीनछक्क परे । यहाँ अरू मिडियाहरू पनि छन् तर उनीहरूको ब्यबहार र यी मित्रको ब्यवहार आकाश–पाताल फरक छ । अरूहरूले पनि भने, ‘त्यो त्यस्तै छ !’

रविलाई भेट्न म कति बजे एअरपोर्ट आउँ ? जवाफमा उनले भने– ‘तपाईं एअरपोर्ट आउन पाउनुहुन्न, खिच्ने त परै जाओस् । एअरपोर्ट नआउनु होला !’ ती मित्रबाट यसरी ठाडो, अकल्पनीय, अभद्र र गैरव्यवसायिक जवाफ आउला भन्ने सोचेकै थिइनँ मैले । विगत २० वर्षदेखि पत्रकारिता गरिरहेको मलाई कसैले यस्तो जवाफ दिएको पहिलो पटक होला । उनको यस अशिष्टता चित्त बुझेन र केही नलेखी बस्नै सकिनँ ।

अर्को कुरा, सिड्नीमा रविको उपस्थिति र उनको सिड्नी आगमनलाई घेराबन्दीमा पार्न खोजिएको जस्तो अनुभूति भइरहेको छ मलाई । जनताको भाषा, मन, भावना, दुःख र पीडाको बारेमा बोल्ने मित्र रविले पनि उनको बारेमा प्रवासमा रहेका सञ्चारकर्मीहरूले केही कुरा लेख्न वा भेट्न नपाउने बारे उनले पनि केही बोल्लान् नि ? मित्र रविजी एयरपोर्टमा आएको या उनी बोलेको दृश्य खिचेर कुन मिडियाले करौडौँ कमाउने हो र ?

एउटा ‘सेलिब्रिटी पत्रकार’ले प्रवासमा पाइला टेक्नु र उनको बारेमा समाचार लेख्नु वा दृश्य देखाउनु पत्रकारिताको धर्म र अवसर पनि हो । तर, सिड्नीका कार्यक्रम आयोजकले यहाँ रहेका अग्रजदेखि कुनै पनि मिडियालाई यो कुराबाट बन्देज मात्र गराएनन् कि रविमाथि घेराबन्दी नै गरियो भन्दा फरक नहोला । तर, यो कति सही थियो या गलत भन्ने त समयले मूल्याङ्कन गर्ने नै छ ।

रविको कार्यक्रम आयोजक पनि यहाँ मिडिया नै चलाउँछन् । तर उनको यो ब्यबहार या शैलीबाट उनको सङ्कुचिते सोच र ब्यवहार छरप्रष्ट भएको छ । उनीजस्ता आयोजकलाई पङ्क्तिकारलगायत लामो समयदेखि पत्रकारितामा आबद्ध अग्रजहरूको उपस्थिति देखेर डाह र इर्ष्या पनि लागेको हुन सक्छ । कुनै समय लाटो देशमा गाँडो तन्नेरी बनेर हालीमुहाली गरिरहेकाहरूलाई लाग्न सक्छ कि रविको अगाडि हाम्रो उपस्थिति र उठबसले ती आयोजक खुम्चन सक्छन् र साख गिर्न सक्छ । आफ्नो चर्चा र वाहवाहीमा गिरावट आउन सक्छ । यस्तो कुरामा ती आयोजकले मनमा त्रास हुर्काउनु हुँदौथ्यो । किनकि, लामो समयदेखि पत्रकारितामा लागेका र पत्रकारितामै कपाल फुलाइसक्नु भएका अग्रज पत्रकारहरूको यता पनि वाहवाही शुरू भैसकेको छ । रविसँग अगाडि पर्न नदिने र उनको बारेमा बोल्न–लेख्न नदिएर सूर्यलाई हत्केलाले छेकेँ भनेर दङ्ग पर्नु एउटै होइन र ? हत्केला हटेपछि त सूर्य नै हो नि माथि, होइन र ?

आफूले निम्त्याएको ‘सेलिब्रेटी’सँग भेटेर अरू मिडियाले हिमचिम बढाउलान्, संगत बढाएर फाइदा लेलान् र आफू छायामा परिएला भन्ने ठूलो भय ती मित्रमा देखियो । मित्र ! पत्रकारिता तपाईंको रहर या दुई दिनको सौख होला तर मेरो पेशा र जीवन नै यही हो । रविलाइ तपाईंले चिन्नुभएको कति समय भयो कुन्नी ! तर मेरो उनसँगको संगत नै तपाईंको उमेरको हाराहारी छ । तपाईंको पत्रकारिताको पाठशाला कहाँ हो र कस्तो हो ? मैले बुझ्न–जान्न सकिनँ । एउटा सेलिब्रिटी प्रवासमा आउँदा उनलाई घेराबन्दीमा पार्दै अन्य मिडिया या सहकर्मीहरूलाई नजिक पनि पर्न नदिने पत्रकारिता त मैले पढिनँ । मानेँ मित्र जनताको भाका बोल्ने तपाईंको पत्रकारिता !

यसमा मित्र रवि निर्दोष छन् । उनले एअरपोर्टमा पङ्क्तिकारलगायत अन्य केही अग्रजहरूलाई नदेखेपछि उनको मनमा खिन्नता पनि छायो होला, तर रविजी बास्तविकता यस्तो थियो । नेपालबाट सिड्नी आइपुगेका मित्र रविलाई सिड्नीमा यसपटक इच्छा हुँदाहुँदै पनि भेट्ने माहोल जुरेन । अब नेपालमै भेट्ने बाचासहित कलम बन्द गर्छु… !