एकै परिवारका तीनको जलेर मृत्यु

एकै परिवारका तीनको जलेर मृत्यु


बैतडीमा बुधबार राति आगलागी हुँदा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती वृन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भई उनीहरू पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाई बस्दै आएका थिए । खाना खाई टहरामा सुतेका उनीहरू चुलोको आगो एक्कासि सल्केर आगलागी हुँदा उनीहरूको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति करिब पौने १० बजेतिर आगो लागेको भए पनि उनीहरूलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको सात वर्षयता बसपार्कमा टहरो बनाइ बस्दै आएको थियो ।