‘देश बनाउन नेताहरुले पुरानो सोच बदल्नैपर्छ’

‘देश बनाउन नेताहरुले पुरानो सोच बदल्नैपर्छ’


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पुरानो सोचले देश विकास नहुने भन्दै नयाँ विकासको सोच अघि सार्नुपर्ने बताएका छन् ।

आज राजधानीमा आयोजित ‘समृद्ध नेपालका आधार र अबको जिम्मेवारी’ विषयक एका कार्यक्रममा नेता पाण्डेले पुरानो सोच र पुरानो तरिकाबाट जाँदा आर्थिक विकास हुनै नसक्ने जिकिर गरे । नेपालमा २८ प्रतिशत निजी जमीन कसरी परिचालन गर्ने भन्नेमै समस्या रहेको उल्लेख गर्दै उनले भने, ‘निजी जमीन कसरी भोगचलन गर्ने भन्नेमा ठूलो समस्या छ, सडकका लागि मुआब्जा छुट्याउदा एक लाख तोक्यो, परियोजना सञ्चालन गर्ने बेलामा रु १० लाख हुन्छ, त्यो सरकारले मुआब्जा तिर्न नै १० वर्ष लाग्छ, अनि कसरी परियोजना चल्छ ।’

उनले अहिले पुँजीगत खर्च नहुनुमा पनि यस्तै समस्या रहेको बताउँदै पूर्व पश्चिम रेलमार्ग होस् या जलविद्युत् आयोजना सञ्चालन गर्न पनि जमीनको व्यवस्थापन नै ठूलो चुनौती रहेको बताए । ‘रेलमार्ग या जलविद्युत् बनाउनु प¥यो, जे गर्दा पनि जमीन चाहिन्छ, जब हाइड्रो बनाउने भनेर गयो जमीनको भाउ बढ्छ, काटेलिङ हुनथाल्छ, अनि कसरी हुन्छ प्रगति, पहिलो त जमीनको समस्या हल गर्नुप¥यो नी ।’ उनले थपे ।

अर्का पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले विकास खर्च बढाउनतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिँदै सरकारले एउटा वातावरण तयार पारेपनि पर्याप्त नभएको उल्लेख गरे ।