अष्ट्रेलियामा भेटिएका ‘हिरो’को यस्ता छन् योजना

अष्ट्रेलियामा भेटिएका ‘हिरो’को यस्ता छन् योजना


  • राजन घिमिरे, अष्ट्रेलिया

सिने ‘हिरो’ कस्तो हुनुपर्छ ? हिरो भन्नासाथ चटक्क मिलेको शरिर, हँसिलो चेहरा, फुर्तिलो स्वभाव टाढैबाट देख्दा सजिलै र छुट्टै नोटिस गर्न सकिने ! यस्तै चित्र देखिन्छ–खोजिन्छ हिरोको परिभाषा खोज्दा । उसले लगाउने पहिरन र चालढाल पनि प्रशंसा गर्नलायक हुनुपर्छ । यस्ता ब्याख्या सिनेमाको पर्दामा बारम्बार देखिने रिलका नायकको लागि मात्र होइन कि रियल लाइफमा देखिने ब्यक्तिमाथि पनि गर्न सकिन्छ । कति यस्ता सिने–हिरोहरू पनि छन् जसलाई पर्दामा राम्रो देखिने तर रियल जीवनमा प्रभावशाली लाग्दैन, अनि कति चाहिँ पर्दामा प्रभावकारी नदेखिए पनि बाहिर अति आकर्षक देखिन्छन् ।

प्रसङ्ग धिरेन थापासँग जोड्न खोजिएको हो, जो पर्दामा मात्र नभई पर्दाबाहिर पनि ‘ड्यासिङ पर्सनालिटी’ प्रतीत हुन्छन् । विगत ३० वर्षदेखी अष्ट्रेलियाको ब्रिसबेनमा बस्दै आएका धिरेन जब ड्रेसअप गरेर घरबाहिर निस्कन्छन् तब नेपाली मात्र होइनन्, विदेशीहरू पनि उनलाई फर्की–फर्की हेर्ने गर्छन् र भन्ने गर्छन्– ‘ वाह !’

प्रवासी जीवनमा पनि धिरेनको उठबस अलि फरक नै छ । आफ्नै मौलिक जीवनशैलीलाई अगाडि बढाएका धिरेनको नेपाली कलाकारितासँगको सम्बन्ध पुरानै हो । म्यूजिक भिडियोमा काम गरेपछि कलाकारिता शुरू गरेका धिरेनले तीन चलचित्र थ्री लभर्स, ढुवानी र स्कुलमा कलाकार बने । सुगम पोखरेल, सरोज दत्त र धर्मेन्द्र सेवानको गीतमा मोडलिङ गरेपछि उनको चर्चा चुलिएको थियो । प्रवासको बसाईमा पनि उनले नेपाल पुगेर समय–समयमा कलाकारितामा आफ्नो उपस्थिति जनाउन छाडेनन् । नेपाली चलचित्र क्षेत्रसँग आवद्धता जनाउनेहरूसँग पनि धिरेनको हिमचिम बाक्लै छ । ‘साथीभाइहरूको सल्लाह र सुझाव अनुसार नै केहीमा काम गरेँ पहिला । दर्शकहरूले पनि मनपराउनु भएको हो । विविध कारणले पूरा समय दिन पाइनँ’, उनले भने ।

पछिल्लो चलचित्र ढुवानी र स्कुलमा देखिएपछि लामो समय ग्याप रहेका धिरेनले अब भने डटेर नै सिनेमा क्षेत्रमा लाग्ने योजना बनाएका छन् । ‘अब अभिनय मात्र होइन कि सिनेमा मेकिङतिर पनि लाग्ने सोच बनाएको छु । यसमा यता (अष्ट्रेलिया) र नेपालमा रहनुभएका साथीहरूको पनि साथ मिलेको छ’, धिरेनले जानकारी दिए । उनका अनुसार यो नयाँ प्रोजेक्टको काम आन्तरिक रूपमा अगाडि बढिरहेको छ । ‘यो सिनेमाको छायाङ्कन नेपाल र अष्ट्रेलियामा हुने छ, मसहित अन्य चल्तीका कलातारहरूको अभिनय रहने छ भने केही नयाँलाई पनि अवसर दिइने छ’, धिरेनले भने ।

यो चलचित्रमा देखिनुभन्दा पहिला धिरेन सुगम पोखरेलको गीतको भिडियोमा देखिने भएका छन् । ‘मैले सन २००५ मा सुगम पोखरेलको गीतमा मोडलिङ गरेको थिएँ, अब १४ वर्षपछि फेरि सुगमकै भिडियोमा काम गर्ने अवसर मिलेको छ’– धिरेनले विगत सम्झिए । यो भिडियोमा धिरेनलाई ब्रिसबेन निवासी मोडल सुजा मानन्धरले साथ दिने भएकी छिन् । चलेका गायक र चुनिएका कलाकारसँग खेल्न पाउनु मेरो लागि गौरवको कुरा हो’– सुजाले प्रसन्नता ब्यक्त गरिन् ।

ब्रिजबेनका रमणीय दृश्यहरूमा यो भिडियोको छायाङ्कन गरिने कुरा चलचित्र सुपर गोर्खेका निर्देशक राज थापाले बताए भने भिडियोमा सुदीप बिष्टको छायाङ्कन रहने छ ।