राप्रपाको केन्द्रीय समिति बैठक असार ६–७ गते काठमाडौंमा

राप्रपाको केन्द्रीय समिति बैठक असार ६–७ गते काठमाडौंमा


राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ६ र ७ गते काठमाडौंमा हुने भएको छ । बैठकको पहिलो दिन असार ६ गते हिन्दूराष्ट्र पुनस्र्थापनाको माग गरी पार्टीले गत फागुनमा देशभरबाट संकलन गरेको हस्ताक्षर सरकारलाई बुझाउने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा यही जेठ २४ गते मुस्ताङको मुक्तिनाथबाट गरी गोरखामा समापन गरिने निर्णय भएको नेता देवेन्द्र प्रधानले जानकारी दिए । उनका अनुसार यही जेठ १५ गते पार्टी स्थापना दिवस मनाउन प्रदेश ३ का अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा समिति गठन गरिएको छ ।

संसदमा प्रस्तुुत भएका र प्रस्तुत हुने विधेयक सम्बन्धमा राप्रपाका सांसदलाई सल्लाह, सुझाव दिन नेता नीरञ्जन थापाको संयोजकत्वमा विधेयक परामर्श समिति गठन गरिएको छ । पार्टीको अक्षयकोष स्थापना सम्बन्धमा सुझाव दिन प्रवक्ता नीलकण्ठ काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको छ ।

यसैबीच पार्टीले मिडिया काउन्सिलसम्बन्धी विधेयकमा रहेका विवादास्पद प्रावधानलाई सम्बन्धित पक्षसँग छलफल गरेर संशोधन गर्न सरकारसँग माग गरेको छ । केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार सम्पन्न बैठकले सरकारले संसदमा प्रस्तुत गरेको उक्त विधेयकका केही दफाले पत्रकारका हक, हित र स्वतन्त्रतालाई कायम गर्न नसक्ने ठहर गरेको हो ।