प्रहरीको गोली लागी घाइते बनेका विप्लव कार्यकर्ताको मृत्यु

प्रहरीको गोली लागी घाइते बनेका विप्लव कार्यकर्ताको मृत्यु


भोजपुरमा प्रहरी मुठभेडमा घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जंगलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड हुँदा मंगलबार दिउँसो प्रहरीको गोली लागी षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए ।

घाइते घिमिरेको उपचारको क्रममा बुधबार बिहान ३ः३० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए । भोजपुरको भैँसीपंखाको भीरको सडकमा ढुंगा झरेर बाटो अवरोध भएपछि घिमिरेलाई धरान पुऱ्याउन ढिला भएको प्रजिअ खतिवडाको भनाइ छ ।

उनले भने, ‘घिमिरेको धरानमा उपचारका क्रममा मृत्यु भएको हो, घटना भएको स्थलबाट सडकसम्म बोकेर ल्याउन प्रहरीलाई पाँच घन्टा लाग्यो, त्यसपछि भैँसीपंखामा सडक अवरोध हुँदा हामीले चाङ्ग्रेबाट एम्बुलेन्स मगाएर पठाएका थियौँ, पुऱ्याउन समय लागेका कारण धेरै रक्तश्राव हुँदा मृत्यु भएको हुन सक्छ ।’

घिमिरेको साथमा हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमाक्षेत्रमा पर्दछ । सो क्रममा कार्यकर्ताले प्रहरीमाथि फायर खोलेको र जवाफी कारबाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए । दर्जनौँको समूहमा रहेका हतियारधारी समूह त्यहाँबाट जंगलको बाटो हुँदै भागेको बताइएको छ ।
rss