‘राज्यले पद दियो, अधिकार आफैँसँग राख्यो’

‘राज्यले पद दियो, अधिकार आफैँसँग राख्यो’


हिमालपारिको जिल्ला भनेर चिनिने मनाङको नासों गाउँपालिकाकी उपप्रमुख कोमलमाया गुरुङ साधारण लेखपढ गरेकी महिला हुन् । तर, उनलाई स्थानीय सरकारको नेतृत्व गर्न सक्ने पात्रको रूपमा नेपाली काङ्ग्रेसले विश्वास गऱ्यो र उनी गाउँपालिकाको उपप्रमुख निर्वाचित भइन् । उपप्रमुख बन्दै गर्दा शुरुमा उनी जति अन्योलमा थिइन् अहिले उत्तिकै सहज अनुभूतिका साथ उनी दायित्व निर्वाह गरिरहेकी छिन् । स्थानीय आमा समूहको अध्यक्षसमेत भएर काम गरेकी कोमलमाया घटना र विचारसँगको कुराकानीका क्रममा पनि निकै उत्साहित र खुसी देखिइन् । दूरदराजमा रहेको गाउँपालिकाको उपप्रमुखलाई पनि मिडियाले समाचारको विषय बनाउँदोरहेछ भन्ने जानेर उनी सुखदाश्चर्यमा परेकी रहिछन् । कुराकानीको आरम्भमै उनले भनिन्, ‘मैले के जानेको छु र ? हाम्रो पनि समाचार बन्छ र ?’ कुराकानीका क्रममा आफ्नो गुनासोको पोको फुकाउँदै उपप्रमुख कोमलमायाले भनिन्, ‘देशैभरिका उपप्रमुखहरू मजस्तै अन्यायमा परेका छन् ।’ सरकारले पद र केही जिम्मेवारी त दिएको छ, तर अधिकार भने नदिएको उनको धारणा रहेछ । उनले भनिन्, ‘तैपनि म धिपधिप बलेर प्रकाश दिइरहेको छु ।’ प्रस्तुत छ कोमलमायासँग गरिएको कुराकानीको सम्पादित अंश ।

० स्थानीय सरकारको उपप्रमुख बन्नुभएको छ, के–कस्तो चलिरहेछ ?
– जनप्रतिनिधि भएपछि जनताको सेवामै केन्द्रित छु । निरन्तर जनताकै काम र भए–गरेका समस्याको पहिचान अनि समाधान गर्नु मेरो दायित्व पनि हो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा तल्लीन भएको छु । यसका साथै समाजमा आउने अन्य समस्याहरूको समाधानमा केन्द्रित छु । जनप्रतिनिधि भनेको सामान्य पद पनि होइन रहेछ । जतिखेर पनि जनताको गुनासो सुन्ने र त्यसको सुनुवाइ गर्ने गम्भीर दायित्व हामीमाथि छ । जनताको मतबाट जनप्रतिनिधि भएपछि बिहानैदेखि बेलुकासम्म जनताकै पक्षमा काम गर्नुपर्छ । त्यसप्रति म निकै खुसी पनि छु । मैले मेरो कार्यक्षेत्रमा जनताको गुनासो सुन्नेदेखि समस्याको समाधानसम्मको काम गर्दै आएको छु ।

० जनप्रतिनिधि बनेर काम गर्दा असजिलो भएको छ भन्न खोज्नुभएको हो ?
– त्यस्तो होइन । काम गर्न सजिलो त छैन, तर संसारमा असम्भव भन्ने पनि त केही छैन । असहज या असजिलोलाई पनि सहज र सजिलो बनाएर काम गर्न जान्नुपर्छ । यति भयो भने जनताबाट पनि सहयोग मिल्छ र काम गर्न झनै सजिलो हुन्छ । जनताको काम गनै पाउँदा मलाई निकै उत्साह मिलेको छ । लामो समयदेखि स्थानीय तहले जनप्रतिनिधि पाएको छ । यसलाई हामीले संस्थागत गर्न आवश्यक छ । त्यसैले जनताको माझमा गएर उनीहरूको सहयोगमा काम गर्न पाउँदा मलाई असजिलो र अभावको कुनै महसुस भएको छैन ।

० तपाईंले जिम्मेवारी पाएको कति समय भयो र यस क्रममा के–कस्ता समस्याको सामना गर्नुपऱ्यो ?
– जनप्रतिनिधि भएको पनि करिब दुई वर्ष बितिसक्यो । झन्डै १९ वर्षपछि स्थानीय तहले जनप्रतिनिधि पाएको छ । हामीले यही उत्साहलाई ध्यानमा राखेर जनताको काम गर्न पाएका छौँ । कामको व्यस्तताले समय बितेको पनि पत्तै पाइएन । हिमालपारिको जिल्ला मनाङ आफैँमा भौगोलिक रूपमा विकट जिल्ला हो । यहाँ बसेर काम जनताको सेवा गर्नु कठिन भए पनि त्यसलाई सरल रूपमा लिएर जनताको घरदैलोमा पुगेर काम गरेको छु । काम गर्ने क्रममा अलिअलि समस्या त भई नै हाल्छ । असजिला काम पनि टिममा मिलेर गरेपछि सहज रूपमै समाधान गर्न सकिन्छ भन्ने समयले मलाई सिकाएको छ ।

० काम गर्न सजिलो त पक्कै छैन होला ?
– काम गर्न त गाह्रै हुन्छ नि । तैपनि रमाइलै मानेर काम गरिरहेकी छु । रमाइलै छ, ठीकै छ । सानैदेखि सङ्घर्ष गरेर आएको मान्छे भएकोले साह्रो–गाह्रोको महसुस भएको छैन । यहाँभित्र व्यस्तता र ठूलाठूला चुनौती हुँदा पनि स्वाभाविकै रूपमा लिइरहेकी छु । जनताको काम गर्न आएकोले झन्झट र अप्ठ्यारो रूपमा लिनुहुँदैन भन्ने मेरो मान्यता हो ।

० चुनौतीचाहिँ के रहेछन् ?
– जब मलाई नेपाली काङ्ग्रेसले विश्वास गरेर उपप्रमुखको टिकट दियो त्यतिबेलादेखि नै म सजग र संयमित भएँ । समाजमा मेरो जिम्मेवारी धेरै रहेछ है भन्ने महसुस भयो । पार्टीले टिकट दिएपछि म चुनावी मैदानमा पनि होमिएँ र सफल पनि भएँ । उपप्रमुखको रूपमा आफू समाजका अगाडि आएपछि मेरो जिम्मेवारी धेरै रहेछ भन्ने थाहा पाएँ । उपप्रमुखको पद अत्यन्तै चुनौतीपूर्ण हुँदोरहेछ । शुरुशुरुमा त मलाई यस्तो होलाजस्तो लागेको थिएन । तर, यहाँभित्र आइसकेपछि निकै ठूलो चुनौती र व्यस्तता महसुस भयो । यसले गर्दा व्यक्तिगत जीवनतर्फ फर्कने कुरा निकै गाह्रो रहेछ ।

० महिला जनप्रतिनिधि भएको नाताले तपाईं त न्यायिक समितिको संयोजक पनि, न्यायिक समितिमा काम गर्दाको अनुभव सुनाइदिनुस् न ?
– न्यायिक समितिको संयोजक त तोकिदिएको छ, तर हामीलाई सरकारले हात बाँधिदिएको छ । किनकि न्यायिक समितिको संयोजक तोकेर मात्रै के गर्नु, संविधान र कानुनले दिएका अधिकार अझै हामीले पाएका छैनौँ । तैपनि म जनप्रतिनिधि भएकोले जसरी भए पनि म जनताको सेवा र समस्याको समाधान गर्न क्रियाशील भएकी छु । सरकारले स्थानीय तहमा दिनुपर्ने अधिकार दिन आवश्यक छ । जसले स्थानीय तहमा हामीजस्ता जनप्रतिनिधिहरूलाई काम गर्नमा सहज हुनेछ । हुन त कानुनहरू नबनेका कारण राज्यमै एकप्रकारको जटिलता थियो । अझै पनि यो सबै समस्या हल भइसकेको छैन । तर, मलाईचाहिँ यो क्षेत्रमा अप्ठ्यारो महसुस भने पटक्कै भएको छैन । किनभने, यो क्षेत्रमा खासै मुद्दामामिलाका घटना खासै आउँदैनन् । आएका घटनाक्रम र समस्यालाई समाधान गर्दै पठाउने गरेकी छु ।

० गाउँपालिकामा जनता खासगरी कस्ता समस्या लिएर आउने गर्छन् ?
– समस्याका कुरा त ठाउँ–परिवेशमा भर पर्छ जस्तो लाग्छ । हाम्रो गाउँपालिकामा स्थानीयहरू खासै समस्या लिएर आउँदैनन् । किनकि यहाँ सम्बन्धविच्छेद, आपसी झै–झगडा हुँदैनन् । सबै समाजमा मिलेर बस्छन् । म गाउँपालिकाको उपप्रमुख भएयता समस्या लिएर आउने स्थानीय नगन्य मात्रामा छ । सामान्य प्रकृतिका भए मिलाएर पठाउने गरेका छौँ । ठूला प्रकृतिका घटनाहरू आइहालेमा हामी कानुनी परामर्श दिएर सम्बन्धित निकायमा पठाउँछौँ । हिमाली जिल्ला मनाङमा त्यति धेरै समस्या पनि आउँदैनन् । हामी जनप्रतिनिधि भएर आएका दिनदेखि नै समाजमा नराम्रा प्रकृतिका घटनाहरू नघटुन् भन्नेमै छौँ । आजसम्म अप्रिय घटना पनि घटेको छैन । घटना नघटोस् भन्ने कामना गर्छु । बेलाबेलामा समाजमा सचेतनाका कार्यक्रम पनि हामीले सञ्चालन गर्दै आएका छौँ । जसले सभ्य समाज निर्माणमा सघाउ पु¥याएको छ । हामीले बेलाबेलामा महिलालाई तालिम पनि दिँदै आएका छौँ । जसका कारण व्यक्तिलाई नैतिवान, चरित्रवान र समाजप्रति थप उत्तरदायित्व बनाउने काम गरेको छ ।

० महिलाको पक्षमा विशेष केही गर्नुभएको छ कि ?
– मलाई सधैँ यही चिन्ताले सताउने गर्दछ । म महिला उपप्रमुख भएको नाताले मैले महिलाको क्षमता विस्तारका कार्यक्रम सञ्चालन गर्नुपर्छ भनेर गाउँपालिकामा प्रस्ताव गरेकी छु । यसका साथै मेरै पहलमा बेलाबेलामा अभिमुखीकरण कार्यक्रम, जनचेतनासम्बन्धी कार्यक्रम, व्यावसायिक तथा सीपमूलक तालिमलगायतका कार्यक्रमहरू सञ्चालन भइरहेको छ । आगामी दिनमा महिलाको लागि सीपमूलक तालिमहरू अति आवश्यक देखेकी छु । यसका लागि मलगायत हामी सबै पदाधिकारीहरू सचेत छौँ । उत्पादनसँग नजोडिएर धेरै महिला परनिर्भर भएकाले पनि समाजमा हिंसा धेरै भएको छ । त्यसैले महिलालाई आत्मर्निभर बनाउनुपर्छ । महिलालाई आफूमाथि भएको हिंसाको प्रतिरोध गर्नुपर्छ भन्ने चेतना जगाउन हामीले कार्यक्रमहरू ल्याएका छौँ ।

० बाटोघाटोलगायत विकासका मागहरू प्रशस्तै होलान् । यस नगरपालिकाको अवस्था कस्तो छ ?
सबै काम बिस्तारै हुँदै छन् । पूर्वाधारजस्तो महत्वपूर्ण काम एकैपटक हुने कुरा पनि त भएन । जति पनि वडाहरूबाट आएका योजनालाई प्राथमिकताका आधारमा छनोट गरी काम अघि बढाएका छौँ । कामहरू क्रमागत रूपले भइरहेका छन् । हामीले पनि आफ्नो गाउँपालिकाभित्रको विकास दिन दुगुना रात चौगुना होस् भन्ने चाहेका छौँ ।

० स्थानीय तहमै रमाइरहने कि राजनीतिक खुड्किलो उक्लिएर ठुलठूला जिम्मेवारी पनि लिने, के सोच छ ?
– राजनीतिमार्फत समाज र देशको सेवा गर्ने उद्देश्यले मैदानमा उत्रिसकेपछि आफ्नो दायरा पनि फराकिलो र उच्च तुल्याउने सोच राख्नैपऱ्यो नि । बाँकी त समय र कर्मले नै तय गर्छ ।