अनसनकारी नर्स ओम अस्पतालको आइसीयूमा

अनसनकारी नर्स ओम अस्पतालको आइसीयूमा


भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय (मानव अङ्ग) प्रत्यारोपण केन्द्रमा अनशनमा बसेका नर्सहरुले १० बुँदे सहमति धोका भएको भन्दै अनशन जारी रहेको बताएका छन् । अस्पताल प्रशासनले झुक्याएर केही नर्सहरुसँग सहमति गरे पनि आफूहरुको मागका बारेमा कुनै सम्बोधन नभएको भन्दै उनीहरूले अनशन जारी रहेको बताएका हुन् ।

नर्सहरुको पक्षमा विभिन्न माग राख्दै शहीद धर्मभक्त राष्ट्रिय (मानव अङ्ग) प्रत्यारोपण केन्द्रमा अनशनरत नर्स दिक्की शेर्पा र बिपी स्मृति अस्पताल वसुन्धरामा अनशनरत नर्स जीता बरालले आफ्नो अनशन र आन्दोलन जारी रहेको बताए ।

गत आइतबार साँझ नर्सिङ सङ्घको पहलमा मानव अङ्ग प्रत्यारोपण केन्द्र र अनशनरत नर्सहरुबीच भएको १० बुँदे सहमति धोका भएको र आफूहरुलाई त्यसबारेमा कुनै जानकारी नै नदिई अफवाह फैलाएर उल्टो षडयन्त्र गरेको आन्दोलनरत नर्सहरुको आरोप छ ।

अनशनरत नर्स दिक्की शेर्पाले आफूलाई होस नआउने औषधि खुवाएर थाहै नहुने गरी जुस खुवाएर अरुले गरेको हस्ताक्षरलाई सहमति भयो भन्दै अफवाह फैलाउने कार्य भएको र अस्पताल प्रशासनले आन्दोलन तुहाउने षडयन्त्र गरेको आरोप लगाइन् । आफूहरुले अनशन नतोडेको र आन्दोलन तथा अनशन जारी रहेको शेर्पाको भनाई छ । १०बुँदे सहमतिमा आफूहरुको कुनै माग सम्बोधन नभएकाले माग सम्बोधन नभएसम्म आन्दोलन र अनशन जारी रहने उनले बताइन् ।

विगत १२ दिनदेखि अनशनरत दुवै नर्सको स्वास्थ्य अवस्था जटिल बनेको छ । अनशनरत नर्स दिक्की शेर्पालाई ओम अस्पतालको आइसीयूमा भर्ना गरिएको बताइएको छ ।