भारतको सहयोगमा उदयपुरमा क्याम्पस भवन

भारतको सहयोगमा उदयपुरमा क्याम्पस भवन


उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकास्थित श्री नारद आदर्श शिक्षा क्याम्पसकोे उद्घाटन गरिएको छ । भारत सरकारको ३ करोड २ लाख अनुदान सहयोगमा निर्मित उक्त क्याम्पस भवनको उद्घाटन उदयपुरका सांसद, पूर्व शहरी विकासमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता डा. नारायण खड्काले गरेका हुन् ।

सन् १९७१ मा माध्यमिक विद्यालयको रूपमा स्थापना भएको नारद आदर्श शिक्षा क्याम्पस सन् २००३ मा क्याम्पसको रूपमा स्तरोन्नति गरिएको हो । त्रिभुवन विश्वविद्यालयसँग सम्बद्घ उक्त क्याम्पसमा १ सय ३५ विद्यार्थी अध्ययनरत छन् जसमध्ये ७० प्रतिशत छात्रा रहेका छन् । क्याम्पसले शिक्षा संकायको चारवर्षे बीएड कार्यक्रम प्रदान गर्दै आएको छ ।

उद्घाटन समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार विशेष अतिथिको रुपमा उपस्थित थिए । दुईतले क्याम्पस भवनमा १२ वटा कक्षा कोठा, पुस्तकालय, सभा कक्ष, छात्र तथा छात्राका लागि छुट्टाछुट्टै शौचालय र फर्निचरको व्यवस्था रहेको बताइएको छ ।

उक्त नवनिर्मित संरचनाले विद्यार्थीको सिकाई वातावरणलाई अभिवृद्घि गर्नुका साथै उदयपुर र यस जिल्लासँग जोडिएका भोजपुर, खोटाङ, सुनसरी, सप्तरी जिल्लालगायतका ग्रामीण भेगका विद्यार्थीको शिक्षामा पहुँच बढाएको स्थानीय सचेतजनको भनाई छ ।