प्रहरी भन्छ बलात्कारी, महिलाको इन्कारी !

प्रहरी भन्छ बलात्कारी, महिलाको इन्कारी !


  • मुक्तिनाथ भुसाल, अर्घाखाँची

कथित ‘जबर्जस्ती करणी’सम्बन्धी एक मामलाले यतिबेला अर्घाखाँची जिल्ला तरङ्गित छ । प्रहरीले ‘जबर्जस्ती करणी’ भन्दै जाँचबुझ अघि बढाए पनि यथार्थ त्यस्तो नभएको भन्ने एकथरीको दाबी छ भने कतिपयले चाहिँ ‘हावा नचली पात हल्लिँदैन’ भन्ने अर्थ लगाएर प्रहरी जाँचले कुन बाटो समात्छ भनी नियालीरहेका छन् ।

यथार्थ के हो भन्ने त कुनैदिन खुल्ने नै छ, अहिले चर्चामा रहेको जबर्जस्ती करणीसम्बन्धी मामलालाई आ–आफ्नै तवरबाट बुझिएको पाइन्छ । सामान्य बुझाईमा जब कुनै पुरुषले कुनै स्त्रीको इच्छाविरुद्ध शारीरिक बलको प्रयोग गरी आफूसँग सम्भोग गर्न बाध्य बनाउँछ भने यसलाई ‘जबर्जस्ती करणी’ भनिन्छ, र यो एउटा गम्भीर अपराध पनि ठहरिन्छ । जबर्जस्ती करणीमा प्रायः पीडित महिलाको ज्यान समेत गएका उदाहरण हाम्रासामु बग्रेल्ती रहेका कारण होशियारीका साथ आफ्नो परिवारसँग राम्रो सम्पर्क या परिचय नभएका व्यक्तिदेखि आफूलाई टाढा राख्नु महिलाका लागि सुरक्षाको विशेष उपाय हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक गम्भीरजंग थापाको हस्ताक्षरसहित गत वैशाख २७ गते सार्वजनिक गरिएको विवरणअनुसार उक्त कार्यालयमा जबर्जस्ती करणी मुद्धा पीडित महिलाबाट जाहेर भएको उल्लेख गरिएको छ । प्रहरी विवरणअनुसार मिति २०७६ वैशाख २५ गते राती अन्दाजी ९ः४५ बजेको समयमा कपिलवस्तुबाट कामविशेषले अर्घाखाँचीको सदरमुकामस्थित शान्तिबँगैचामा आएकी वर्ष ४८ की ‘केआरजी’ (नामथर, वतन परिवर्तित) लाई सनपा–१२ बस्ने वर्ष ४२ को प्रेमबहादुर खड्काले होटलको निःशुल्क व्यवस्थासहित अनेकौँ आश्वासन देखाउँदै क्याराभान होटलमा राखी ८८४८ नामको रक्सी खुवाई सोही राति अं. १०ः३० बजेको समयमा जबर्जस्ती करणी गरेको भनी पीडितबाट जाहेरी दरखास्त प्राप्त हुन आएको हुँदा अनुसन्धानको क्रममा निज खड्कालाई नियन्त्रणमा लिई सम्मानित अर्घाखाँची जिल्ला अदालतबाट मिति २०७६ वैशाख २६ गतेदेखि लागु हुने गरी ७ दिनको म्याद थप लिई अनुसन्धान कार्य भइरहेको उल्लेख गरिएको छ । यसै प्रसङ्गमा केन्द्रित भई प्रहरी नायव उपरीक्षक नवराज मल्लसँग जिज्ञासा राख्दा होटलमा दुईजना महिलाका नाममा बुकिङ खड्काले गरिदिएका र एकजनालाई रक्सी खुवाएर अर्कीलाई जोडबलले रुमबाट बाहिर निकाली जबर्जस्ती करणी गरेको भनी महिलाहरूले उजुरी दिएकाले नियमअनुसार कारवाही अगाडी बढ्ने जवाफ मिल्यो ।

प्रहरीले जबर्जस्ती करणी भनिएको यो केसको गहिराईमा जानुपूर्व आरोपित प्रेमबहादुर खड्काबारे केही बुझ्नु सान्दर्भिक हुनेछ । सहयोगी स्वभावका व्यक्ति हुनाले आरोपित खड्काको छवि एक सामाजिक कार्यकर्ताको रहेको छ, तर उनका कैयन कमी–कमजोरी या नकारात्मक कर्म पनि नभएका होइनन् । तथापि, कसैको इच्छाविरुद्ध या जबर्जस्ती बलात्कार गर्ने व्यक्ति उनी कदापि हुन सक्दैनन् भन्नेहरूको पनि कमी छैन । यदि यसो हो भने मामलाको यथार्थ चाहिँ के हो त भन्दै खोजिनिती गर्ने क्रममा सम्बन्धित महिलाहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएर नभई प्रहरी स्वयम्ले करकापमा पारेर उजुरी दिन लगाई खड्कालाई फसाउने सुनियोजित षडयन्त्र गरेको र यसमा उच्चपदस्थ प्रहरीहरू नै सक्रिय बनेको तथ्यहरू फेला परेका छन् ।

सत्य सेवा सुरक्षणम् भन्ने नेपाल प्रहरीको मूल आदर्शलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आत्मादेखि नै स्वीकार गर्ने हो भने वैशाख २६ गते विहान उल्लिखित होटलको काउन्टरमा बसेका प्रेमबहादुर खड्कालाई प्रहरीले शुरुवातमा उठाएर लगेको थियोे र त्यसको करिव १ घन्टापछि मात्रै आफ्नो रुममा बसिरहेका दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको घटनास्थलनजिकका स्थानीयवासीबाट बुझिएको छ । यस्तोमा स्वतः प्रश्न उठ्छ कि खड्काविरुद्ध उजुरी दिन पीडित भनिएका महिला कतिबेला प्रहरी कार्यालय पुगेका थिए त ?

यस्तै अन्योल र रोचक सवाल पैदा भइरहेको बेला गत वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयले नाम, थर, वतन गोप्य राखेका ती महिलाहरूले स्वस्फुर्त रुपमा पङ्क्तिकारलगायतलाई सम्पर्क गरी भेट गर्न बोलाएका थिए । वैशाख ३० गते उनीहरूलाई भेट गरी यथार्थ सुन्ने अवसर मिल्यो । ‘केआरजी’ (नाम परिवर्तित) ले हामीसँगको भेटमा बलिन्द्र धारा आँशु बहाउँदै आफुलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जबर्जस्ती पक्राउ गरि डरत्रास र धम्की दिएर हामीलाई हतियार बनाई निर्दोष प्रेमबहादुर खड्कालाई फसाउन खोजेको खुलासा गर्दै यस मामलामा सहयोग गर्न आग्रह गरिन् ।

पीडित भनिएका ती महिलाका अनुसार आफुहरू दुई साथी सदरमुकाम सन्धिखर्क पुगी मालपोत तिरो पनि तिर्ने र सुपादेउराली मन्दिर दर्शन गर्ने योजनामा घरमा पनि जानकारी नदिई सदरमुकाम जाँदै गर्दा पत्रकारको रुपमा हामीले खड्कालाई चिनेको र आफुहरू सुरक्षित हुने गरी एउटा कोठाको व्यवस्था मिलाइदिन सहयोग मागेवापत वहाँले हामीलाई क्याराभान होटलको १०४ नम्वर कोठा मिलाइदिएको, त्यसपश्चात आफुहरूसँग खड्काको कुनै सम्पर्क–सम्बन्ध भएको थिएन । उनीहरूले अगाडि भने– ‘अर्को दिन हामी दुईमध्ये एकजनाले नुहाउन शुरु गरेको र एकजना सुतिरहेको बेला अन्दाजी विहान ६ बजे प्रहरीहरू आई फ्रेस समेत हुन नदिई जिप्रका पुऱ्यायो । शुरुवातमा किन र केका लागि भन्ने विषयमा आफुहरू अनभिज्ञ थियौँ । प्रहरी कार्यालयमा पुगिसकेपछि त्यहाँका उच्चपदस्थ अफिसरहरूले तिमीहरू चरित्रहीन महिला हौ, रातभर प्रेम खड्कासँग पालैपालो चरित्र गुमाएका हौ भनी आरोप लगाए । यो सुनेपछि हामी छाँगाबाट खसेजस्तै भयौँ । यो कुरा स्वीकार नगरेमा घर–परिवारमा कुरा पु¥याइदिने, सार्वजनिक रूपमा बेइजत गरिदिने भन्दै प्रहरीले धम्क्याएपछि हामी रुन थाल्यौँ । दिनभरी नै प्रहरीको त्यो धम्कीका बाबजुद हामीले प्रहरीले भनेअनुसार गर्न मानेनौँ । यसरी दिनभरी त्यत्तिकै राखेपछि विहान फ्रेससमेत हुन नपाएकी मलाई (केआरजी) राती अन्दाजी साढे दश बजे जिल्ला स्थास्थ्य अस्पतालमा लगी मेरो इच्छाविरुद्ध पुरुष डाक्टरमार्फत् मेडिकल चेक गराइयो । यसरी पूरै एक दिन र रात प्रहरीमा बिताएपछि अर्को दिन वैशाख २७ गते तिमीहरू निर्दोष रहेछौ, तिमीहरू र प्रेमलाई पनि केही अप्ठ्यारो पर्दैन, यसमा हस्ताक्षर गरी घर जाउ भन्दै प्रहरीले खाली कागज अघिसारे । घर जान पाउने आशामा तीनवटा खाली कागजमा हस्ताक्षर गरेपश्चात हामीलाई प्रहरीभ्यानमा राखि गनत्व्यतर्फका बसमा चढाई सदरमुकामबाट विदा गरिएको कारण कतै हाम्रा कारणले निर्दोष खड्का खतरामा त छैनन् भनेर तपार्इंहरूको नम्बर खोजीकन सम्र्पक गरेका हौँ । यथार्थ कुरा यही हो, अब हामीलाई सहयोग गर्नुहोस् ।’ दवै महिलाले यसरी अनुरोध गरे ।

त्यसपश्चात उनीहरू न्याय पाउँ भन्दै बैशाख ३१ गते लिखित निवेदन लिएर अर्घाखाँची जिल्ला अदालतको शरणमा पुगे पनि उनीहरूको निवेदन अदालतले दर्ता नै गरिदिएन । अदालतमा निवेदन दर्ता नभएपछि त्यहाँ उपस्थित भद्रभलादमी तथा सञ्चारकर्मीका सामु हस्ताक्षर गरी जिल्ला हुलाकमार्फ्त सोही दिन आरडी ७५५४५४९३२ र ७५५४५५१०५ एनपी नम्बरका खामबन्दी उजुरी निवेदन अर्घाखाँची जिल्ला अदालतका नाममा रजिष्ट्री गरेको सबैको जानकारीमा छ ।

यसरी प्रहरीबाट पीडित भएर पनि हिम्मत नछोडेका महिलाहरूको उक्त कदमले २४ घन्टा पूरा गर्न नपाउँदै प्रहरीले ‘केआरजी’का आफन्तलाई फोन गरी सबै घटना सार्वजनिक गरिदिएपछि उनले पनि अर्घाखाँची जिल्ला प्रहरीले आफुलाई अन्याय गरेको भन्दै जेष्ठ २ गते प्रहरी प्रधान कार्यालयको दर्ता फाँटमा उजुरी निवेदन बुझाएको जानकारी मिलेको छ ।

यसै विषयमा केन्द्रित भई राज्यसँगको लडाइँमा न्याय प्राप्त गर्न सकिएला त भनी टेलिफोनमार्फत् केआरजीसँग जिज्ञासा राख्दा आफुहरूलाई जबर्जस्ती ‘बेस्या’ तुल्याउन उद्दत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका उच्चपदस्थ व्यक्तिहरूले समयमा आफ्नो गल्ती स्वीकार नगरेमा आफ्नो घर बिग्रने निश्चित रहेको जिकीर गर्दैै केआरजीले भनिन्– ‘त्यस्तो भयो भने यसको जिम्मा उनीहरूले लिनुपर्ने छ, घर बिगारिदिने सम्बन्धित प्रहरी अधिकारीले नै मलाई जीवनसाथी स्वीकार गर्नुपर्ने हुन्छ, त्यतिबेला यही माग राखेर म कानुनी लडाइँमा उत्रिनेछु ।’

यस प्रसङ्गमा बिर्सन नमिल्ने कुरा भनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले करणी केशमा समातेका प्रेमबहादुर खड्का शतप्रतिशत असल मान्छे हुन् भन्ने आशय पङ्क्तिकारको होइन, तर गल्ती छन् भने यथेष्ट र सर्वमान्य प्रमाणका आधारमा कानुनी दण्ड दिनैपर्छ । खड्काको एउटा असल पक्ष भनेको समाजसेवा हो र समाजसेवामा संलग्न व्यक्तिले गल्ती गरेको आभाष प्रहरी प्रशासनलाई भइरहेको तर प्रमाण नभेटिएको हो भने नागरिक समाजको सहभागितामा सल्लाह, सुझाव लिई सुध्रने मौका दिनु समस्याको निकास हुन सक्छ । सम्बन्धित ‘अभियुक्त’का कमी–कमजोरी के छन्, त्यो मिहीन ढङ्गले पत्ता लगाएर सोअनुसार उपाय अवलम्बन गरेमा खड्का जस्ता युवाहरू ‘बाल्मिकी’मा रुपान्तरण हुन सक्ने अपेक्षा गर्न सकिन्छ ।