शिशुको मृत्यु भएपछि मेडिकल सञ्चालक पक्राउ

शिशुको मृत्यु भएपछि मेडिकल सञ्चालक पक्राउ


उपचारका क्रममा शिशुको मृत्यु भएपछि दाङमा एक मेडिकल सञ्चालक पक्राउ परेका छन् ।

अर्घाखाँची शितगंगा नगरपालिका साप्पमारानिवासी सरिता कुमालका १८ महिने छोरा सुशान्तको सोमबार उपचारका क्रममा मृत्यु भएपछि छानबिनका लागि गढवा गाउँपालिका–१ पुतलीबजारस्थित युनिक मेडिकलका सञ्चालक चेतराम चौधरीलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

माइतीघर आएको अवस्थामा छोरा बिरामी भएपछि मेडिकल लगिएको र मेडिकलमा लग्दा ‘सिफन्टल ०.२६ एमजी र डिक्सोना ०.२ एमजी’ मिसाएर सिरिञ्ज लगाएपछि शिशु बेहोस भएपछि थप उपचारका लागि लुम्बिनी अञ्चल प्रादेशिक अस्पताल लगिएको अवस्थामा मृत्यु भएको हो ।

शिशुको मृत्यु भएपछि आफन्तले मेडिकल सञ्चालकलाई अभद्र व्यवहार गर्न सक्ने भन्दै प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए । ‘अरू केही होइन, बच्चाको उपचारको क्रममा मृत्यु भयो, बच्चाको मृत्यु भएपछि आफन्तले मेडिकल सञ्चालकलाई अभद्र व्यवहार गर्छन् भनेर नियन्त्रणमा लिएका हौँ,’ शाहले भने ।