‘लक्ष्मी रानी’को छायाङ्कन पूरा

‘लक्ष्मी रानी’को छायाङ्कन पूरा


नारी विषयलाई केन्द्रविन्दुमा राखेर निर्माण गरिएको सामाजिक कथामा आधारित चलचित्र ‘लक्ष्मी रानी’को सम्पुर्ण छायाङ्कनको काम सकिएको छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्र दुई महिनाको लगातार छायाङ्कन गरेर सकिएको निर्माण पक्षले जनाएको छ ।

‘लक्ष्मी रानी’ चलचित्र नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो । उनले यस अघि दर्जन भन्दा बढि चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भूमिका निर्वाह गरिसकेकी छिन् । यो चलचित्रमा एउटा नारीले कसरी गाउँले जिवनयापनदेखि शहरिया शैलीलाई पछ्याएर जिन्दगी बिताउनका लागि संघर्ष गर्नुपरेको छ भन्ने देखाउने प्रयास गरिएको छ ।

द्वन्द्व, मनमुटाव, संघर्ष, गरिबी, शिक्षा र सफलतालाई यो चलचित्रको कथामा मुख्य जोड दिइएको निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वयम् थापाले गरेकी हुन् । ‘लक्ष्मी रानी’ मा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भूमिका रहेको छ । नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भूमिका छ ।

अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरी रहेका छन् । चलचित्रमा सामाजिक तथा ब्यवसायमा सफल ब्यक्ति र नयाँ कलाकारहरुको पनि जोडदार प्रस्तुति रहेको छ ।

विनोद त्रिपाठी, खेमराज लामिछाने, अंचल वान्तवाको समेत यो चलचित्रमा अभिनय रहेको छ । यो चलचित्रको निर्माता समेत रहेका त्रिपाठी राष्ट्रिय दैनिक पत्रिकाहरुमा सफल सम्पादकको काम गरिसकेका चर्चित पत्रकार हुन् । लामिछाने बीमा कम्पनी तथा हाइड्रोपावर ब्यबसायीमा संलग्न छन् । वान्तवा साहित्य लेखनमा लाग्दै आएका छन् । यो चलचित्रमा कमल साउद, सावित्री चिलुवाल, रामु विरही, माधव प्रसाद सिग्देल, जिवन खड्गी, नवराज पाण्डे, विनोद ठाकुर, दामोदर ढकाल, लक्ष्मी राई, नविन चापागाईं, शारदा राई लगायतका कलाकारहरुको अभिनय समेत रहेको छ ।

चलचित्रमा ‘लक्ष्मी रानी लाई…’ भन्ने वोलको शीर्ष गीत रहेको छ । यसमा गायिका तथा गायकमा जुनु रिजाल–दौलत राई र गीतकार लोक राई रहेका छन् । अर्को ‘फुल्यो सयपत्री…’ भन्ने वोलको गीतमा गायक गायिका ध्रुवराज अधिकारी–संगिता तिमिल्सेना र गीतकार शंकर अधिकारी ‘घायल’ रहेका छन् । दुवै गीतमा चर्चित युवा संगीतकार बबुल गिरीको संगीत रहेको छ । चलचित्रलाई रामेश्वर हुमागाईं र दुर्गा वान्तवा राईले छायाङ्कन गरेका छन् ।

सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ । चलचित्र बितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रा।लिले जिम्मा लिएको छ । चलचित्रको यतिबेला धमाधम डबिङको काम भइरहेको र यहि २०७६ सालको तिहारमा प्रर्दशनमा आउने तयारी थालिएको निर्माण पक्षले जनाएको छ । ‘लक्ष्मी रानी’ चलचित्रको सुदुरपश्चिमको दार्चुला, नेपालगञ्ज, चितवनको सौराहा, काभ्रेको पनौती र काठमाडौंमा सुटिङ गरिएको थियो ।

चलचित्रमा हाम्रो समाजमा नारीहरुले जीवन जिउनका लागि कसरी संघर्ष गर्नुपरेको छ भन्ने देखाउन खोजिएकोले सम्पुर्ण नेपाली दर्शकलाई ‘लक्ष्मी रानी’ मनपर्ने निर्देशक थापाले दाबी गरिन् । नेपाली चलचित्र क्षेत्रमा यो फिल्मले ब्रेक थ्रु गर्नेछ, उनले भनिन् ।