नुवाकोटमा विभिन्न अपराधमा संलग्न १६८ जना पक्राउ

नुवाकोटमा विभिन्न अपराधमा संलग्न १६८ जना पक्राउ


जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न अपराधमा संलग्न १६८ जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्ममा विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो ।

विभिन्न आपराधिक क्रियाकलापमा मुद्दा दर्ता भएका र अपराधमा संलग्नता भएका व्यक्तिलाई कानुनको दायरामा ल्याई पक्राउ गरी कारबाही गरिएको हो । सार्वजनिक कसुरमा १८, कुटपिटमा १८, सवारी ज्यान कसुरमा १२, ललाइफकाई तथा करकाप जालसाजीमा ११, जुवातास कसुरमा नौ, चोरी–डकैतीमा १२, लागुऔषध कसुरमा आठ, गालीबेइज्जती तथा झैझगडा कसुरमा आठ, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान कसुरमा आठ, नागरिकता कसुरमा ६, मानव बेचबिखन तथा ओसारपसार कसुरमा ६, जबर्जस्ती करणी कसुरमा ६, सम्बन्धविच्छेद कसुरमा ६, सामाजिक अपराध कसुरमा चार र भवितव्य ज्यान कसुरमा चारजना पक्राउ परेका छन् ।

प्रहरी उपरीक्षक मगरले अपराधमा संलग्न जोसुकै भए पनि पक्राउ गरी कारबाही गरिने बताए । गत वर्ष विभिन्न घटनामा संलग्न १५६ जनालाई पक्राउ गरी कारागार चलान गरिएको थियो । उनीहरूबाट रु. पाँच लाख १५ हजार जरिवाना असुल गरिएको थियो ।