सूचना महामार्गको निर्माणसँगै सबै नेपालीको घरमा इन्टरनेट पुग्ने दाबी

सूचना महामार्गको निर्माणसँगै सबै नेपालीको घरमा इन्टरनेट पुग्ने दाबी


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमद्वारा धादिङको गल्छीमा आयोजित एक समारोहकाबीच मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग (अप्टिकल फाइबर नेटवर्क) निर्माण कार्यको शिलान्यास गरेका छन् । मोवाइल, ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेटलगायतका अत्याधुनिक सञ्चार सेवाहरूलाई उच्च क्षमता र गुणस्तरयुक्त बनाउन र मुलुकभर भरपर्दो र दीगो सञ्चार सेवा उपलब्ध गराउनका लागि थालिएको अभियानको प्रधानमन्त्रीले साबेलले भुँइ खनेर औपचारिक शुभारम्भ गरेका हुन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको र यसका लागि टेलिकमले पाँचवटा कम्पनीसँग निर्माण सम्झौता गरिसकेको बताइएको छ । गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा सम्पन्न सम्झौताअनुसार प्रदेश १ को ५ सय ९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्सस प्रदेश २ को १ हजार २८ किलोमिटरको लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेलवेको ज्वाइन्ट भेन्चर तथा प्रदेश ३ को ५ सय ५५ किलोमिटरको लागि फाइबर बिछ्याउने काम हङकङको सीसीएसआई (चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल)सँग सम्झौता भएको टेलिकमले जनाएको छ ।

त्यस्तैगरी DWDM इक्विपमेन्टका लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ भने राउटर इक्विपमेन्टका लागि सिंगापुरको सिटियस कम्युनिकेसन्ससँग सम्झौता गरिएको छ । यसको निर्माण सम्पन्न गर्ने अवधि दुई वर्षको रहेको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत चियोभञ्ज्याङदेखि आरुघाटसम्म कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल नेटवर्क जोडिने योजना छ ।

बताइएअनुसार उक्त लोकमार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याइने छ । त्यसैगरी लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने अप्टिकल फाइबर ४८ कोर र विभिन्न नगरपालिका जोड्ने अप्टिकल फाइबर २४ कोरका हुनेछन् । उक्त सडक खण्डको उत्तर–दक्षिण क्षेत्रमा पर्ने प्रदेश नम्बर १, २ र ३ अन्तर्गतका ३५ जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकाहरुमा अप्टिकल नेटवर्क विस्तार गरिनेछ । मुलुकभरका जिल्ला सदरमुकाम र यसमार्फत सम्पूर्ण गाउँपालिका, विद्यालय र स्वास्थ्य चौकी आदिमा ब्रोडब्यान्ड नेटवर्क पुऱ्याउने सरकारी नीतिअनुरुप अप्टिकल फाइबर बिछ्याउने कार्य द्रूत गतिमा अघि बढाइएको छ ।

हिजो सोमबार (६ जेष्ठ) नै प्रदेश १ अन्तर्गत धनकुटाको हिलेमा र प्रदेश ३ अन्तर्गत सिन्धुलीको खुर्कोटमा मध्य पहाडी लोकमार्ग सूचना महामार्ग निर्माण कार्यको शुभारम्भ गरिएको छ ।

गल्छीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्ग सूचना महामार्गको निर्माण डिजिटल नेपाल बनाउने कार्यको एक अभिन्न अङ्ग भएको बताए । फोनको मात्र नभएर मोबाइल र इन्टरनेटको समेत गुणस्तरीय सेवा सहज रुपले मुलुकभर प¥ुयाउने उद्देश्यले अप्टिकल फाइबर बिछ्याउने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै उनले सञ्चार क्षेत्रमा यो ठूलो फड्को भएको दाबी गरे ।

सोही कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना महामार्गको निर्माणले उच्च गुणस्तरका अत्याधुनिक सञ्चार सेवाको उपलब्धतासँगै टेलिमेडिसिन, डिस्ट्यान्स लर्निङ, इ–कमर्स, इ–एग्रिकल्चर, इ–टुरिज्म र इ–बैंकिङ सेवामा समेत सूचना प्रविधिको वृहत्तर प्रयोग गर्न सकिने बताए । हाल जम्मा ५६ प्रतिशत जनतामा पुगेको इन्टरनेट पहुँच सूचना महामार्गको निर्माणसँगै सबै नेपालीसम्म पुग्ने दाबी पनि उनले गरे ।

नेपालका लागि चिनियाँ राजदूत होउ याङ छीले सूचना र सञ्चारका क्षेत्रमा नेपाल र चीनबीच फोरजी विस्तारदेखि सूचना महामार्ग निर्माण कार्यमा भएका सहकार्यबाट दुई मुलुकबीचको सम्बन्ध थप मजबुत भएको बताइन् ।

कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, संघीय सांसदहरू भूमी त्रिपाठी, खेम लोहनी तथा प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेका साथै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालकाले पनि मन्तव्य राखेका थिए ।