लेखापरीक्षण गर्दा ‘मुख मिलाउन’ हुँदैन : मन्त्री यादव

लेखापरीक्षण गर्दा ‘मुख मिलाउन’ हुँदैन : मन्त्री यादव


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपाल अडिटर्स एसोसिएसन (अडान) उपत्यका प्रदेश समितिको पाँचौँ अधिवेशनको शनिबार राजधानीमा उदघाटन गर्दै पेसागत मर्यादाभित्र रहेर लेखापरीक्षण गर्न लेखापरीक्षकलाई आग्रह गरेका छन् । सो अवसरमा मन्त्री यादवले लेखापरीक्षणको नाममा राज्यलाई आर्थिक नोक्सानी पुऱ्याउन नहुनेमा पनि जोड दिए ।

‘आर्थिक हिसाब प्रस्ट पार्न लेखापरीक्षकको आवश्यकता छ । लेखापरीक्षण गर्दा राज्यलाई आर्थिक नोक्सानी हुने गरी ‘मुख मिलाउन’ हुँदैन,’ मन्त्री यादवले भने । वास्तविक लेखापरीक्षण गरेर आर्थिक हिनामिना गर्न नदिन लेखापरीक्षकको ठूलो भूमिका रहेको औँल्याउँदै उनले लेखापरीक्षणका क्रममा हुने अनियमितता रोक्न सम्पूर्ण लेखापरीक्षक एक हुनुपर्नेमा जोड दिए ।

जनतालाई प्रभावकारी सेवा उपलब्ध गराउन आफू क्रियाशील रहेको उनको भनाइ छ । उनले कम्पनी, उद्योग, प्रतिष्ठान दर्तालगायत कामलाई सहज बनाउन सरकारले एकल बिन्दु सेवा केन्द्र स्थापना गरिएको उल्लेख गरे । ‘लेखापरीक्षणका क्रममा हुने अनियमितता रोक्ने हैसियत र सीप तपाईंहरूसँग छ, अब सरकारलाई लेखापरीक्षकको साथ चाहिएको छ,’ उनले भने, ‘एकल बिन्दु सेवा केन्द्रबाट सम्पूर्ण सेवा उपलब्ध हुनेछ, अब लेखापरीक्षकले कम्पनी तथा उद्योगसँग सम्बन्धित फाइल बोकेर विभिन्न निकाय धाउनुपर्ने छैन, कर्मचारी र लेखापरीक्षकले पुरानो मानसिकता त्यागेर कुनै अनियमितता नगरी काम गर्नुपर्छ ।’

अधिवेशनले आत्मराम चापागार्इंको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा टीकाराम पौडेल, सचिवमा उत्सव केसी, सहसचिवमा सोमनाथ अधिकारी, कोषाध्यक्षमा बाबुराम थापा र सहकोषाध्यक्षमा पुस्कर भुर्तेललाई चयन गरेको अधिवेशनले सन्तोष किशोर लाभा, डिल्लीप्रसाद दाहाल, देवबहादुर अधिकारी, चेतनाथ काफ्ले, गणेशप्रसाद दुवाल, हरिन्द्रराज घिमिरे, हीराकाजी महर्जन, जनार्दन पण्डित, लक्ष्मीप्रसाद चौलागाईं, राजन थापा, सुरेन्द्रदेव श्रेष्ठ र सतिशराज भट्टराईलाई सदस्यमा गरेको सहनिर्वाचन अधिकृत भोला नाथ पाठकले जानकारी दिए ।

अडानका अध्यक्ष मोहनराज रेग्मीले विगतमा लेखापरीक्षण पेसामा विकृति देखिएको स्वीकार गर्दै अब उप्रान्त लेखापरीक्षणका क्रममा हुने मिलेमतो रोक्नुपर्ने बताए । उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट ऐन, २०५३ ले लेखापरीक्षकलाई विभेद गरेको गुनासो गर्दै सो हटाउन सबै एकजुट भएर लाग्नुपर्ने उल्लेख गरे ।

तीन हजारभन्दा बढी लेखापरीक्षक आबद्ध रहेको नेपाल अडिटर्स एसोसिएसन (अडान) को केन्द्रीय महाधिवेशन आगामी जेठ १७ र १८ गते काठमाडौैंमा हुने र सोको आतिथ्यता प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने सो अवसरमा जानकारी दिइयो ।