मेयरकपमा मानसिंह डोजो च्याम्पियन

मेयरकपमा मानसिंह डोजो च्याम्पियन


नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो मेलम्चीको आयोजनामा मेलम्ची नगरपालिका मेयरकप खुला कराते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नौ स्वर्ण, चार रजत र आठ कांस्य पदकसहित मानसिंह डोजो पहिलो भएको छ । सात स्वर्ण, चार रजत र तीन कांस्य पदकसहित मनकामना डोजो दोस्रो तथा ६ स्वर्ण, सात रजत र नौ कांस्य पदकसहित दक्षिण ढोका डोजो तेस्रो भए ।

महिलाको जुनियर कातामा जेकेएफ गोजुकाइकी सरिता परियारले स्वर्ण, बाह्रबिसेकी अनिषा थापामगरले रजत तथा मनकामनाकी गरिमा गिरी र मानसिंहकी सबिना तामाङले कांस्य पदक जिते । सिनियर कातामा मनकामनाकी गीता सुनुवारले स्वर्ण, मानसिंहकी आरती भण्डारीले रजत तथा दक्षिणढोकाकी रिचा लामा र अच्छीभिदु अर्यालले कांस्य पदक जिते ।

पुरुषको जुनियर कातामा केन्वोकाइका राज भोटुङ तामाङले स्वर्ण, सागर न्यौपानले रजत तथा दक्षिणढोकाका छिरिङ न्यौटी प्लानु र जोरपाटीका सन्दीप लामाले कांस्य पदक जिते । सिनियर कातामा मनकामनाका विकबहादुर थामीले स्वर्ण, दक्षिणढोकाका दीपेश पुरीले रजत तथा मानसिंहका आकास मण्डल र दक्षिणढोकाका सुजन कुमार पुरीले कांस्य पदक जिते ।

दुईदिने प्रतियोगितामा काता र कुमुते गरी ४० स्पर्धा समावेश थिए । कुल २१ डोजोका तीन सय खेलाडीको सहभागिता रहेको आयोजक कमिटीका प्रमुख सानुबाबु गिरीले जानकारी गराए । प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी राजनमान श्रेष्ठले गरेका थिए । प्रतियोगिताको मुख्य प्रयोजक मेलम्ची नगरपालिका रहेको थियो ।