मेलम्चीको पानीलाई लिएर श्याम ज्यापुले उठाए प्रधानमन्त्रीको क्षमतामाथि प्रश्न

मेलम्चीको पानीलाई लिएर श्याम ज्यापुले उठाए प्रधानमन्त्रीको क्षमतामाथि प्रश्न


पाँच वर्षमा सम्पन्न गरिसक्नुपर्ने मेलम्ची खानेपानी आयोजना २० वर्षसम्म पनि पुरा गर्न नसकेको भन्दै श्याम ज्यापुले सरकारको कडा आलोचना गरेका छन ।

सरकारले पटक–पटक आफुहरुलाई पानी आउँछ भनेर आश्वाशसनमात्र दिईरहेको तर आयोजनको काम अझै अनिश्चित् पार्दे गएकोमा उनले आक्रोस पोखे ।

ललितपुर जावालाखेलका स्थायी वासिन्दा श्यामले प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ को दशैं अघि नै काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याईसक्ने बताएपनि अहिलेसम्म आयोजनाको काम समपन्न हुने छाँटकाँट नदेखिएको आरोप लगाए ।

सरकारको कार्यशैलीप्रति आपत्ति जनाउदै आएका उनले बिरोधस्वरुप २०७५ को घटस्थापनापछि दैनिकजसोे आफ्नो मोटरसाईकलको पछाडी ‘म बौलाहा हुँ, मेरो घरको यस धारमा मेलम्चीको पानी कहिले आउँछ ? मेरो नेपाल । हाम्रो गौरवको ब्यानर राखेर हिँड्ने गरेकोे पनि सुनाए ।

उनले सरकारको काम कारवाहीप्रति असुन्तुष्टि जनाउँदै २०७६ को आषाढभित्र पनि मेलम्चीको पानी आउने अवस्था नदेखे सरकारले गर्नुपर्ने काम आफुले भिख मागेर भएपनि सम्पन्न गरी काठमाडौंमा पानी ल्याउने घोषणा समेत गरे ।

ठेकेदार कम्पनी र सरकारकोे बिचमा बेला–बेला उत्पन्न समस्याले आफुजस्ता लाखौं जनता पीडा बोकेर हिँड्नुपरेको उनको भनाई छ । कहिले मेलम्चीको ठेकेदार काम नै प्रभावित पारेर गएको र कहिले सिएमसीसंगको बिषयले सरकारले काम नभएको कारण देखाउदै आफुहरुको आँखामा छारो हाल्ने काम गरिरहेको उनको आरोप थियो ।

२० वर्षमा १३ जना प्रधानमन्त्रीले १९ पटक सरकार प्रमुखको जिम्मेवारी पाइसक्दा पनि काठमाडौंबासीको काकाकुल मेट्न नसकेकोे उनको भनाई रहेको छ । ‘के एउटा आयोजना सफल गर्नसक्ने सक्षम प्रधानमन्त्री देशले अहिलेसम्म नपाएकै हो त ? अहिलेसम्मका सरकार प्रमुखले चाहेको भए एउटा योजना सफल बनाउन कति समय लाग्छ ?’–उनले आक्रोस पोखे । आफुजस्तै लाखौं घरकापरिवार अहिलेपनि ट्यांकरको पानीमा निर्भर रहँदै आएको बताउदै उनले सरकाले मेलम्चीको बिषयमा विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे ।
पानीको पाईप बिच्छ्याउने निहुँमा सरकारले बनेको बाटोमात्र तोडेर धुलाम्मे पारिरहेको तर पाईपबाट पानी नआएर सरकारले जनतालाई हावा खुवाईरहेको उनको आरोप छ ।