नब्बे सालका तीन दुःखद घटना

नब्बे सालका तीन दुःखद घटना


सङ्कुचित भावना भएका मानिसहरूले १९९० साललाई (शून्य साल हुँदा) अशुभ साल भनी यसमा यस्तो हुन्छ र उस्तो हुन्छ धेरै महिनाअघिदेखि भन्न थालेका थिए । कहिलेकाहीँ नपत्याइँदो कुरा पनि पत्याउनुपर्ने परिस्थितिले पार्दछ– नपत्याउने खोलाले बगाएझैँ । नेपालमा रुढिबुढीले अहिलेसम्म तारिख धान्नाको एक कारण पनि त्यस्तै काकताली पर्नाले हो । १९९० सालमा धेरैले नचिताएका तीन घटना घटे । तीमध्ये एक थियो सेतोदरबारको दुःखद अग्निकाण्ड ।

१९९० साल वैशाखमा सेतोदरबारमा आगो उठ्यो– मे.ज. सुरशमशेरको दरबारको एक लङबाट । हेर्दा सेतो त्यो दरबार सिंहदरबारभन्दा अलि मात्र सानो भए पनि त्योभन्दा कम भव्य कुनै हालतमा थिएन । हिटीदरबारदेखि जमलसम्म लमतन्न पसारिएको त्यो दरबार श्री ३ वीरशमशेरका छोरा, हजुरिया ज. गेहेन्द्रशमशेरको भागमा परेको थियो । हेर्दा लालदरबार, हिटीदरबार, चारबुर्जा र फोहरा दरबारभन्दा यो सेतोदरबार बढी चहकिलो देखिन्थ्यो । श्री ३ वीरशमशेरकै पालामा पनि यसलाई बनाउन पचास लाख रुपैयाँ लागेकाले यसका चोटाकोठा र खास गरेर त्यो ठूलो वीरशमशेरको बैठक देख्ने मानिसहरूको मुखबाट सुनेको बयान पत्याई नसक्नु थियो ।

१९४२ सालपछि थापाथली दरबारका धेरैजसो अद्वितीय तस्बिर, सेन्डलियर, काँचका र ऐनाका मूर्तिहरू सेतोदरबारमा सरेका थिए– जंगबहादुरका सन्तानहरू सबै लाखापाखा लागेकाले, ठूलो बैठक आगोले खाग पारिसक्नुभन्दा अघि भित्तामा झुन्डिएका श्री ३ वीर र श्री ३ जंगका ती दुई ठूला पेन्टिङ (तस्बिहरू) जस्ताको–तस्तै झिकेर ल्याउनेलाई ठूलो पुरस्कार दिने ज. केशरशमशेरले सङ्कल्प गरेकाले श्री ३ जंगको तस्बिरसम्म त दन्केको आगोबाट झिकियो, तर काम नलाग्ने हालतमा । अरू काम लाग्ने कुनै माल झिक्न कसैले सकेनन्– आगोको लप्काले सेतोदरबार चारैतिरबाट चाटिएकोले । त्यति ठूलो आगलागी तीन शहर नेपालमा अहिलेसम्म भएको छैन । दरबारका सबै झ्याल, ढोका, दलिन, छाना सल्लाका काठले बनेका र चोटा, कोठा जताततै बाक्लो रोगन लागेकोले आगो तुरुन्तै दन्कियो ।

आगोले खाएको दरबारलाई पल्टनले घेरेर राख्यो– धनमाल सुरक्षित राख्न । तर, आगो कसैले निभाउन सकेन । दरबारमा आगोले खाएका ऐना र काँच फुटेको आवाज परपरसम्म सुनिन्थ्यो । त्यसबेला आगो निभाउने कुनै साधन नेपालमा नहुँदा त्यति ठूलो दरबार र पैसाले किन्न नसकिने स्वदेशी–विदेशी सामान, महारानी भिक्टोरिया, नेपोलियन तृतीय र एड्वार्ड सप्तौँजस्ताले जंगबहादुर, धीर र वीरशमशेरलाई दिएका उपहार र श्री ३ वीरशमशेरले जीवनभर स्वदेश–विदेश भ्रमणमा सङ्कलन गरेका विशेष सामानहरू आगोले हजम गरेको दृश्य सबले ट्वालट्वाल्ती हेरिरहे– लाटाले केरा हेरेझैँ । धेरै दिनसम्म पनि त्यो विशाल दरबारको कहीँ न कहीँ धुवाँ पुतपुताएको देखिन्थ्यो ।

श्री ३ वीरशमशेर त्यही सेतोदरबारमा बस्दथे, त्यसको दक्षिण फर्केको ढोका अझै पनि भग्न अवस्थामा उभिएको छ– (काठमाडौं गोदामबाहिर, मायालु होटेलको बगलमा) । ज. गेहेन्द्रशमशेरका दुई छोरा मे.ज. लीलाशमशेर र मे.ज. सुरशमशेर सेतोदरबारमा बस्दथे । आगो मे.ज. सुरशमशेरको लङबाट शुरु भएकोले उनको भाग त पूरै खाग भयो । यही दरबारको पश्चिम भागमा उभिएको देखिन्थ्यो, अग्लो उइण्ड मिलको ठूलो पङ्खा ।

यही मिलले ज. गेहेन्द्रशमशेरको ज्यासल चलाउँदथ्यो । त्यस प्रख्यात ज्यासलमा त्यसबेला, किसिम–किसिमका तोप, बन्दुक, पेस्तोल मात्र तयार हुँदैनथे, त्यो थियो एकप्रकारको काठमाडौंका प्रतिभाशाली कालिगढका छोराको कार्यशाला भने पनि हुन्छ । त्यहीँका कालिगढले पछि नख्खु र सुन्दरीजलको मेक्चिन चलाएथे । त्यहाँ बनेका राइफल र पेस्तोल छाउनीको राष्ट्रिय सङ्ग्र्रहालयमा अझै छन् ।

जुन रौनकले त्यो सेतोदरबार श्री ३ वीरशमशेरले बनाएथे त्यस्तै तिनका नातिले फेरि बनाउने त कुरै थिएन । १९४५ सालतिर त्यसलाई बनाउन र सजाउन पचास लाख रुपैयाँ लागेको थियो भने १९९० सालमा दुई–तीन करोडले पनि भ्याउँदैनथ्यो ।

जुन रौनकले त्यो सेतोदरबार श्री ३ वीरशमशेरले बनाएथे त्यस्तै तिनका नातिले फेरि बनाउने त कुरै थिएन । १९४५ सालतिर त्यसलाई बनाउन र सजाउन पचास लाख रुपैयाँ लागेको थियो भने १९९० सालमा दुई–तीन करोडले पनि भ्याउँदैनथ्यो । आजभन्दा चवन्न वर्षअघि दुई–तीन करोड निकै ठूलो रकम गनिन्थ्यो, त्योभन्दा कम गनिँदैनथ्यो त्यसभन्दा पैँतालीस वर्षअघि पचास लाख रुपैयाँ । ठूलो दिल भएका श्री ३ जुद्धशमशेरले मे.ज. लीलाशमशेर र मे.ज. सुरशमशेरलाई अग्निले ध्वस्त सेतोदरबार बनाउन सहयोग गर्ने आश्वासन व्यक्त गरेस्, तर उनीहरूले आँट्न सकेनन् । आँटेका भए सेतोदरबार शायद बन्दो हो, तर ज. गेहेन्द्रशमशेरजस्ता प्रतिभाशाली व्यक्तिले बनाएको जमलको त्यो ज्यासल (वर्कसप) त चानचुनेले बनाएर नबन्ने खालको थियो ।

सेतोदरबार दैवीप्रकोपमा परी आगोले खायो भने त्यो बहुमुखी ज. गेहेन्द्रशमशेरको ज्यासल र उइन्ड मिल त पुरानो सीप र पवन शक्तिको पारख गर्न छाडेका नेपालीको हेलचेक्र्याइँले खायो भन्नुपर्दछ । सन्तानब्बे–अन्ठानब्बे वर्षअघि यही नेपालमा पवन शक्तिद्वारा ज्यासलका मेसिन चलाइएको थियो भन्ने कुरा आजकल पत्याइनसक्नु हुन्छ । पछिसम्म पनि त्यस प्रख्यात ज्यासलका मेसिनहरू, लाटीका साल, जमलको चौरमा लथालिङ्ग फ्याँकिएका देखिन्थे ।

गजुर र मूर्ति चोर्नेजस्तो निच प्रवृत्ति भएका मानिसले ती बेवारिसे कल–पुर्जाहरूलाई पत्रुको भाउमा लगी विदेशमा बेचे । सेतोदरबारको साथसाथै ज. गेहेन्द्रशमशेरको जमलको ज्यासल पनि बिलायो । सेतोदरबारको आगलागी काण्डपछि मात्र नेपालमा वारुणयन्त्र सर्वप्रथम ल्याइयो । घन्टाघर र दरबार स्कुलबीच उत्तरतिर उभिई ती दुवैको शोभा बढाएको त्यो पवन मिल र अद्वितीय सेतोदरबारलाई पछिसम्म पनि मानिसले झलझली सम्झन्थे । यी दुई चिज थिए त्यसबेला काठमाडौंका अद्वितीय चिनारी ।

त्यसबेला सेतोदरबारका दौँतरी थिए नारायणहिटी दरबार (१८६० सालमा श्री घोकलसिंह बस्नेतले कीर्तिमन्दिर भन्ने घर बनाए । पछि त्यो घर पाँच सरकार लागेकोले १९०३ सालमा ज. रणोद्दीपसिंहले त्यसलाई पाए । उनी मारिएपछि त्यसमा श्री ५ पृथ्वी वीरविक्रम राजा भएकाले त्यसको नाम नारायणहिटी दरबार रह्यो), हिटीदरबार (१९०३ सालपछि पुष्कर शाहका सन्तान लाखापाखा लागेकाले उनीहरूको घरको पूर्वतिर ज. धीरशमशेर र पश्चिमपट्टि ज. जगतशमशेर बस्दथे) फोहरादरबार (जगतशमशेर मरेपछि उनी बसेको घरमा फोहरादरबार र अर्को ठूलो दरबार बने), लालदरबार (श्री ३ वीरले आफ्नो मन
परेको छोरा तेजशमशेरलाई बनाएको रातो घर), केशरमहल (१८६३ अघि काजी नरसिंह गुरुङको घर जसलाई १९०३ सालपछि ज. बद्रीनरसिंहले लिए । अनिपछि केदारनरसिंहका खलकबाट ज. केशरले किनेर त्यहाँ केशरमहल बनाए) ।

नारायणहिटीबाहेक, त्यसबेलाका अरू ती उत्कृष्ट पाँच दरबार या त नष्टै भए अथवा छितरबितर भई ‘गलितनखदन्त’ को हालतमा र चोला बदली अझ जिउँतिउँ उभ्भिएकासम्म छन् । त्यौडको ज्वालामाईको मन्दिरअगाडिको चोक हो काजी दामोदर पाँडेको घर, त्यो चोकलाई अझै पनि करवीरचोक भनिँदै छ, रञ्जना सिनेमाको ढोकाअगाडि पूर्व–दक्षिणमा हाल भग्न अवस्थामा उभिएको घर हो– काजी वंशराज पाँडेको, मुख्तियार भीमसेन थापाको छाउनीको घर म्युजियम बनेको छ । श्री ३ जंगबहादुरको थापाथलीको दरबार बाँडचुँड भएको छ ।

अरू विकसित देश–देशावरमा जस्तै नेपालमा पनि प्राचीन भव्य महलहरूलाई यथासम्भव यथावत् राख्ने चलन, कम–से–कम प्रजातन्त्र आएपछि चलिदिएको भए, लालदरबार, हिटीदरबार, फोहरादरबार, जाउलाखेलदरबार, टंगालदरबार, भाटभटेनीदरबार (धर्मशमशेरको घर), अरू ऐतिहासिक घरहरू– करवीरचोक, काजी वंशराज पाँडेको घरहरूले काठमाडौं उपत्यकाको शोभा बढाउँदा हुन्, जस्तो आज शीतलनिवास, बबरमहल, लक्ष्मीनिवास, ललितानिवास, सिंहमहल, शङ्करमहल, केशरमहल, चारबुर्जा, हिटी र सिंहदरबार, हनुमानढोका, पाटन र भक्तपुरदरबार, पशुपतिनाथ, स्वयम्भूनाथ र बौद्धनाथको मन्दिरले बढाएका छन् । धेरै मूर्ति र गजुरहरू उडेर बिदेसिए भने, कति महल, घर र मन्दिरहरू नेपालीका लापरबाहीले पतालिए र भताभुङ्ग भए– त्यसबेला हामीमा भएका मालको सम्भार गर्ने बानीको कमीले गर्दा ।

(त्यसबखतको नेपाल, भीमबहादुर पाँडे)