शीर्ष नेताहरुबीच मतैक्यता नभएपछि नेकपाको सचिवालय स्थगित

शीर्ष नेताहरुबीच मतैक्यता नभएपछि नेकपाको सचिवालय स्थगित


पोलिटब्यूरोको गठन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा एकताको बाँकी कामको टुङ्गो लगाउन आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ ।

शीर्ष नेताहरुको कार्यव्यस्तता र कार्यसूचीमा तयारी अभावका कारण बैठक सरेको जनाइएको छ । सचिवालयको औपचारिक बैठक नबसे पनि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड तथा अन्य नेताहरुबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक बैठक भएको थियो ।

केन्द्रीय सदस्यमध्ये बाट पोलिटब्यूरो सदस्यको चयन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, केन्द्रीय निकायको एकता तथा प्रभाव कमिटीको एकताका विषयमा पार्टीमा छलफल चलिरहेको छ । यही जेठ २ गतेको सचिवालय बैठकले जनवर्गीय सङ्गठनको संयोजक, सहसंयोजक र केन्द्रीय सदस्यहरुको सङ्ख्या निर्धारण गरेको थियो । तर, पोलिटब्यूरोको गठनलगायतका एजेण्डामा शीर्ष नेताहरुबीच विवाद बढेपछि बाँकी निर्णय लिने काम अन्योलमा परेको नेकपाका एक सदस्यले बताए ।