मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघको भोलिदेखि दोस्रो चरणको आन्दोलन

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघको भोलिदेखि दोस्रो चरणको आन्दोलन


सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

पहिलो चरणको आन्दोलनमा माग सम्बोधन गर्नेतर्फ सरकारले कुनै तत्परता नदेखाएको भन्दै महासंघले संघर्षका थप कार्यक्रम सार्वजनिक गरेको हो ।

महासंघले विज्ञप्तिमार्फत आगामी दोस्रो चरणका कार्यक्रमको घोषणा गरेको हो । विज्ञप्तिमा जनाइएअनुसार जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरूसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरूको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरूसँग भेट गरी छलफल गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरूको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने, जेठ २१ र २२ गते महासंघका जिल्ला शाखाहरूले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेसाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने विज्ञप्तिमा उल्लेख छ ।

महासंघले विज्ञप्तिमा जनाएअनुसार जेठ २३ र २४ गते केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेसाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गरी जेठ २५ गत दिनको तीन बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत् प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।