अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर

अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर


दैनिक उपभोग्य वस्तु अनुगमनको अभाव, बढी उत्पादन गर्ने र धेरै पैसा कमाउने मोहमा कृषकले तरकारी तथा फलफूलमा जथाभावी प्रयोग गर्ने विषादी तथा अनियन्त्रित बजारका कारण मानव स्थास्थ्यमा गम्भीर असर परेको छ ।

बजारमा उपभोग गर्नका लागि सम्बन्धित कम्पनीले निर्धारण गरेको उपभोग्य म्याद नाघेका खाद्य पदार्थ, कृषकले विषादी प्रयोग गरी उत्पादन गरेका तरकारी तथा फलफूललगायत विना मापदण्ड खुलारुपमा बजारमा बिक्री भइरहेका मासुजन्य पदार्थका कारण उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको ‘नसर्ने रोग र यी रोगबाट बच्ने उफाय’ विषयक अन्तरक्रिया कार्यत्रममा सहभागी सरोकारवालाले अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको बताएका हुन् ।

स्वास्थ्य कार्यालयका प्रमुख भीम आचार्यले बजारमा उपभोग्य म्याद नाघेका दैनिक उपभोग्य वस्तु महङ्गो मूल्य तिरेर खान उपभोक्ता बाध्य भएको बताउँदै विशेषगरी खाने तेल, मैदा, पीठो, अण्डा, मासु, तरकारी, फलफूललगायतका चिजबाट नसर्ने रोग (जस्तै मुटुरोग, मधुमेह,उच्च रक्तचाप नसासम्बन्धी रोग) बढी मात्रामा देखिने गरेको बताए । खानपानमा असावधानी, तनाव र व्यस्त दैनिकीका कारण सर्ने रोगको तुलनामा नसर्ने रोगबाट मानिस बढी पीडित हुन थालेका आचार्यको भनाइ थियो । त्यसैगरी बेनी नगरपालिका–६ का अध्यक्ष एवं नगरपालिकाका कृषि संयोजक कृष्ण बानियाँले खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको अनुगमन र निरीक्षण नगरिँदा बजार अनियन्त्रित बन्दै गएको र त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने गरेको बताए ।