प्रतिबद्धताअनुरुपको बजेट नआए सरकारप्रतिको विश्वास घट्दै जान्छ : पूर्वप्रम नेपाल

प्रतिबद्धताअनुरुपको बजेट नआए सरकारप्रतिको विश्वास घट्दै जान्छ : पूर्वप्रम नेपाल


पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको यो आधार वर्ष भएकाले आलोचना गर्ने बेला भइनसकेको बताएका छन् । उनले पार्टी एकताले लामो समयसम्म पूर्णता नपाउँदा सरकारले गरेका राम्रा कामको प्रचार हुन नपाएको बताए ।

संविधानसभाका पूर्वसभासद् अनारकली मियाँको ‘संसद्मा पहिलो पाइला’ पुस्तकको विमोचन गर्दै नेता नेपालले नागरिकले परिवर्तनको अनुभूति गर्ने ढङ्गले सरकारले काम कारवाहीलाई अघि बढाउनुपर्ने बताए । ‘सरकारले ल्याएका नीति तथा कार्यक्रम पारित भएको छ’, उनले भने, ‘अब बजेटमार्फत जनमुखी र लोकप्रिय कार्यक्रम ल्याउनुपर्छ ।’ नेता नेपालले चुनावमा गरेका प्रतिबद्धता बजेटमार्फत सम्बोधन गर्न नसकिए सरकारप्रतिको विश्वास घट्दै जाने बताए । उनले पार्टी एकताले पूर्णता पाइसकेको भन्दै अब केही दिनमै पोलिटब्यूरो गठन हुने बताए ।

‘मियाँ सिर्जनशील व्यक्ति हो, उनले भने, ‘संविधानसभा र संविधान बनेपछिको रुपान्त्रित संसद्मा उहाँको भूमिका निकै प्रभावकारी रह्यो ।’ नेता नेपालले समाजका लागि योगदान गरेका जो कोही व्यक्तिले पनि संस्मरण लेख्नुपर्ने बताए ।

नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले आफू जस्तै संसद्को अनुभव गर्न नपाएकालाई पुस्तकबाट केही कुरा सिक्ने अवसर मिल्ने बताए । राष्ट्रियसभाका सदस्य रामनारायण विंडारीले मियाँले लेखेको पुस्तकले समाज परिवर्तनमा ठूलो योगदान पु‍र्याउने बताए । पूर्वमन्त्री शान्ता मानवीले पितृसतात्मक समाजमा लेखकले हिन्दू ब्राह्मण जातिका व्यक्तिसँग विवाह गरेर क्रान्तिकारी महिलाको परिचय बनाएको बताइन् । लेखक मियाँले पुस्तकमा बाल्यकाल, प्रेम सम्बन्ध, विवाह गर्दाका कठिनाइ, राजनीतिक जीवन र संसद्को भोगाइलाई जस्ताको जस्तै उतारेको बताइन् ।