‘मातृभूमिका लागि नेपाली’को महाभेला सम्पन्न

‘मातृभूमिका लागि नेपाली’को महाभेला सम्पन्न


‘मातृभूमिका लागि नेपाली’को महाभेला काठमाडौमा सम्पन्न भएको छ । केशवप्रसाद भट्टराइको सभातित्वमा आयोजित भेलामा विभिन्न जिल्लाका सचेत नागरिकहरूको सहभागिता थियो ।

महाभेलामा आएका सहभागीहरूलाई लुम्बिनी, मूक्तिनाथ र सिन्धुली लडाइँको किल्लाबाट ल्याइएको माटोको टीका लगाएर स्वागत गरिएको थियो भने बुद्ध प्रतिमाको नमन गर्दै देशका लागि लड्ने शहीदको स्मरण एवम् ‘गाउँछ गीत नेपाली…’ गीतको गुञ्जनबाट भेला आरम्भ गरियो ।

भेला आयोजनाबारे प्रकाश पार्दै संयोजक देवप्रकाश त्रिपाठीले राजनीतिकर्मीले देशलाई केन्द्रमा राखेर सोचिदिउन् भन्ने नेपालीको आशा टुटेकोले अभियान शुरु गर्नुपरेको बताउनुभयो । देशमा आजसम्म भएका राजनीतिक परिवर्तनहरूले नेपालीको अवस्था परिवर्तन गराउन नसकेको, अदृश्य शक्तिको कब्जामा नेता, नेतको कब्जामा कार्यकर्ता र कार्यकर्ताको कब्जामा जनता परेकाले देश अवनति र अवसानतर्फ लागेको उल्लेख गर्दै त्रिपाठीले ०६२ सालयता मात्र विभिन्न आठ सय बुँदा सम्झौताहरू भएको तर ती बुँदाले जनतासँग जोडिएका एउटै समस्या पनि सम्बोधन नगरेको प्रष्ट्याउनुभयो ।

उहाँले नेताहरूलाई लक्षित गर्दै भन्नुभयो– ‘हामीलाई मन्त्री–प्रधानमन्त्री बन्नु छैन, त्यो तपाईंहरू नै बन्नुहोस्, देश तपाईंहरू नै चलाउनुहोस् तर नेपाली भएर चलाइदिनुहोस् !’

सभामा मन्तव्य राख्दै अर्थविद् डा. तिलक रावलले देशको आर्थिक अवस्था पहिलेदेखि नै नराम्रो रहेको र वर्तमान सरकार निर्माणपछि निकै आशा गरिएकोमा झनै नराम्रो दिशातिर मुलुकको आर्थिक अवस्था खस्किएको चित्रण गर्नुभयो । कृषिप्रधान देश भनेर चिनिने नेपालले गत आठ–दश महिनामै ३२ अर्बको खाद्यान्न आयात गरेर खाएको सन्दर्भ कोट्याउँदै उहाँले शासक खराब भए भने श्रोतसम्पन्न मुलुक पनि टाट पल्टिने र शासक सही भएमा श्रोत नै नभएको भनिएका देशले पनि उन्नति गर्ने उदाहरण प्रस्तुत गर्नुभयो ।

अर्का वक्ता केशवप्रसाद भट्टराईले सबै मुलुकलाई समेटेर मुलुकको बस्तुनिष्ठ परराष्ट्र नीति तर्जमा गर्नुपर्ने औंल्याउनुभयो । ३ वर्षदेखि चीन तर्फको नाका बन्द हुँदा पनि हामीलाई कुनै महसुस नै नहुने र तीन घण्टा मात्र भारतले बोर्डर बन्द गरिदियो भने हलचल मच्चिने कारण के हो महसुस गर्नुपऱ्यो भन्दै उहाँले नेपाललाई युएनबाट शान्ति क्षेत्र घोषित गराउनुपर्ने धारणा अघि सार्नुभयो ।

यसैगरी, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले मुलुकको धर्म–संस्कृति नास हुन लागेकोमा चिन्ता प्रकट गर्नुभयो । देशका प्रमुख नेताहरू नै इसाइकरणको चङ्गुलमा फसेको आरोप लगाउँदै उहाँले यही गतिले इसाइको प्रभाव बढ्दै गए आठ–दश वर्षमै मुलुक इसाइमय भई मौलिक पहिचान गुम्ने ठोकुवा गर्नुभयो । राष्ट्र बचाउने धर्म भनेको आमेकार परिवार बचाउनु रहेको तर्क गर्दै उहाँले हिन्दुराष्ट्र होइन पहिले हिन्दुत्वको रक्षा गर्नु अपरिहार्य रहेको सुझाव दिनुभयो । नेपाली जनता बेलैमा सचेत नभए पशुपतिनाथलाई नै म्युजियममा पुऱ्याउने परिवेश निर्माण भइरहेको डरलाग्दो अवस्था उहाँले औंल्याउनुभयो ।

यसैगरी नारायण कोइरालाले विकेन्द्रीकरणको सवालमाथि प्रकाश पार्नुभयो भने डा. राजेश अहिराजले देशमा आरक्षण होइन सवलीकरणको आवश्यकता रहेको तार्किक धारणा प्रस्तुत गर्नुभयो । आरक्षणले सक्षमलाई पलायन गराउने उल्लेख गर्दै उहाँले आरक्षण बिषवृक्ष भएकोले पूर्णतः खारेज गरिनुपर्ने माग गर्नुभयो ।

डा. केबी रोकायाले नेपाल बचाउने हो भने शाहवंशीय राजसंस्था, नेपाली सेना र हिन्दु धर्म बचाउनुपर्ने तर्क राख्दै नेपाल धर्मनिरपेक्ष राष्ट्र रहेमा भोलि कुनै पनि धर्म नरहने ठोकुवा गर्नुभयो । माओवादी आन्दोलनलाई शुरुमा अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका इसाई धर्मावलम्बी डा. रोकायाले हिन्दु धर्मको रक्षा गर्दै सङ्घीयता र धर्मनिरपेक्षताको खारेजी यतिबेलाको प्रमुख आवश्यकता रहेकोमा जोड दिनुभयो ।

पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, बेलायत आप्रवासनमा रही नेपालको निम्ति लागिपरेका भरत रोकाया क्षेत्री, नेपाली युवालाई कामको लागि विदेश पलायन हुनबाट रोक्दै स्वदेशमै रोजगारीको माहोल पैदा गराउने अभियानमा जुटेका लक्ष्मी आचार्य, बृषध्वज वाइवालगायतले सम्बोधन गरेको भेलामा १००८ महामण्डलेश्वर चैतन्य महाराजले पनि सारगर्वित मन्तव्य दिनुभएको थियो भने डा. चिन्तामणि योगीको ज्ञानववर्द्धक जोशिलो सम्बोधन र विख्यात गायक शिशिर योगीद्वारा प्रस्तुत राष्ट्रभक्तिले ओतप्रोत गीतले महाभेलामा रौनकता थपेको थियो ।

सो भेलाले देवप्रकाश त्रिपाठीको संयोजकत्वमा ‘मातृभूमिका लागि नेपाली’को केन्द्रिय परिषद घोषणा गरेको छ । परिषदमा डा. तिलक रावल, केशवप्रसाद भट्टराई, नारायणप्रसाद कोइराला, अरुणकुमार सुवेदी, डा. राजेश अहिराज, लक्ष्मीप्रसाद आचार्य, डा. भरत थापा, सुवास आचार्य, गोमा प्रधान, विमला थापा, नरोत्तम श्रेष्ठ, सनत आचार्य, दीपक गजुरेल, शम्भुमान सिंह, हमिद शाह, जगदिशकुमार थापा, भवानी शर्मा, रामेश्वर चौलागाईं, राजकुमार श्रेष्ठ, राजाराम श्रेष्ठ, कृष्णराज शर्मा, शेखर ढुङ्गेल, सुशील देवकोटा, सागर सुवेदी, यमलाल सुवेदी, डा. अम्बारिश पोखरेल, छत्रबहादुर मैनाली, वीरबहादुर चौधरी, नवीन हमाल, विजय ज्ञवाली, पूर्णसिंह खड्का, राजेन्द्र राना, बृषध्वज वाइवा, श्यामसुन्दर शर्मा, डिल्ली बसेल, माधवी कटुवाल, गोपाल नेपाल, रामप्रसाद पौडेल, सुवास नेपाल, काशिराम ढुङ्गाना, आभासेतु सिंह, बासुदेवचन्द्र मल्ल, गौरिलाल डाँगी, रामप्रसाद पौडेल, डा. गणेश शाह, अमन खड्का, कल्पना मेघाले मगर, भोजराज क्षेत्री, गजेन्द्र हमाल, गजेन्द्र पौडेल, दिलमाया तामाङ, प्रवल नरसिंह राणा, रमेश रिसाल, रामेश्वर राउत, कृष्ण लामा, काशिराम पाठक, हर्क कार्की, जयबहादुर मल्ल, केशव चौलागाईं, यज्ञबहादुर थापा, अमर सुनार, रोममणी पाठक, युवराज केसी, छन्द भुषाल, केशव खतिवडा, जुलुमरत्न डङेल, कर्ण केसी, हरिराज श्रेष्ठ, जगतगुरू वीरेन्द्र आचार्य, स्वरुप सुयल, वीरेन्द्र साह, अफजल मिया र माधव नेपाल लगायत रहेका छन् ।

शिरोमणि दवाडीले सञ्चालन गर्नुभएको सो भेलामा स्वागत मन्तब्य गोमा प्रधानले तथा नरोत्तम श्रेष्ठले धन्यवाद मन्तब्य प्रकट गर्नुभएको थियो ।