विरहको धुन बजाउँदै बाह्रपोखरी

विरहको धुन बजाउँदै बाह्रपोखरी


–छविलाल बगाले
पर्यटकीय क्षेत्र बाह्रपोखरीलाई बराहपोखरीको नामले पनि चिन्ने गरिन्छ । संभावना भएर पनि बाह्रपोखरी बिरहको धुन बजाएर आफ्नो पिडा पोखिरहेको छ । तर बाह्रपोखरीको पिडा सुन्ने कोही भेटिएको छैन् । यो पोखरी लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिकामा अवस्थित छ ।


प्राकृतिक सौन्दर्यले गमक्क परेको बाह्रपोखरी धेरै अघिको संरचना हो । तर अहिलेसम्म न यसको संरक्षणमा कोही जुटेको छ न यसको प्रचार नै भएको छ । लहडै लहडका भरमा बेला मौकामा एक हुल मान्छे त्यही बाह्रपोखरी पुग्छन् । बाह्रपोखरी क्षेत्रमा पुगेकाहरु खुला मैदानमा रहेको पोखरीको दृश्य र त्यहाँबाट नजिकै देखिएका हिमाललाई क्यामेरामा कैद गर्छन् । र एकदिन बसेर फर्किन्छन् ।


कसैले बुझ्दैन बाह्रपोखरीको सौन्दर्यलाई
उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउन सकिने प्रचुर संभावना छ बाह्रपोखरीमा । तर संभावना भएर पनि आजसम्म केही संरचना बन्न नसकेको पर्यटन क्षेत्रका जानकार कृष्णराज ओलियाको गुनासो छ । उनले सदरमुकामबाट नजिकै रहेको गन्तब्य ओझेलमा परेको भन्दै जनप्रतिनिधीहरुको ध्यानाकर्षण गराएका छन् । ‘बाह्रपोखरी अनि ती ठूला ठूला समथर भूभाग (खर्क, लेक) हरु जहाँ ठूला ठूला व्यवसायिक पशु, कृषि तथा जडिबुटीका फार्मिङको संभावना छ । यहाँ गर्न सक्ने सम्भावनाहरु प्रचुर छन् तर बर्षौंदेखि त्यत्तिकै छ ।’ उनले भने, ‘घना लेकहरु जहाँ हुन सक्ने सम्भावित बहुमूल्य जटिबुटीको उत्खनन, प्रशोधन गर्न सक्ने सम्भावना पनि छ । तर त्यसलाई राज्यले गुमाएको छ ।’


बेला बेलामा मन बहलाउने पदयात्रा
केही समयअघि मस्र्याङ्दी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धन भन्दै बाह्रपोखरी क्षेत्रको पदयात्रा ग¥यो । यसअघि जिल्ला विकास समिति र सम्बन्धित गाविस र पर्यटनसँग सरोकार राख्ने कुनै पनि निकायबाट यस क्षेत्रको विकासका लागि सिन्को पनि नभाँचिएको स्थानीयको गुनासो छ । यो क्षेत्र धार्मिक र प्राकृतिक हिसाबले निकै महत्वपूर्ण मानिएको छ । तर आजसम्म यस क्षेत्रको विकासका लागि न बजेट विनियोजन भयो न कुनै मास्टर प्लान नै बने । कहिलेकाँही ‘डोनर’ को आडमा बाह्रपोखरी पुगेर संरक्षणको भाषण गरेपनि फर्किएर आएपछि प्रतिबद्धता बिर्सने काम भइरहेको छ ।


बाह्रपोखरीको संरक्षणमा स्थानीय सरकारको झिनो आशा
गण्डकी प्रदेश सरकारले सन २०१९ लाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाईरहँदा लमजुङको बाह्रपोखरी क्षेत्रको प्रवद्र्धन गर्न स्थानीय गाउँपालिकाले झिनो आशा प्रस्तुत गरेको छ । यस क्षेत्रको पदयात्रा सकेर फर्किएपछि मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बाह्रपोखरीको संरक्षण र प्रवद्र्धन गर्ने बताए । यहाँको अवस्था, बासबस्न सक्ने सम्भावित ठाउँहरू, पदमार्ग अन्तर्गतका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक सम्पदाहरूको अध्ययन तथा अवलोकन गर्दा संरक्षणमा जुट्न आवश्यक रहेको अध्यक्ष गुरुङको भनाई छ ।


अन्नपूर्ण पदमार्गको विकल्प
सडकका कारण ओझेलमा परेको अन्नपुर्ण पदमार्गको विकल्पका रूपमा बाह्रपोखरी पदमार्गलाई प्रस्तुत गर्न सकिने पर्यटन व्यवसायी रामकुमार श्रेष्ठ र प्रमोदकुमार श्रेष्ठको तर्क छ । पदमार्गलाई प्रवद्र्धन गर्नसके स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सकिने गाउँपालिका उपाध्यक्ष होमबहादुर विकको भनाई छ ।


धार्मिक र साहसिक पर्यटनको संभावना
धार्मिक र साहसिक पर्यटनको उच्च संभावना भएको क्षेत्र हो बाह्रपोखरी । यहाँ विशेषगरी जनै पूर्णिमामा मेला लाग्छ । मेलाबाहेक पनि वैशाखदेखि असोजसम्म साहसिक पदयात्रा गर्नेहरू बराहपोखरी पुग्ने गर्छन् ।

दृश्यहरुको धनी
बाह्रपोखरीबाट मनास्लु हिमशृंखला अन्तर्गतका हर्कजुङ हिमाल, हिमालचुली, मानश्री पिक र मनास्लु हिमाल दृश्यावलोकन गर्न सकिन्छ । मनमोहक हिमाली दृश्यसँगै लालीगुराँस फुल्ने समयमा थरीथरीका लालीगुराँसले डाँडै ढाक्ने हुँदा मनोरम दृश्यावलोकले निकै रमाइलो हुने पदयात्रीहरू बताउँछन् । प्रकृतिमा रमाउनेहरूका लागि बराहपोखरी यात्र निकै रमणीय हुने पदयात्रीहरूको धारणा छ ।


मानव बस्तीदेखि टाढाको गन्तब्य
धार्मिक तथा प्राकृतिक हिसाबले महत्वपूर्ण यसक्षेत्रको संरक्षण गर्नसके आन्तरिक मात्रै होइन, बाह्य पर्यटकसमेत तान्न सकिन्छ । यहाँ मानव बस्ती नहुँदा खानाको व्यवस्था आफैँ गर्नुपर्छ । उच्च लेक र बढी चिसो भएकोले जुुनसुकै समयमा पनि बाक्ला कपडा लिएर पदयात्रीहरू बाह्रपोखरी पुग्न सकिन्छ । गर्मी मौसममा भेटिने भेडीगोठ तथा गाईगोठले पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्ने स्थानीयको भनाई छ ।


भवन नहुँदा गोठमा रात बिताउनुपर्छ
बाह्रपाखरी क्षेत्रमा कुनै स्थायी संरचना छैन् । यहाँ जाने पर्यटकहरु अस्थायी गोठमा रात बिताउनुपर्छ । कतिपयले आँफैले लगेका टेन्ट, त्रिपाल, रुखको फेद वा पहरामा ओत लागेर रात बिताउन बाध्य हुन्छन् । जिल्लामा ब्राहपोखरीबाहेक मेमेपोखरी, बैकुण्ठ पोखरी, ढाल पोखरी र दुधपोखरी पनि छन् । बाह्रपोखरी जानको लागि बेसीशहर ११ मा पर्ने चिति हुँदै माझगाउँ, पुरानो दुबार हुँदै जान सकिन्छ । यस्तै, भुष्मे, छिनखोला, दुबारबाट पनि पुग्न सकिन्छ ।