फ्रान्सले चीनको हुवावेका गतिविधि नरोक्ने

फ्रान्सले चीनको हुवावेका गतिविधि नरोक्ने


फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्व प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेलाई फ्रान्सको राष्ट्रिय सुरक्षालाई सुरक्षित राख्दै फाइभ–जी नेटवर्क संरचना निर्माण गर्न दिने बताएका छन् ।

पेरिसमा प्रविधिसम्बन्धी एक सम्मेलनलाई सम्बोधन गर्दै उनले फ्रान्सको उद्देश्य हुवावे वा अन्य कुनै कम्पनीलाई गतिविधि विस्तारमा रोक लगाउने नभई राष्ट्रिय सुरक्षा र यूरोपेली सार्वभौमसत्ता जोगाउने प्रयास रहने प्रष्ट्याए र भने- ‘मेरो विचारमा प्रबिधि वा व्यापार युद्ध सही होइन ।’

राष्ट्रपति म्याक्रोँले भिभा टेक नामक प्रविधि सम्मेलनमा सम्बोधनका क्रममा भने, ‘पहिलो कुरा कसैको राष्ट्रिय सुरक्षाको पक्षमा कुनै प्रविधिको विस्तार नै रोक्ने तरिका ठीक होइन । हामीलाई यो आवश्यक छैन । दोस्रो आफ्नै प्रविधिको विकास तथा विश्व सहकार्यले तनावलाई कम गर्न सकिन्छ ।’

फ्रान्स र यूरोपको ‘व्यवहारिक तथा वास्तविक धारणा’को पक्षपोषण गर्दै फ्रान्सका राष्ट्रपतिले अगाडि भने ”फ्रान्सले रोजगारी सिर्जनाका लागि सहकार्य र बहुपक्षीयतामा विश्वास गर्ने र यसबाट व्यापार विस्तार र नयाँ प्रबिधिको आविस्कार गर्ने कुरामा विश्वास गर्छ ।’

उनले फाइभ जीका सन्दर्भमा पनि फ्रान्सले विशेष ध्यानसहित विदेशी प्रविधि र नेटवर्कको विस्तारलाई स्वागत गर्ने तर यसो गर्दा राष्ट्रिय सुरक्षा पहिलो शर्त हुने प्रष्ट्याएका सिन्ह्वाले जनाएको छ ।