कांग्रेस बलियो हुन गुट–उपगुट अन्त्य हुनुपर्छ : देउवा

कांग्रेस बलियो हुन गुट–उपगुट अन्त्य हुनुपर्छ : देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट–उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको ११औँ राष्ट्रिय महाधिवेशनको उदघाटन गर्दै सभापति देउवाले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती–कमजोरी स्वीकार गरेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने बताए ।

‘पार्टीको आन्तरिक कारण मात्र नभएर दुई कम्युनिस्ट पार्टी एकीकरण हुँदा पार्टीले निर्वाचनमा पराजय भोगेको हो,’ उनले भने ।

मुलुकमा कम्युनिस्ट विचार बोक्नेको जित र प्रजातान्त्रिक विचारधारा बोक्ने दल कांग्र्रेसको हारको जिम्मा प्रजातान्त्रिक विचार समाजले समेत लिनुपर्ने उनको भनाइ थियो । ‘आगामी निर्वाचनमा विजयी हुने गरी देशभर लोकतान्त्रिक विचार प्रवाह गर्न समाज लाग्नुपर्छ,’ सभापति देउवाले भने । अन्तर्घातमुक्त कांग्रेस निर्माणमा प्रजातान्त्रिक विचार समाज लाग्नुपर्नेमा उनले जोड दिए ।

सभापति देउवाले पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाले पार्टी पराजय भएको उल्लेख गर्दै कांग्रेसभित्र सशक्त एकताको खाँचो रहेको बताए ।