सिड्नीमा जात्रै जात्रा : दर्शकलाई पुग्यो सन्तुष्टिको मात्रा

सिड्नीमा जात्रै जात्रा : दर्शकलाई पुग्यो सन्तुष्टिको मात्रा


  • राजन घिमिरे, अष्ट्रेलिया

सिनेमाको मूल निचोड के हो ? यसको गन्तब्य र सिनेमाले देखाउन खोजेको कुरा के हो ? यो कुरामा निर्देशक अल्मलिनु हुँदैन । आफ्नै सृजनामा अस्पष्ट हुने फिल्मकर्मीले कसरी स्पष्ट र छर्लंग सिनेमा बनाउन सक्छ ? र, त्यस्ता मेकरहरूबाट राम्रो सिनेमाको आशा राख्नु पनि दर्शकहरूको गल्ती हो ।

सिनेमाको मूल बाटो नसमातिकन चाख्न पाइने लोभमा वा सस्तो मसला हालेर दर्शकहरूलाई झुक्याउन खोज्यो भने अब दर्शक होइनन् कि मेकर आफै झुक्कीने समय आएको छ ।

यस्तै यस्तै अल्मलाउनी र मुख्य खानाभन्दा अनावश्यक मसला हालिएका अघिल्ला केही सिनेमाहरूले प्रवासमा रहनुभएका नेपाली चलचित्रलाई माया गर्नुहुने दर्शकहरूको स्वाद बिगारेका थिए । नेपाली सिनेमाप्रति प्रवासमा रहनुभएका नेपाली चलचित्रप्रेमीहरूको चाख कम हुन थालेको थियो । तर शुक्रबारबाट नेपाल र अष्ट्रेलियामा एकसाथ प्रदर्शनमा आएको चलचित्र जात्रै जात्राले प्रवासमा झण्डै झण्डै गुम्न लागेको नेपाली सिनेमाको गरिमा, वजन, उचाई र साखलाई बचाएको छ । ‘सिनेमा भनेको यस्तो हुनुपर्छ । हामी विदेशमा रहनुभएका नेपालीहरू जस्तो पनि चलचित्र हेर्छन् भनेर जे पनि गर्न पाइन्छ ? के हाम्रो पैसा र समयको महत्व छैन ? जात्रै जात्रा जस्तो चलचित्र बनाउनु न हामी पटक पटक हेर्न तैयार छौँ’ सिड्नीको बरउडमा रहेको इभेन्ट सिनेमामा जात्रै जात्रा हेरेर हलबाट बाहिरिएका हाल सिड्नीमा रहेका पोखरेली कलाकार नवीन घायलको प्रतिक्रिया थियो यो ।

साँच्चै चलचित्र जात्रै जात्रामा निर्देशक प्रदीप भट्टराईले हलभित्र दर्शकहरूलाई यसरी बाँध्न सफल भएका छन् कि पिसाबले च्याप्दा पनि दर्शकहरू उठ्न मान्दैनन् । बनावटी र कृत्रिम नभएर सजीव अनि हो है भनेर दर्शकहरूलाई भन्न बाध्य पार्ने दृश्यहरूको सृजना गरिदिएका छन् । चलचित्रमा उपकथाहरूलाई खासै महत्व दिएका छैनन् । यसअघि आफूले निर्देशन गरेको दुई चलचित्र जात्रा र शत्रु गतेबाटै उनले आफूलाई सफल चलचित्र निर्देशकको रूपमा प्रमाणित त गरिसकेका थिए ।

अब जात्रै जात्रामा त उनले लाहछाप नै लगाएका छन । दर्शकहरूलाई हल छिरेपछि सिनेमाको बारेमा सोच्न बाध्य बनाउनु हुँदैन र सिनेमाको मूल कथामाथि नै चोट पर्ने गरी अनावश्यक मसलाहरू थोपरिनु हुन्न भन्ने कुराको हेक्का राखेका निर्देशक यो मामिलामा कतै पनि चुकेका छैनन् । सिनेमाको पर्दामा कोरा कल्पना र सपना देखाउनु पर्दैन, सानो विषयले पनि सिनेमामा ज्यान भर्न सक्छ भन्ने कुराको गतिलो र वाह गर्न लायकको उदाहरण हो चलचित्र जात्रै जात्रा । चलचित्रले समाजको बेथितिलाई निकै संवेदनशील तरिकाले प्रस्तुत गरेको छ ।

सिड्नीमा यो चलचित्र हेरेर हलबाट बाहिरिएपछि सिनेमाकै बारेमा कुरा गरिरह्का दर्शकहरूको मुहारमा खुशी देख्न सकिन्थ्यो । ‘सिड्नीमा धेरै नेपाली चलचित्रहरू हेरियो । सबैभन्दा झुर पनि हेरियो र उत्कृष्ट पनि हेरियो । जात्रै जात्रालाई म उत्कृष्टमा राख्छु’, दर्शक सन्जु पौडेलको प्रतिक्रिया थियो ।

प्रवासमा आफूले भित्र्याएको चलचित्रले तारिफ पाएपछि यो चलचित्रलाई अष्ट्रेलिया भित्र्याउने हो र होइन होला इभेन्टस र पप अप इन्टरटेनमेन्ट पनि कम दंग छैन । ‘सिड्नीसँगै यो चलचित्र पुरा अष्ट्रेलिया भ्रमणमा छ । सिड्नीमा शुक्रबार पहिलो शो अत्याधिक सफल भयो । शनिबार दुई शो र आइतबार गरेर चार शो गरेका छौँ । अन्य शोहरू पनि बढ्दै छ ।’ रोशन भट्टराईले जानकारी गराए ।

मह जोडीका अधिकांश टेलिफिल्महरूमा पर्दा पछाडी रहेर उनीहरूका प्रस्तुतिहरूलाई सफल बनाउन गहन भूमिका खेल्दै आएका निर्देशक प्रदीप भट्टराईले जात्रै जात्राबाट चलचित्रको निर्देशन यात्रामा मात्र ह्याट्रिक गरेका छैनन् कि मह जोडीको गरिमा र इज्जतलाई अझै उचो बनाएका छन् ।