मानव अङ्गका नर्स अनशनमा, बिरामी उपचार सेवाबाट वञ्चित

मानव अङ्गका नर्स अनशनमा, बिरामी उपचार सेवाबाट वञ्चित


–रमेश गिरी
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय (मानव अङ्ग) प्रत्यारोपण केन्द्रका नर्सहरुको आन्दोलन र अनशनका कारण डायलोसिसका बिरामी उपचार सेवाबाट वञ्चित भएका छन् ।

आफ्ना विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका यहाँ कार्यरत नर्सहरु दुई साता अघिदेखि धर्नामा र एकसाता अघिदेखि अनशनमा बस्दै आएपछि यहाँ सेवा लिँदै आएका मिर्गौला पीडित बिरामीले उपचार नपाएर थप पीडा भोग्न बाध्य भएका हुन् ।

मानव अङ्ग प्रत्यारोपण केन्द्रका स्टाफ नर्स डिकी शेर्पा केन्द्रकै आकस्मिक कक्षमा आमरण अनशनमा बस्दा उनको स्वास्थ्य अवस्था निकै गम्भीर भएको कर्मचारीले बताएका छन् ।

अस्पतालका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले काम र अनुभवलाई भन्दा पनि आफ्ना नातेदार र नजिकका व्यक्तिलाई अस्पतालमा सेवा करारमा भर्ना गरेको र उनीहरुलाई नै स्थायी गराउने योजनाबद्ध रुपमा दरबन्दी खुला गरेको आरोप लगाउँदै विभिन्न माग राखेर आन्दोलन शुरु गरेका हुन् ।

यहाँ कार्यरत नर्सलाई जोखिम भत्ता दिइनुपर्ने, करारका नर्सलाई बिनाकारण निष्कासन गर्ने कार्य रोक्नुपर्ने, सेवा मूल्याङ्कन गरिनुपर्ने, आन्तरिक स्थायी प्रक्रिया अगाडि बढाउनुपर्ने लगायतका विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनरत नर्सले केन्द्रका निर्देशक डा श्रेष्ठलाई आफ्ना माग तत्काल पूरा गर्न ज्ञापनपत्रसमेत बुझाएका छन् । नर्सहरुको माग पूरा नभएसम्म धर्ना र अनशन स्थगित नहुने नेपाल नर्सिङ सङ्घका अध्यक्ष तारा नेपालले बताइन् ।

मिर्गौला पीडित सरोकार समाज नेपालका अध्यक्ष बलराम सुवेदीले स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा भएको धर्ना र अनशनले बिरामीलाई प्रत्यक्ष असर परेको बताए । उनले शुरुमा नर्सहरुले डायलोसिस नै रोकेको र पछि डायलोसिस शुरु गरे पनि नियमित नहुँदा बिरामीको ज्यान जोखिममा परेको भन्दै नर्सहरुको माग छिटो सम्बोधन गर्दै काममा फर्किने वातावरण बनाउन माग गरे ।

चौतर्फी दबाब आएपछि आज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लोकसेवा आयोगलाई परीक्षा स्थगित गर्न पत्राचार गरेको छ । केन्द्रका निर्देशक डा श्रेष्ठले नर्सको स्वास्थ्यवस्था गम्भीर भएकाले परीक्षा स्थगित गर्न अनुरोध गर्दै लोकसेवा आयोगलाई पत्राचार गरेका हुन् ।

केन्द्रमा हाल ९६ स्टाफ नर्स कार्यरत छन् भने नर्सहरुको स्थायी पदपूर्तिका लागि गत वैशाख १३ गते लोकसेवा आयोगले ९६ पद मै स्थायी दरबन्दीको सूचना प्रकाशित गरेको थियो । नर्सहरुले केन्द्र स्थापनादेखि कार्यरत नर्सहरुलाई आन्तरिक रुपमा स्थायी प्रक्रिया शुरु गर्नुपर्नेमा दरखास्त आह्वान गरी स्थायी नगरी भनसुन र आफन्तलाई स्थायी गर्ने सोच राखिएको आरोप लगाउँदै आफूहरुको स्थायीको सुनिश्चितताको माग गर्दै आन्दोलन गरेका हुन् ।

केन्द्रमा कार्यरत स्टाफ नर्स डिक्की शेर्पा र पोखराकी नर्स जीता बराल अस्पताल र नेपाल नर्सिङ सङ्घमा आमरण अनशन बसिरहेका छन् । आजै नेपाल नर्सिङ सङ्घले प्रत्यारोपण केन्द्रलाई परीक्षा स्थगित गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ भने अनशनरत नर्सको जीवन रक्षा गर्न माग गर्दै कर्मचारी तथा विभिन्न सङ्घसंस्थाबाट समेत निवेदन दर्ता भएको जनाइएको छ ।