पोलिटब्यूरो र केन्द्रीय सदस्यको नाम आइतबार टुंगो लगाउँदै नेकपा

पोलिटब्यूरो र केन्द्रीय सदस्यको नाम आइतबार टुंगो लगाउँदै नेकपा


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम र केन्द्रीय सदस्यको कार्यविभाजन आगामी आइतबार टुङ्गो लगाउने बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले अन्तिम निर्णय गर्न नसकेपछि जेठ ५ लाई सारिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका हुन् ।

आज (बिहीबार)को बैठकले २० भन्दा बढी जनवर्गीय सङ्गठनको एकता भने टुङ्गाएको छ । मदननगरमा पार्टीले शुक्रबार बिहान आयोजना गर्न लागेको मदन–आश्रित स्मृति दिवसमा २२ वटै जनवर्गीय सङ्गठनको नेतृत्व घोषणा हुने बताइएको छ ।

गत वर्ष जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ । यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भियतनाम र कम्बोडियाको भ्रमण सकेर आएपछि सचिवालय बैठक बसेको थियो । नेकपाले शुकबार बिहान ८ बजे तत्कालीन नेकपा (एमाले)को पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

file pic: rss